Thursday 14th of November 2019

व्यापक बन्दै ट्युसन प्रवृत्ति

काठमाडौँ । ट्युसन पढ्ने अवसर पाउने विद्यार्थीको सिकाइ उपलब्धि उच्च रहेको सरकारी अध्ययनले प्रमाणित गरेको छ । यसले ट्युसन प्रवृत्ति व्यापक झाँगिएको देखिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्र ९ईआरओ० ले कक्षा ५ का विद्यार्थीको सिकाइ उपलब्धिका बारेमा गरेको अध्ययनले ट्युसन पढ्नेहरूको भन्दा नपढ्नेहरूको स्तर खस्किएको देखाएको छ ।

विद्यार्थीको अध्ययनमा अभिभावक, साथीहरू र ट्युसनबाट सहयोग मिल्ने गरेको छ । देशभरिका एक हजार चार सय विद्यालयका २८ हजार ३८१ विद्यार्थीमाथि गरिएको अध्ययनबाट संस्थागत विद्यालयको १५ र सामुदायिक विद्यालयको छ प्रतिशतभन्दा बढी विद्यार्थीले ट्युसन पढ्ने गरेको देखिएको छ ।

ईआरओका अधिकृत श्यामप्रसाद आचार्यले भन्नुभयो, “ट्युसन पढ्ने विद्यार्थीको उपलब्धि सबैभन्दा उच्च रहेको पाइएको छ । ” ईआरओले सिकाइ उपलब्धिको राष्ट्रिय औसतका रूपमा पाँच सय अङ्कलाई आधार मानेको छ र ट्युसन पढेकाहरूको उपलब्धि ५११ देखिएको छ । अध्ययनले साथी, दिदी, दाइ, बाबु, आमा वा ट्युसनको सहयोग नलिएकाहरूको सिकाइ उपलब्धि राष्ट्रिय औसतभन्दा कम रहेको प्रस्ट गरेको छ ।

नेपालमा ट्युसन पढ्ने संस्कृति झाँगिँदै गएको छ । माथिल्लो तहमा ट्युसन पढ्ने संस्कृति अब तलसम्म विस्तार हुँदै गएको छ । प्राथमिक तहदेखि नै ट्युसन पढ्नुपर्ने संस्कृतिको विकासलाई शिक्षाविद्हरूले सकारात्मक मानेका छैनन् ।

शिक्षाविद् प्रा।डा। मनप्रसाद वाग्लेले भन्नुभयो, “ट्युसन पढ्नेहरूको सिकाइ उपलब्धि राम्रो देखिनुले विद्यालयमा शिक्षकले राम्रो पढाउन नसकेको नै ठहर्छ । त्यसैले यस कुराले कक्षा कोठाभित्रको पठनपाठनमा व्यापक सुधार खाँचो देखाएको छ । ”

विशेषगरी निजी विद्यालयका विद्यार्थीहरू सानैदेखि ट्युसन पढ्ने गरेको पाइन्छ । अभिभावकहरू विद्यालयमा तिर्ने गरेको मासिक शुल्कसरह वा सोभन्दा बढी रकम ट्युसन पढाउनका लागि खर्च गर्ने गरेका छन् ।

शिक्षा मन्त्रालयले युनेस्कोको प्राविधिक सहयोगमा सन् २०१५ मा गरेको अध्ययनले त्यस वर्ष सार्वजनिक विद्यालयका अभिभावकले आफ्ना छोराछोरीको शिक्षामा १० अर्ब ५७ करोड रुपियाँ र निजी विद्यालयका अभिभावकले ४७ अर्ब १५ करोड रुपियाँ खर्च गरेका थिए । निजी विद्यालयका अभिभावकले त्यस वर्ष निजी ट्युसनका लागि तीन अर्ब ८५ करोड रुपियाँ खर्च गरेको तथ्याङ्कले ट्युसन पढाउने पेसा व्यापारका रूपमा विकास हुँदै गएको प्रस्ट्याएको छ ।

सोमबार सार्वजनिक गरिएको ईआरओको अध्ययन प्रतिवेदनले कक्षा ५ मा नेपाली विषयमा सबैभन्दा कमजोर प्रदेश २ का र सबैभन्दा अब्बल गण्डकी प्रदेशका विद्यार्थी रहेको तथा गणितमा सबैभन्दा कमजोर प्रदेश १ का र सबैभन्दा अब्बल प्रदेश २ का विद्यार्थीहरू रहेको देखाएको छ ।

ईआरओको अध्ययनले शिक्षण सेवामा रहेका अभिभावकको सिकाइ उपलब्धि उच्च रहेको देखाएको छ । अर्काको घरमा काम गर्ने अभिभावकका छोराछोरीको सिकाइ उपलब्धि कम रहेको छ ।

शिक्षा पत्रकार सञ्जालले आयोजना गरेको प्रतिवेदन सार्वजनिक कार्यक्रममा शिक्षाविद् प्रा।डा। विद्यानाथ कोइरालाले सिकाइ उपलब्धि सुधार गर्न नीति बनाउने जिम्मेवारी कसको हो भन्नेमा गम्भीर बन्नु जरुरी देखिएको बताउनुभयो ।

ईआरओका महानिर्देशक टेकनारायण पाण्डेले भन्नुभयो, “न्यूनतम पूर्वाधार नभएका थुप्रै विद्यालय छन् । ती विद्यालयका विद्यार्थीका लागि यो अन्याय हो । सिकाइ उपलब्धि कम हुनुमा कारक यो पनि हो । ”

प्रतिक्रिया दिनुहोस्