Thursday 27th of February 2020

प्रहरी कार्यालयको हिरासतबाट एक थुनुवा फरार

बारा — बाराको सिमरौनगढ इलाका प्रहरी कार्यालयको हिरासतबाट एक थुनुवा फरार भएका छन् । चोरीको आरोपमा पक्राउ परेका भारतको मोतिहारी जिल्ला लिपनी-४ का स्थायी बासिन्दा १९ वर्षीय फिरोज मियाँ साउन ३ गते पक्राउ परेका थिए ।

बाराका डिएसपी रञ्जित राठौरका अनुसार मेसमा खाना खान लगिएको बेला उनी पर्खाल नाघेर फरार भएको पुष्टि गरेकाका छन् ।

प्रदेश २ का सभामुख सरोज यादवका अनुसार साउन ३ गते सिमरौनगढको हाट बजारमा गएको बेला मियाँले उनको पकेट मारेका थिए । सभामुख यादवको पकेट मारेर भाग्दै गरेको अवस्थामा उनलाई स्थानीय युवाले समातेका हुन् ।

‘म भीडभाडमा स्थानीयहरुसँग गफ गरिरहेको बेला मेरो पकेट मारेको एउटा अर्को युवकले देखेको रहेछ,’ सभामुखले भने, ‘उसले समातेर ल्याएपछि पो मेरो पकेट मारिएको थाह भयो । उसले ५० हजार झिकेर भागेको रहेछ ।’ सभामुख यादवले आफू हाट बजारमा घुम्न जाँदा त्यहाँ कुनै प्रहरी नदेखेको र पकेटमारलाई नियन्त्रणमा लिएर खबर गर्दा पनि त्यहाँको इन्चार्जले वेवास्ता गरेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्