Friday 24th of January 2020

‘म’ घोषणा

काठमाडाैं । कान्तिपुर फिल्म एकेडेमीले चलचित्र ‘म’ निर्माण गर्ने भएको छ । सोमबार राजधानीमा एक समारोहबीच लामो समयदेखि फिल्मसम्बन्धी अध्ययन गराउँदै आएको कान्तिपुरले उक्त चलचित्र निर्माणको घोषणा गरेको हो ।

परिच्छेद सेनले निर्देशन गर्ने उत्त चलचित्र समसामयिक विषयमा केन्द्रित हुने निर्माण पक्षले जनाएको छ । यसअघि लघुचलचित्र निर्देशन गर्दै आएका सेनले ‘म’ मार्फत ठूलो पर्दाको चलचित्र निर्देशनमा हात हाल्न लागेका हुन् । कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरीले तयार पारेको कथामा आधारित यो चलचित्रको छायांकन भदौको पहिलो साताबाट सुरु हुने जनाइएको छ ।

चलचित्रमा अभिनेता विजय लामा, अभिनेत्री सरिता लामिछाने, रेवती क्षत्री, कुशुम गुरुङ, रेविका गुरुङ, अनिल कँडेल, संजोग रसाइली, बालकलाकार उनभ श्रेष्ठ र सम्पन्न ढकालको अभिनय रहने छ ।

सहायक भूमिकामा पवन भट्टराई, श्यामसुन्दर धिताल, उत्तम राई, गौरव मल्लको समेत अभिनय रहने छ । विजय र सरिताबाहेक यस चलचित्रमा अभिनय गर्ने अन्य कलाकार कान्तिपुरमै अध्ययन तथा प्रशिक्षण लिएका विद्यार्थी हुन् । तेन्जिन पाल्देनले यो चलचित्र खिच्ने छन् ।

‘म’ मा जितेन लेप्चाको गीत, किरण भुसालको संगीत हुने छ । चलचित्रका लेखक तथा कान्तिपुरका सिइओ पुरीले विद्यार्थीलाई हौसला प्रदान गर्ने उद्देश्यले राखेर एकेडेमीले चलचित्र निर्माण गर्न लागेको जनाए । त्यस्तै, निर्देशक सेनले ‘म’ लाई केही पृथक बनाउने आफ्नो प्रयास रहने जिकिर गरे । अभिनेत्रीद्वय कुशुम र रेविकाले आफूले अध्ययन गरेको एकेडेमीले निर्माण गर्न लागेको चलचित्रमा अभिनय गर्नका लागि निकै उत्साहित रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्