Tuesday 18th of February 2020

‘लभ डायरिज’ को रोमान्टिक गीत

काठमाडौं । चलचित्र ‘लभ डायरिज’ को पहिलो गीत ‘सुन्यौ कि सुनेनौ’ सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा उक्त रोमान्टिक गीत सार्वजनिक गरिएको हो ।

गीतमा चलचित्रका प्रमुख कलाकार अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री रुविना थापालाई देखाइएको छ । गायक सुगम पोखरेल र गायिका स्वेच्छा ठकुरीको आवाज रहेको उक्त गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत छ ।

सौरभ चौधरीले निर्देशन गरेको यो चलचित्रलाई मनाङको रमणीय स्थलमा छायांकन गरिएको छ । साथै यस गीतको भिडियोलाई विक्रम लामा र एञ्जिला खत्रीले कोरियोग्राफी गरेका हुन् । चलचित्रमा विशाल पहारी, विश्वजित रिमाल, अर्जुनजंग शाही, विष्णु सापकोटा लगायतका कलाकारको अभिनय छ ।

चलचित्रको कथा मधु बाँस्तोलाले लेखेको हुन् । निर्देशक चौधरी र मधु बाँस्तोलाको पटकथा तथा संवाद रहेको यो चलचित्र असोज ३ गते देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको निर्माण पक्षले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्