Tuesday 31st of March 2020

कर्मचारीको अध्ययन विदामा कडाई गर्दै सरकार

काठमाडौं । सरकारले निजामती कर्मचारीलाई दिइने अध्ययन विदामा कडाई गर्ने भएको छ । अध्ययन विदा लिएर गएका कर्मचारीहरुले त्यहाँ गएर जागिर खाने गरेको पाइएको भन्दै सरकारले कडाई गर्न लागेको हो ।

अब उचित कारण नदेखाइ कर्मचारीहरुलाई अध्ययन विदा नदिने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रष्ट पारे ।

मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा मन्त्री पण्डितले मन्त्रालयले उचित ठानेपछि मात्रै कर्मचारीहरुलाई विदेशमा अध्ययनका लागि विदा दिन सकिने बताए । अघिल्लो पटक मन्त्री हुँदा अमेरिका अध्ययन गर्न गएका एक कर्मचारीले अध्ययन नगरेको पाइएपछि सेवाबाटै हटाएको पनि स्मरण गरे ।

मन्त्री पण्डितले कर्मचारीहरुले कार्यालय समयमा निजी प्रयोजनका लागि कार्यालयको टेलिफोन प्रयोग गर्न नदिने बताए ।

प्रतिक्रिया दिनुहोस्