Wednesday 26th of February 2020

नक्कली बाढीपीडित खडा, बाढीको राहतमा जनप्रतिनिधिको बदमासी

सिरहा । मौवाहीका भूमिहीन दलित धनवीर सदा र उर्मिला सदा मुसहरको फुसको छाप्रो असारमा वर्षासँगै आएको बाढीले क्षति पुग्यो । उनीहरू बस्दै आएको घर लड्यो ।

घर लडेपछि चरम गरिबीको कारण घर निर्माण गर्न नसक्दा यी पीडित तीन सातादेखि खुल्ला आकाशमुनि रात बिताउँदै आएका छन् । तर, यी पीडितहरूले अहिलेसम्म राहत त पाएनन् । उनीहरूको नाम पीडितको सूचीमा समेत छैन । सरकारले पीडितको नाम संकलन गर्न केही पहिला टोली खटाएको थियो । जनप्रतिनिधि नै रहेको सो टोलीले धनवीर र उर्मिला मात्र होइन बाढी र डुबानले मौवाही गाउँको मुसहर बस्तीका क्षति भएका २२ घरका परिवारलाई समेटेको छैन ।

उनीहरूले अहिलेसम्म राहत नपाएको गुनासो पोखे । ‘घर लड्यो, घरबारविहीन भयौँ’ उर्मिला सदा मुसहरले दुःखेसो गरिन् ‘राहत पाउने आशामा थियौँ, राहत बाड्न आउँदा हामी राहत पाउनबाट वञ्चित भयौँ ।’ ‘राहत त पाएनौँ’ निरक्षर उनले पढे लेखेकालाई नाम हेर्न लगाइन तर सूचीमै नाम नभएपछि थप पीडामा परेको सुनाइन् । उर्मिला मात्र होइन राहत लिन हतारिएर पुगेका अन्य सबै पीडितहरू रित्तो हात फर्किन पुगे ।

जनप्रतिनिधिको लापरवाहीका कारण सिरहाका बाढी तथा डुबान पीडित राहत पाउनबाट वञ्चित भएको खुलेको छ । जनप्रतिनिधि सहितको टोलीले तथ्यांक संकलनका क्रममा पीडितभन्दा आफन्त र कार्यकर्ताको नाम राखेपछि वास्तविक पीडित राहत पाउनबाट वञ्चित भएको खुलासा भएको हो । तथ्यांक संकलन टोलीले वास्तविक पीडितको नाम छुटाएर गैरबाढी पीडितको नाम पीडितको सूचीमा राखेपछि त्यसको विरोध भएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिले बाढी पीडितको नामावली संकलन गर्न प्रहरी, रेडक्रस, वडाध्यक्ष वा वडाको प्रतिनिधि र स्थानीय राजनीतिक दलको प्रतिनिधि सम्मिलत टोली बनाउने निर्णय गरेको थियो । सोही टोली तथ्यांक संकलनमा परिचालन गरिएको थियो । तर, टोलीमा राजनीतिक दलका प्रतिनिधि र वडाध्यक्ष हाबी भएको पाइएको छ ।

सिरहाको सखुवानन्कारट्टी गाउँपालिका १ का बाढी र डुवान पीडित परिवारलाई राहत सामग्री वितरण नगरी फर्जी पीडित बनाएर आफ्ना र दलका कार्यकर्तालाई राहत सामग्री वितरण गरेको आरोप लगाउँदै पीडितले वडा कार्यालय नै घेराउ गरेका छन् । सखुवानन्कारकट्टी र औरहीका बाढीपीडित मात्र होइन जिल्लाका अन्य स्थानका बाढी पीडितले गाउँका ठुलाबडाले आफ्नो आसेपासेलाई पीडितको नाममा राखेपछि राहत पाउनबाट आफूहरू वञ्चित हुनुपरेको गुनासो पोख्न थालेका छन् ।

यसैबीच गाउँपालिकाले पीडितको सूचीमा विरोध भएपछि गाउँपालिका उपाध्यक्ष अमलादेवी यादवको संयोजकत्वमा वडाअध्यक्षहरू, प्रहरी, रेडक्रस प्रतिनिधि, सञ्चारकर्मी सम्मिलित अनुगमन टोली गठन गरेको छ । प्रदेश २ सरकारबाट २५ किलो चामल, ४ किलो दाल, एक एकओटा म्याट, झुल १, तेल १ लिटर, साबुन २ थान सहितका समानप्रति पीडित परिवारलाई राहत स्वरूप वितरण गरेको छ । यस्तै रेडक्रसले ३० किलो चामल, ४ किलो दाल, कम्बल र त्रिपाल १ र १ थानका दरले वितरण गरेका छन् ।

औरही गाउँपालिका २ तुलसीपुरमा वास्तविक बाढी पीडित छुटेको र गैरबाढी पीडितको नाम पीडितमा राखेपछि विवाद भएको थियो । विवादपछि त्यहाँ १८ जना गैरबाढी पीडितको नाम हटाएर केही वास्तविक पीडितलाई थप गरिएको थियो । ‘प्रभावितहरूको तथ्यांक संकलनमा केही गडबड देखिएको छ,’ सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले भने, ‘त्यसलाई सच्चाउने कार्य भइरहेको छ ।’

केही वडाअध्यक्षहरूले पीडितको नाम काटेको र थपेको पाइएकाले तथ्यांकमा केही फरक पाइएको उनले जानकारी दिए । बाढी र डुबानबाट सबैभन्दा बढी क्षति सिरहा नगरपालिकाका १२, ६, १७, ३, १३ वडा र कल्याणपुर नगरपालिकाको १२ वडा बढी पीडित छन् । जिल्ला प्रशासन कार्यालय सिरहाका अनुसार अविरल वर्षाका कारण सिरहामा ४ हजार ५ घर पूर्ण प्रभावित भएका छन् । त्यसैगरी ७ हजार ७ सय ७१ परिवार आंशिक प्रभावित भएका छन् । बाढीमा परी सिरहामा ५ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्