Monday 27th of January 2020

अनुमतिविना रातभरि डिस्को सञ्चालन

काठमाडौं। २८ मंसिर ०७४ मा दरबारमार्गको डेजाभु क्लबमा ग्राहकले तोडफोड गरे । अमेरिकन डिजे मार्समेलो ल्याएर कार्यक्रम गर्ने भन्दै महँगोमा टिकट बेचेर ठगी गरेपछि डिस्को रणमैदान बनेको थियो । त्यो घटनाले रात्रिकालीन व्यवसाय कति धेरै असुरक्षित र अव्यवस्थित छ भन्ने यथार्थ बाहिर ल्याइदियो । घटनालगत्तै यो क्षेत्रलाई व्यवस्थित गराउन प्रहरीले छलफलसमेत ग(यो । तर, प्रहरीको चासो योजनामै सीमित भयो ।

अहिले ठमेल र दरबारमार्ग क्षेत्रमा दिनप्रतिदिन डिस्को, डान्सबार, तथा लाउञ्जबार खुलिरहेका छन् । तर, त्यसले निम्त्याउन सक्ने सुरक्षा चुनौतीबारे प्रहरीले चासो दिने गरेको छैन । ठमेल र दरबारमार्गमा नयाँ–नयाँ डिस्को खुलिरहँदा यसबाट विकृतिसँगै अपराधका घटनासमेत बढिरहेका छन् । तर, पनि प्रशासनले निश्चित मापदण्ड बनाएर व्यवस्थित गर्न सकेको छैन ।

विनाअनुमति रातभर सञ्चालन
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले गत वर्ष ८२ बुँदे कार्ययोजना सार्वजनिक गरी ठमेललगायत पर्यटकीय क्षेत्रलाई २४सै घन्टा खुलाउने योजना बनाए । गृहमन्त्रीको सो योजना कार्यान्वयन हुन सकेको छैन । आवश्यक तयारी नपुगेको भन्दै योजना कार्यान्वयन हुन नसकेको हो । व्यवसायीहरूले पनि यसमा खासै चासो दिएका छैनन् । किनकि विनाअनुमति उनीहरूले रातभरि व्यवसाय गर्न पाइरहेका छन् । खाना बेच्ने रेस्टुरेन्ट प्रहरीले १०र११ बजे नै बन्द गर्छ । तर, रक्सी बेच्ने डान्स तथा डिस्को भने बिहान ३र४ बजेसम्म सञ्चालन हुने गरेका छन् ।

आवश्यक सुरक्षा व्यवस्था मिलाउन नसक्ने भएकै कारण डिस्को, दोहोरी साँझ, डान्सबार तथा लाउन्ज बारलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले १२ बजेसम्म मात्र सञ्चालन गर्न दिएको छ । त्यसविपरीत दर्जनौँ रात्रिकालीन व्यवसाय रातभर चल्ने गरेका छन् । यसरी अनुमतिविना २४सै घन्टा सञ्चालन भइरहेका डिस्को, डान्स र रेस्टुरेन्टलाई नियमन गर्ने निकाय प्रहरी प्रशासनले हस्तक्षेप गरेको छैन ।

जसका कारण ठमेल र दरबारमार्गमा डिस्को, क्लब र डान्सबारदेखि दोहोरी रेस्टुरेन्टसम्म राज्यले तोकेको मापदण्डभन्दा बाहिर गएर सञ्चालन हुने क्रम बढेको छ । ढिलासम्म डिस्को विनाअनुमति सञ्चालन हुँदा दैनिकजसो झगडालगायत अपराध बढेका छन् । विनाअनुमति सञ्चालित व्यवसायको अनुगमन गर्ने र आवश्यक कारबाही गर्ने जिम्मेवारी प्रहरी प्रशासनको भए पनि उसले चासो दिएको छैन ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामकुमार आचार्य आफूले १२ बजेसम्म मात्र रात्रिकालीन व्यवसाय सञ्चालनको अनुमति दिएको बताउँछन् । ‘कतिपय रेस्टुरेन्ट अदातलको स्टे अर्डरका आधारमा ढिलासम्म चलेका छन्,’ उनी भन्छन्, ‘तर अनुमति नलिएका पनि रातभर चलेका छन्, त्यसमा हेर्ने जिम्मेवारी प्रहरीको हो ।’ सुरक्षा चुनौतीकै कारण आफूहरूले ठमेल तथा दरबारमार्ग क्षेत्रमा रातभर व्यवसाय सञ्चालन गर्न दिन नसकेको उनी बताउँछन् ।

दैनिकजसो झगडा
ठमेल तथा दरबारमार्गका डान्स तथा डिस्कोहरूमा दैनिकजसो झगडा हुन्छ । प्रहरीले हरेक दिन पक्राउ गर्छ । विगतमा डेजाभु क्लबमा डिस्कोमा अमेरिकन डिजे मार्समेलो ल्याएर कार्यक्रम गर्ने नल्याए पनि तोडफोड भएको थियो । सो कार्यक्रमबारे प्रहरीलाई पहिले जानकारीसमेत दिइएको थिएन । ‘तोडफोडको क्रममा आगलागी भएको भए त्यहाँ धेरैजनाको ज्यान जान सक्थ्यो,’ दरबारमार्ग वृत्तका एक प्रहरी अधिकारी भन्छन्, ‘भोलि अन्य डिस्कोमा पनि यस्तो अवस्था नआउला भन्न सकिन्नँ ।’

ठमेलको लर्ड अफ ड्रिंक्स ९एलओडी० डिस्कोले पनि भारतीय गायिका नेहा कक्कर ल्याएर कार्यक्रम ग-यो । तर, क्षमताभन्दा धेरै टिकट बेचेर ठगी गरेको भन्दै प्रहरीले डिस्कोका सञ्चालकहरूलाई कारबाही गरेको थियो । प्रहरीले डेजाभु र एलओडी डिस्कोका सञ्चालकलाई कारबाही गरे पनि पीडितहरूले क्षतिपूर्ति पाएका छैनन् । एकैदिनमा लाखौँको कारोबार गर्ने डिस्कोमा कर छलीको समस्यासमेत रहेको प्रहरी अधिकारी बताउँछन् ।

‘रक्सी खाने मान्छे जाने ठाउँ भएकाले झगडा त भई नै हाल्छ,’ महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी विनोद घिमिरे भन्छन्, ‘कतिपय अवस्थामा डिस्कोका बाउन्सरहरूले नै कुटपिट गर्छन् ।’ ग्राहकलाई कुटेको आरोपमा दरबारमार्गको आइक्लबका बाउन्सरलाई दरबारमार्ग प्रहरीले पक्राउ गरी कारबाही अघि बढाएको छ । ठमेलको सिनेट र एलओडी क्लब रातभर खुल्छन् ।

प्लेवाई, फरेन हाइट, फायर क्लब, इबिजा, सिएनआईजस्ता क्लब बिहानसम्म राज्यको कुनै पनि अनुमति नलिईकन सञ्चालन हुँदै आएका छन् । व्यवसाय गर्न राज्यले तोकेको समय, मापदण्ड र नियम एकातिर छ, तर अर्कोतिर खुलेआम स्यान्डविज प्वाइन्ट, क्याफे, दोहोरी र डान्सबार रातभर सञ्चालन गरी राज्यका निकायलाई चुनौती दिइरहेका छन् । स्रोतका अनुसार स्यान्डविज बेच्ने भनेर खुलेका पसलबाट गोप्य रूपमा मदिराको बिक्री वितरण हुन्छ । जसमा प्रहरीले आँखा चिम्लने गरेको छ । अत्यधिक मदिराकै कारण ठमेलको सडकमा दैनिकजसो झगडाको दृश्य सामान्य हुँदै गएका छन् ।

रात्रिकालीन व्यवसायलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन ठमेल पर्यटन परिषद्ले समेत कुनै पहल गर्न सकेको छैन । नेपाल आउने धेरैजसो पर्यटक ठमेल पुग्ने गर्छन् । सन् २०२० लाई भ्रमण वर्ष मनाउन लागिएको अवस्थामा रात्रिकालीन व्यवसायलाई सुरक्षित बनाउन कुनै पहल भएको छैन । अझ कतिपय डान्सबारमा विदेशीमाथि ठगी हुने घटनासमेत कायमै छन् ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआइजी शैलेश थापा अदालतको स्टे अर्डर मानेर कतिपय रेस्टुरेन्ट दुई बजेसम्म सञ्चालन हुन दिएको बताउँछन् । अदालतबाट अनुमति नलिएकालाई समेत सञ्चालन गर्न स्थानीय प्रहरीले दिएको भेटिए नियमन हुने उनको भनाइ छ । (नयाँ पत्रिकाबाट साभार )

प्रतिक्रिया दिनुहोस्