Sunday 19th of January 2020

बंगलादेश बैंकमा सुमार्गीको जग्गा खरिद प्रकरण: कस–कसले खाए २० करोड कमिसन ?

काठमाडौं । नेपाल बंगलादेश बैंक (एनबी)को जग्गा खरिदमा करोडौं घोटाला भएको छ । जग्गा खरिद प्रकरणका बारेमा नियामक निकाय राष्ट्रबैंकमा पनि उजुरी परी छानबिन भइरहेको स्रोत बताउछ । तर, एनबी बैंकका सीईओ ज्ञानेन्द्रप्रसाद ढुंगाना जग्गा खरिदमा भएको घोटालालाई सामसुम पार्न नयाँ रणनीतिमा लागेका छन् । नेपाल बंगलादेश बैंकले ३ महिनाअघि विवादास्पद ब्यापारी अजयराज सुमार्गीसँग विशालनगरको ७ रोपनी ९ आना ३ पैसा जग्गा प्रतिआना ७८ लाख ४० हजार रुपैयाँमा खरिद गर्ने निर्णय गरेको थियो ।

उक्त जग्गाको बजारमूल्य ५० लाख आना हो भने सरकारी मूल्यांकन आनाको २८ लाख रुपैयाँ छ । विशालनगर क्षेत्रमा जग्गाको मूल्य प्रतिआना ५५ देखि ६० लाख रुपैयाँ आना पाइन्छ । तर, एनबी बैंकले ७८ लाख प्रतिआनामा खरिद गर्ने निर्णय गरेको छ । यसरी एक आना बराबर बजारमूल्यभन्दा २० लाख बढीमा खरिद गरी २१ करोड घोटाला गरेको आरोप संचालक समिति र सीईओ ढुंगानामाथि लागेको छ । सुमार्गीसँग सीईओ ढुंगानासहितका संचालकले प्रतिआना २० लाख घुसमा कुरा मिलाएपछि जग्गा खरिद गर्ने निर्णय गरेका छन् ।

नेपाल बंगलादेश बैंकको संचालकमा तीन जना बंगलादेशी र तीन जना नेपाली संचालक रहेका छन् । जसमा अध्यक्ष जलाल अहमद र संचालकहरू एम शाह अलाम सरवार, श्रीमती क्वामरुन नहेर अहमद बंगलादेशी र नेपाली संचालकहरूमा पब्लिकबाट ईन्द्रवहादुर थापा, मुकुन्द ढुंगेल र दीपक कार्की रहेका छन् । यी मध्ये कसकसको चलखेलमा बैंकिङ क्षेत्रमा तरलता अभाव भएको समयमा बैंकले जग्गा खरिदमा १ अर्ब र भवन बनाउन थप १ अर्ब गरी २ अर्ब खर्च गर्नु नहुने सुझाव केही संचालकहरूले दिंदादिंदै पनि ठूलो कमिसनको चक्करमा सीइओ ढुंगानासहितका संचालकले जग्गा खरिद गर्ने निर्णय गरेको स्रोतको दावी छ ।

राष्ट्रबैंकमा उजुरी

एनबी बैंकमा बंगलादेशी लगानीकर्ताको ४१ प्रतिशत लगानी छ । बैंकको केन्द्रीय कार्यालय प्रयोजनका लागि भनेर सुमार्गीको मुक्तिश्री प्रालिको नाममा रहेको जग्गा खरिदमा प्रतिआना २० लाख रुपैयाँ घुसमा कुरा मिलाएको आरोप अध्यक्ष जलाल र सीईओ ढुंगानासहितका संचालकहरूमाथि लागेको छ ।

एनबी बैंकका केही संचालक र सीईओ ढुंगानाले अपारदर्शी रुपमा कमिसनको खेलमा जग्गा खरिद गरेको बिषयमा राष्ट्रबैंकमा उजुरी पनि परेको स्रँेत बताउछ । बैंकका एक लगानीकर्ता एस नारायण पुनले २०७५ चैत १८ मा राष्ट्रबैंकमा दिएको उजुरीमा विवादित मुक्तिश्री प्रालिको नाममा रहेको ७ रोपनी ९ आना ३ पैसा जग्गा अधिकतम प्रतिआना ५५ देखि ६० लाख रुपैयाँ मूल्य पर्नेमा ७८ लाख ४० हजार आनामा खरिद गरिएको उजुरीमा उल्लेख छ । उक्त जग्गा खरिदको बिषयमा संचालक समितिमा विवाद भएपछि केही संचालकलाई थाहा नै नदिइएको र पत्रपत्रिकाबाट थाहा पाएको बताउने गरेका छन् ।

बैंकिङ क्षेत्रमा लगानीयोग्य तरलताको कमी भइरहेको अवस्थामा जग्गा खरिदमा मालपोत पास समेत १ अर्ब खर्च गरिएको र भवन बनाउन थप १ देखि २ अर्ब लाग्ने हुँदा पूँजीको २५ प्रतिशत भन्दा बढी घरजग्गा खरिदमा लाग्ने भएको छ । पूँजीको २५ प्रतिशतभन्दा बढी घरजग्गा खरिदमा लगाउनु राष्ट्रबैंकको निर्देशन विपरीत हुन जाने उजुरीमा उल्लेख छ । संचालकहरूबीच समेत विवाद भएकाले जग्गा खरिद रोक्न माग गर्दै राष्ट्रबैंकमा उजुरी परेको थियो । जग्गा खरिदका क्रममा वित्तीय अनुशासन पालना नभएको र ठूलो आर्थिक चलखेल भएको बिषयमा छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरिएको थियो ।

सुमार्गीको जग्गा नै किन खरिद गरियो ?

अबैध रुपमा ब्रिटिस भर्जिन आइल्याण्डबाट स्रोत नखुलेको रकम मुक्तिश्री सिमेन्ट उद्योगको नाममा भित्र्याएको आरोप सुमार्गीमाथि लाग्दैआएको छ । उक्त कम्पनीकै नाममा सुमार्गीले फान्सको राजदूताबास बसेको विशालनगरको १९ रोपनी १२ आना जग्गा सहितको घर केही बर्षअघि रु.६३ करोडमा खरिद गरेका थिए । केही बर्षअघि सुमार्गीले उक्त जग्गा खरिद गरेका थिए । जुन जग्गा खरिद गर्दा मालपोत कार्यालयले तालुक मन्त्रालय भूमिसुधार मन्त्रालय मार्फत् परराष्ट्र मन्त्रालयसँग अनुमति नै नलिएको स्रोत बताउछ । साँघुले अनुमति नै नलिई घुस खुवाएर फ्रेन्च दूताबासको जग्गा सुमार्गीले किनेको बिषयमा समाचार नै प्रकाशित गरेको थियो ।

विदेशी नियोगले जग्गा खरिद र बिक्री गर्दा परराष्ट्र मन्त्रालयको अनुमति लिनुपर्छ । मालपोत कार्यालयले स्रोत नखुलेको विवादित मुक्तिश्री सिमेन्ट उद्योगको नाममा जग्गा लिखत पारित गर्दा मन्त्रालयसँग अनुमति नै लिएको थिएन । तत्कालीन मालपोत अधिकृत बद्रीबहादुर कार्कीले सुमार्गीबाट शुभलाभ लिएर अनुमति नै नलिई जग्गा खरिद बिक्री गराएको आरोप छ । मुक्तिश्री सिमेन्ट उद्योगको नाममा ब्रिटिश भर्जिन आइल्याण्डबाट आएको स्रोत नखुलेको ८४ करोड रुपैयाँको मुद्दामा पूर्वकामु प्रधानन्यायाधीश दीपकराज जोशीले फुकुवा गर्न अन्तरिम आदेश दिएका थिए । पछि चोलेन्द्रशमशेर प्रधानन्यायाधीश भएपछि उक्त रकमको बारेमा द्विअर्थी आदेश दिएका थिए ।

ब्रिटिश भर्जिन आइल्याण्डबाट स्रोत नखुलेको सम्पत्ति ल्याउने क्रममा बैंकर एशोसियनका अध्यक्ष तथा एनबी बैंकका सीईओ ज्ञानेन्द्र ढुंगानाले समेत सहयोग गरेको आरोप पनि लाग्दै आएको छ । त्यही साँठगाँठ भएर नै विवादित मुक्तिश्री सिमेन्टको नाममा रहेको जग्गा खरिद गरिएको स्रोत बताउछ । र, ढुंगाना र सुमार्गीबीच यो जग्गा खरिदमा ठूलो साँठगाँठ भएको बैंकभित्रैबाट खुलेको छ । यो घोटलामा ढुंगाना र बैंकका अध्यक्ष बंगलादेशी नागरिक जलाल अहमदको संलग्नता समेत रहेको दावी स्रोतको छ । सुमार्गीले बंगालीलाई कमिसन मिलाउनका लागि बैंककै दुई सञ्चालक मुकुन्दनाथ ढुंगेल र ईन्द्रबहादुर थापालाई केही समय अघि अमेरिका पठाएको स्रोत बताउछ ।

बैंकभित्र आर्थिक घोटलादेखि जग्गा खरिदको घोटलासम्म मुछिएका अध्यक्ष जलाल र सीईओ ढुंगानाले आफ्ना कर्तुत ढाकछोप गर्न प्रहरीलाई प्रयोग गर्दै आएको खुलेको छ । उनले महानगरी प्रहरी परिसर काठमाडौंलाई मासिक रुपमा पुरस्कार दिएर आफ्नो गल्ती ढाकछोप गर्ने प्रयास गर्दै आएको आरोप पनि छ । तर, बैंकले प्रहरीलाई दिएको रकमबाट पुरस्कार दिएको विषयमा विवाद भएपछि हाल रोकिएको छ । बैंकको रकमबाट पुरस्कार दिएपछि पछि बैंकमा अनियमितता भएमा प्रहरीले कुन नैतिकताका आधारमा छानविन र कारबाही गर्ने भन्ने प्रश्न उठेपछि रोकिएको थियो ।

अध्यक्ष र सीईओ नयाँ दाउ ?

ब्यापारी सुमार्गीले मुक्तिश्री सिमेन्टको नाममा फ्रेन्च दूताबासबाट खरिद गरेको १९ रोपनी १२ आना जग्गामध्ये ७ रोपनी ९ आना ३ पैसा एनबी बैंकले खरिद गरेको हो । बाँकी १२ रोपनी २ आना जग्गा छ । ढुंगानाले बैंकका नाममा ७८ लाख ४० हजार रुपैयाँ रोपनी जग्गा खरिद गर्दा ठूलो आर्थिक चलखेल गरेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि राष्ट्रबैंकमा पनि परेको स्रोत बताउछ । राष्ट्रबैंकले चासो देखाएपछि एनबी बैंकका सीईओ ढुंगाना र सुमार्गी मिलेर बंगलादेश राजदूबासलाई १२ रोपनी २ आना जग्गा बिक्री गराउने खेलमा लागेका छन् ।

बंगलादेशी राजदूताबासलाई उक्त जग्गा ८० लाख रुपैयाँ प्रति आनामा बिक्री गर्ने योजनामा अध्यक्ष जलाल र ढुंगाना दौडधूप गरिरहेका छन् । एनबी बैंकले प्रतिआना ७८ लाख ४० हजार आनामा खरिद गर्दा प्रतिआना २० लाख रुपैयाँ कमिसनको खाएको आरोप संचालक र ढुंगानामाथि लागेपछि अध्यक्ष जलाल र उनी मिलेर बाँकी १२ आना २ पैसा जग्गा बंगलादेशी दूताबासलाई ८० लाख प्रति आनामा खरिद गराउने दाउमा अहोरात्र लागेको स्रँेत बताउछ । र, एनबीले जग्गा खरिद गर्दा सस्तोमा खरिद गरेको देखाउने कसरतमा अध्यक्ष र सीईओ लागेको स्रोत बताउछ ।

बंगलादेशका राजदूतदेखि कर्मचारीलाई ठूलो रकम कमिसनको प्रलोभन दिएर मुक्तिश्री सिमेन्टको जग्गा खरिद गराउने दाउमा अध्यक्ष जलाल, ढुंगाना र सुमार्गी सक्रियताका साथ लागेको बैंक स्रँेत बताउछ । प्रतिआना ७८ लाख भन्दा बढीमा जग्गा खरिद गराएर एकातिर बैंकले महंगोमा जग्गा किनेको होइन भनी राष्ट्रबैंकको कारबाहीबाट बच्ने र अर्कोतिर करोडौंको कमिसनको चक्कर त छँदैछ । तर विदेशी दूताबास वा नियोगका लागि जग्गा खरिद गर्दा परराष्ट्र मन्त्रालयबाट स्वीकृति लिनुपर्छ ।

परराष्ट्र मन्त्रालयले स्वीकृति दिन बिलम्ब गरेपछि सीईओ ढुंगाना आफैं दौडधूपमा लागेका छन् । परराष्ट्र मन्त्रालयमा आर्थिक चलखेल गरेरै भए पनि ‘नो अब्जेक्सन लेटर’ लिने दाउमा उनी तल्लीन रहेको पनि बैंक स्रोत बताउछ । यसअघि खाडी मुलुकको एक दूताबासका लागि सुमार्गीको उक्त जग्गा खरिद गर्न खोज्दा कमिसनको कुरा आएपछि परराष्ट्र मन्त्रालयले नो अब्जेक्सन लेटर दिएको थिएन ।
साँघु

प्रतिक्रिया दिनुहोस्