Friday 22nd of November 2019

माओवादीले उठाएका मुद्दाहरु संविधानमा समेटिएन : वैद्य

जनकपुर — नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले जनआन्दोलनको क्रममा माओवादीले उठाएका मुद्दाहरु वर्तमान संविधानमा समेटिन नसकेको बताएका छन् ।

सोमबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले द्वन्द्वकालमा माओवादीले उठाएको जनतन्त्र, राष्ट्रिय स्वाधिनता, जनजीविका तथा मधेसी, आदिवासी, जनजाति लगायतका सिमान्तकृत समुदायको पहिचानको विषय वर्तमान संविधानमा समेट्न नसकेको आरोप लगाए।

उनले भने,‘ यो संविधान अपाङ हो। मुलुकमा गणतन्त्र आयो , संघीयता आयो तर सबै अपाङ हो। सपाङ संविधान निर्माणको लागि हामीले पुनःआन्दोलनको विगुल फुक्नु परेको छ। ’

पार्टी जनसंघर्ष मार्फत संविधान परिवर्तन गर्न चाहेको उल्लेख गर्दै उनले भने,‘हामी जनसंघर्ष मार्फत् आफ्नो कुरा उठाउने निर्णय गरेका हौँ। आवश्यक परे हतियार उठाउन पनि पछि पर्ने छैनौँ। ’

सरकार र चन्द समूह दुवैको काम कारबाहीप्रति असहमति जनाउँदै उनले भने,‘चन्द समूहकोकार्यदिशा अस्पष्ट छ। यसैगरी सरकारले पार्टीमाथि लगाएको प्रतिबन्ध लोकतान्त्रिक पद्यति विरुद्ध छ।’चन्दसमूहद्वारा सिर्जित समस्याको समाधान राजनीतिक रुपमा गर्नु पर्ने उनले सुझाव दिए।

प्रतिक्रिया दिनुहोस्