Thursday 14th of November 2019

धोकापछि चकनाचुर भएँः परिणीति

मुम्बई । बलिउड अभिनेत्री परिणीति चोपडाले ब्वाइफ्रेन्डले धोका दिँदा आफू भित्रैबाट चकनाचुर भएको खुलासा गरेकी छन् । प्रेमीसँग बिछोडिएपछि आफ्नो जिन्दगी नै गडबड भएको उनले बताइन् ।

बलिउडमा लगातार तीनवटा राम्रा चलचित्र दिएर सुखद सुरूआत गरेकी उनको करिअर त्यसपछि भने धर्मरायो । उनको बलिउडमा सहायक निर्देशनको काम गर्दै आएका चरित देसाईसँग प्रेमसम्बन्ध जोडिँदै आएको भारतीय सञ्चारमाध्यमले जनाउँदै आएका थिए । एक अन्तर्वार्ताका क्रममा आफ्ना प्रेमीको नाम नखुलाए पनि उनले बिछोडपछि आफूले भोग्नुपरेको पीडालाई भने खुलेर बताइन् । उनले यसअघि आफ्नो प्रेमसम्बन्ध र प्रेमीका बारेमा खासै चर्चा गर्न रुचाउँदैनथिन् ।

यसअघि उनले यस विषयलाई सँधै हल्ला भनेर नकार्दै आएकी थिइन् । आफ्नो निजी जीवनका बारेमा सार्वजनिक खासै चर्चा गर्न नरुचाउने परिणीतिले पहिलो पटक यसरी आफ्नो व्यक्तिगत जीवनमा खुलेकी हुन् ।

उनले आफ्नो प्रेमबिछोड हुनुलाई जीवनकै सबैभन्दा कठिन क्षण भएको बताइन् । उनले भनिन्, ‘त्यो क्षण मेरो जिन्दगीको सबैभन्दा नराम्रो क्षण थियो । मेरो मन पूरै टुटेको थियो । मलाई म यो दुनियाँमा एक्लै छु जस्तो लाग्थ्यो । मलाई कसैले नकारेको यो पहिलोपटक थियो । मेरो जीवनमा यसअघि पहिले कहिले यस्तो भएको थिएन ।’

उनले यस दुःखबाट निस्किन आफूलाई निकै कठिन भएको सुनाइन् । आफूलाई त्यसक्रममा परिवारले निकै ठूलो साथ दिएको उनले जिकिर गरिन् । प्रेमबिछोडले आफूलाई जसरी टुटायो त्यसरी नै थप बलियो र परिपक्व बनाएको उनले बताइन् । उनले भनिन्, ‘म भगवानप्रति कृतज्ञ छु । उनले मलाई जीवनको यो क्षण चाँडै देखाइदिए । यो बिछोडबाट मैले धेरै कुरा सिकेँ ।’ अन्तर्वार्ताका क्रममा उनलाई प्रेमीको नाम सोधिएको थियो तर उनले नाम भने लिइनन् । चरितको नाम दिँदा उनले भनिन्, ‘न म तपाईंको कुरा अस्वीकार गर्छु न स्वीकार गर्छु । म यसलाई रहस्यकै रूपमा छाड्न चाहन्छु ।’

पछिल्लो पटक उनी अभिनीत ‘केशरी’ ले उनलाई पुनः सफलता दिलाएको छ । यसैबीच उनीद्वारा अभिनीत रोमान्टिक हाँस्यचलचित्र ‘जबरिया जोडी’ ९ अगस्टमा प्रदर्शनीमा आउने तयारीमा छ । उनी अहिले यही चलचित्रको प्रचारप्रसारमा व्यस्त रहेकी छन् । भारतीय सञ्चारमाध्यमका अनुसार उनी छिट्टै नै भारतकी राष्ट्रिय ब्याडमिन्टन खेलाडी सानिया नेहवालको बायोपिकमा काम गर्दैछिन् ।

प्रतिक्रिया दिनुहोस्