Sunday 22nd of September 2019

लोहोन्द्राले बगायो सोरेनको सपना

काठमाडाैं । बारीको लौका बेचेर घर खर्चमा थप सहयोग पु¥याउने उदेश्यले तरकारी बारीमा गएका मोरङ कटहरी गाउँपालिका–४ का ५५ वर्षीया सोमा सोरेन दुई हप्ता बित्दा पनि फेला परेका छैनन् । बारीको लौका बजारमा बेच्ने र पैसा हाता पार्ने उनको सपना असार २८ गते घरनजिकै रहेको लोहोन्द्रा खोलामा आएको बाढीले उनीसँगै बगाइदियो ।

कारखानामा मजदुरी गरेर जीविका गर्दैै आएका सोरेनले शनिबार हुने बिदालाई उपयोग गरी बारीमा फलेको लौका बेचेर पैसा कमाउने भन्दै लौका टिप्न बारीमा गएका थिए । घरदेखि एक सय मिटर पर लोहोन्द्रा खोला तरेर उनको बारीमा जानुपर्ने थियो । उनी लौका टिप्न गएकै दिन असार–२८ गते लोहन्द्रा खोलामा भीषण बाढी आएको थियो । बाढीको बेवास्ता गर्ने उनी खोलामा हेलिए । लौका ल्याएर बेचेको पैसाले परिवारलाई खुसी दिने उनको सपना त्यही बाढीमा बग्यो ।

जब उनी खोलमा पसेर पौडिँदै पारी जान खोजेका थिए, बाढीसँगै बगेर आएको ठुूलो जलकुुम्भीको झ्यालले उनलाई लतार्दै लग्यो । जलकुुम्भीमा थिचिएका उनले बाहिर निस्कने धेरै प्रयास गरे । तर, उनको प्रयास सफल भएन । उनलाई बाढीसँगै आएको जलकुम्भीले जित्यो, उनले हारे । बाढीसँग मात्रै उनले हारेनन् जीवनसँग पनि हारे । हेर्दाहेर्दै बाढीमा बगेर सोरेन बेपत्ता भए । परिवारलाई खुसी दिने उनले उठाएको जोखिम हेर्दा हेर्दै पलभरमै खरानी भयो ।

लोहन्द्रा खोलामा बगेर सोरेन बेपत्ता भएको दुई हप्ता नाघिसकेको छ । अहिलेसम्म न उनको सास भेटिएको छ न लास नै । कति खोज्दा पनि उनको अत्तो पत्तो छैन । परिवार, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा नेपाली सेना तथा स्थानीय र परिवारले समेतले निकै दिन खोजी गर्दा पनि उनी फेला परेका छैनन् । उनी बढीमा बगेसँगै परिवारका सपना पनि बगेजस्तै भएको छ ।

सोरेनलाई पत्नी डिडीले खोलाका बाढी आइरहेकोले त्यो दिन बारीमा नजान निकै आग्रह गरेको बताइन् । पत्नीको आग्रहलाई बेवास्ता गर्दै गएका उनी घर नर्फदा परिवारका सदस्य निकै चिन्तामा छन् । पत्नी डिडीले भनिन्, ‘खोलामा बाढी आएको छ, आज नजानु भनेको मान्नुभएन, एकैछिनमा लौका लिएर आइहाल्छु भन्नुभएको थियो, आजसम्म आउनुभएन, ।’

छोरा सञ्जय सोरेनले पानीमा पसेका बुुबालाई जलकुुम्भीले लटपटाएर बगाएको बताउँछन् । उनले भने, ‘हाम्रो कुरा नमानेर जबर्जस्ती खोलामा पस्नुभएको बुुबा जलकुुम्भीको लतिमा फसेर हेर्दाहेर्दै बेपत्ता हुुनुुभयो । हामीले खोलैखोला खोज्दै भारतको बोर्डरसम्म पुुग्दा पनि बुुबा फेला पार्न सकेनौँ, यतिका दिनसम्म अत्तो पत्तो नभएका उनको परिवारमा फर्केर आउलान् कि भन्ने आस भने मरेको छैन ।

परिवारको मूल मान्छे बेपत्ता भएपछि विपन्न उक्त परिवारको सहारा गुमेको छ । पत्नी डिडी सोरेन र छोराहरू र अन्य सदस्य बेसहारा भएका छन् । पतिलाई बाढीले बगाएपछि सबैभन्दा पीडा आफुूलाई भएको उनले बताइन् । सोरेनका १२ जनाको परिवार छ । परिवारमा चार छोरा तीनजना बुुहारी र दुुईजना नातिनातिना छन् । डिडी भन्छिन्, ‘नातिनातिनाहरू हजुुरबुुबा कहिले आउनुुहुुन्छ भनेर सोध्छन्, उनीहरूलाई के जवाफ दिउँ ?’ भावुक हुँदै उनले भनिन् । उनीहरूको घर खर्च उनै सोरेनको कमाइले चल्दै आएको थियो अहिले त्यो पनि बन्द भएको छ ।

स्थानीय बेचन मण्डलले भने, ‘तरकारी टिपेर बचौँला र घर खर्चमा सहयोग पु¥याउँला भनेर घरबाट गएका सोरेन कहिले नफर्कने गरी हामीसँग बिदा भएर गयो, करिब–करिब माया मारेजस्तै गरी उनले भने, ‘यहाँको हाटबजार गएर तरकारी बिक्री गर्ने उनको चाहना पूरा हुन पाएन हामी सबै गाउँलेलाई रुवाएर बेपत्ता भयो, यतिका दिनसम्म अत्तो पत्तो छैन अब त के भेटिएला र ?’

गाउँलेले वारपार गर्ने उक्त खोलामा पुुल नहुुँदा बर्सेनि धेरै मानिसले वर्षायाममा यसरी ज्यान गुुमाउनुुपरेको छ । तटीय क्षेत्रका बासिन्दाले गाउँमा बाढी पस्ने र खोला तर्दा ज्यान गुुमाउने पीडा भोग्दै आएका छन् । कटहरी गाउँपालिकाका अध्यक्ष रामकुुमार कामतले तराईवासीको पीडा हटाउन खोलामा पुुल र तटबन्ध बनाउनुु आवश्यक रहेको बताए । स्थानीय सरकारसँग बजेट थोरै भएकाले आफुूहरूले चाहेर पनि ठूलाठूला पुुल र तटबन्ध बनाउन नसकेको भन्दै त्यसका लागि स्थानीय, प्रदेश र केन्द्र सरकारको सहयोग आवश्यक भएको उनको भनाइ छ ।

यसैबीच कटहरी गाउँपालिकाले पीडित परिवारलाई ५१ हजार रुपैयाँ सहयोग उपलब्ध गराएको छ । गाउँपालिका अध्यक्ष कामतले पीडितको घरमै पुुगेर राहतस्वरूप सहयोग उपलब्ध गराएका हुुन् । सो वडाका वडाअध्यक्ष मन्टुु शेखले पनि पीडित परिवारलाई घरमा पुुगेर पाँच हजार रुपैयाँ सहयोग गरेका छन् । एक महिनाको तलब भत्तासमेत पीडित परिवारलाई दिने घोषणा वडाअध्यक्ष शेखले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्