Friday 22nd of November 2019

चित्रमा किराँत साैन्दर्य

काठमाडौं । दिवंगत कलाकारद्वय शान्तकुमार राई र अर्जुन खालिङको स्मृतिमा कला प्रदर्शनी गरिएको छ । बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा जारी प्रदर्शनीमा दुई दर्जन बढीका कलाकारका कलाकृति राखिएको छ । किराँत ललितकला समाजको आयोजनामा भएको प्रदर्शनीमा दिवंगत कलाकार राई र खालिङका चित्रसमेत राखिएको छ ।

प्रदर्शनी किराँत सभ्यता र संस्कृतिका विविध आयाम झल्किने कलाकृति राखिएको समाजका अध्यक्ष धनु याखाले बताए । उनले दिवंगत कलाकारको स्मृतिमा प्रदर्शनी गरिएको बताउँदै भने, ‘कलामार्फत मौलिकता र पहिचानलाई चिनाउने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको हो ।’ उनले नेपाल बहुजाति, भाषा, धर्म र संस्कृतिको धनी भएकाले यहाँ रहेका सांस्कृतिक विविधतालाई कलामा देखाइएको बताए ।

उनले भने, ‘दिवंगत कलाकारद्वय शान्तकुमार राई र अर्जुन खालिङको नेपाली ललितकला क्षेत्रमा अतुलनीय योगदान दिएकाले प्रदर्शनीको आयोजना गरिएको हो ।’

मुन्धुम संस्कृतिका विविध पक्षमा केन्द्रित रहेर कलाकारले चित्र बनाएका छन् । सांस्कृतिक सौहार्दतामार्फत कला जागरण ल्याउने लक्ष्य राखेर प्रदर्शनीको आयोजना गरिएको समाजका उपाध्यक्ष नवेन्द्र लिम्बूले बताए । उनले भने, ‘नेपाली समसामयिक कला क्षेत्रमा महत्वपूर्ण योगदान दिएका कलाकारद्वय राई र खालिङको स्मृतिलाई चीरस्थायी बनाउनका लागि प्रदर्शनीको आयोजना गरिएको हो ।’ प्रदर्शनीमा किराँत जनजीवन, भेषभुषा, संस्कृति तथा वास्तुकला झल्किने कलाकृति राखिएको छ ।

दिवंगत कलाकार शान्तकुमार राईले नेपाली कलाक्षेत्रमा संस्थागत विकासका लागि महत्वपूर्ण योगदान दिएको उपाध्यक्ष लिम्बूले बताए । उनले भने, ‘कलाको विकासका लागि संस्था बलियो बनाउनुपर्छ भन्दै उनले निरन्तर पैरवी गर्दै आएका थिए ।’ चित्रमा सामाजिक विषयवस्तुलाई प्रधानता दिने राईले प्रायः महिलाका क्यानभासमा उतार्थे । उनका कलामा नारी दुःख अभिव्यक्त गरिएका पाइन्छ । उनले चरा नारीलाई क्यानभासमा उन्दै स्वतन्त्रताको पक्षमा आफ्नो सिर्जनात्मक अभिव्यक्ति दिँदै आएका थिए ।

कवि तथा कलाकार अर्जुन खालिङले किराँत सभ्यता र संस्कृतिका विषयमा चित्र बनाउँदै आएका थिए । उनले ग्रामीण किराँत समुदायको संस्कृति, भूगोल र जनजीवनलाई समसामयिक परिवेशमा चित्रमा उतार्दै सांस्कृतिक सचेतनाको काम गर्दै आएका थिए ।

‘सूर्य डढिरहेछ निरन्तर’ र ‘गोयाङको सुगन्ध’ कविता संग्रह प्रकाशित गरेका खालिङ पछिल्लो समय पहिचानको आन्दोलनमा सरिकसमेत भएका थिए । खालिङले चित्र, लेखन, फेसनमार्फत किराँत सौन्दर्य र पहिचानलाई प्रवद्र्धन गरेका थिए । किराँत राई लेखक संघका अध्यक्षसमेत रहिसकेका उनले चिन्डो आर्ट्स, चिन्डो बुक्स र चिन्डो फेसन स्थापना गरेका थिए ।

उँधौली, उँभौली, च्याब्रुङ, मुर्चुङ्गाका साथै किराँती लोकबाजालाई कलाकारले चित्रमा उतारेका छन् । जसले किराँती सभ्यता र संस्कृतिलाई चिनाएको छ । त्यस्तै, किराँतीहरूको पर्व एवं विवाहदेखि मृत्युसम्मका संस्कार, भेषभूषा, रहनसहन र जीवनशैलीलाई प्रदर्शनीमा देख्न सकिन्छ । अग्रज कलाकार तथा समाजका संस्थापक अध्यक्ष रतनकुमार राईले खालिङका चित्रमा आफ्नै मौलिक परिवेश र संस्कृतिलाई उठान गरिएको बताए ।

प्रदर्शनीमा स्व. राई र खालिङले बनाएका चित्रका साथै अग्रज कलाकार टेकवीर मुखिया, रतनकुमार राई, नवेन्द्र लिम्बू, धनु याखा, हिम्मत नेम्वाङ, सञ्जय वान्तवा, टार्जन साङपाङ, टीकावीर राई, विवेक मुकारुङ, टीकामाया राई, सुम्निमा राई, सोनी राई, सन्तोष राई, राजकुमार राई, नीर बहादुर याखा कोंग्रेन, मेखबहादुर लिम्बू, किरणकुमार सिगु, कुवीर देवान, दुर्गा सुनुवार, दिपेन्द्र राई, डिबी राई, विनिता इजाम याखा र विजय लावतीका कलाकृति राखिएको छ । प्रदर्शनीमा ३९ वटा कलाकृति राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्