Sunday 23rd of February 2020

नेकपासँग मुकाबिला गर्ने अरु पार्टी नै छैन – माधव नेपाल

काठमाडौं । नेकपाका नेता माधवकुमार नेपालले नेकपासँग मुकाबिला गर्ने अरु पार्टी नै नभएको दाबी गरेका छन् । उनले नेकपाले मात्रै समृद्ध नेपालको सपना साकार पार्ने पनि बताए ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको छैठौं स्मृति दिवसको अवसरमा बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा
आयोजित श्रद्धाञ्जली कार्यक्रममा नेता नेपालले सबै नेता–कार्यकर्तालाई आ–आफ्नो जिम्मेवारी सही ढंगले निर्वाह गर्न आह्वान पनि गरे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले कम्युनिष्टहरुको एकता अब नभत्किने विश्वास व्यक्त गरे । ‘अहिलेको कम्युनिष्ट एकता रातारात भएको होइन । कसैले यो एकता टिक्दैन, फुट्ने भयो भन्ने आशंका गरेका छन् त्यसमा सत्यता छैन,’ नेता नेपालले भने, ‘लामो समयसम्म एकले अर्कालाई बुझेर यो एकता भएको छ । फलामे एकताको रुपमा कम्युनिष्टको एकता भएको छ, यो भत्किँदैन ।’

सबै तहका सरकारमा रहेका नेकपाका नेता–कार्यकर्ताहरुको कामको समीक्षा गर्नुपर्नेमा उनले जोड दिए । ‘हामी ठीक बाटोमा हिँडिरहेका छौं । एकतामा एकीकरणको काम पनि अहिले चलिरहेको छ । सबै तहका सरकारमा रहेका साथीहरुको कामको समीक्षा गर्नुपर्छ,’ उनले भने ।

अहिले जनताले कम्युनिष्ट एकता र सरकारसँग ठूलो आशा र अपेक्षा गरेको बताउँदै उनले गरिबी, अशिक्षा, भेदभावलाई अन्त्य गरेर समृद्ध नेपालको सपनालाई साकार पार्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्