Sunday 25th of August 2019

डबल एमडी गरेकी डाक्टर छोरी नमिता नगरपालिकाकी उपमेयर

काठमाडौ । डा. नमिता यादव राजनीति र चिकित्सा पेशामा सँगसँगै रमाइरहेकी छिन् । डा. नमिता डबल एमडी चिकित्सक हुन् । उनले जनरल प्रयाक्टिस एण्ड इमर्जेन्सी मेडिसिनमा धरानबाट र गाइनोमा चीनबाट एमडी गरेकी छन् । डा. नमिताको अर्को परिचय पनि छ ।

उनी अहिले सिरहा जिल्ला सदरमुकाम रहेको सिरहा नगरपालिकाकी उपमेयर पनि हुन् । चिकित्सा पेशाबाट राजनीतिमा आएकी डा. नमिता जनकपुरको वकिल टोलमा २०३५ सालमा जन्मिएकी हुन् ।

जुन अहिले जनकपुर उपमहानगरपालिका–०२ मा पर्छ । उनी बुवा काशीप्रसाद यादव र आमा जगतारनदेवीकी त्यस्ती भाग्यमानी छोरी हुन्, जसले महिलाले स्कुलको ढोकासम्म पुग्न नपाउने समयमा शिक्षा हासिल गर्न पाउने सुवर्ण अवसर पाइन् । उनलाई चिकित्सक बनाउनेमा सबैभन्दा दरिलो हात उनका बुवा काशीप्रसादको छ ।

अहिले पनि डा. नमितालाई लाग्छ बुवा नभैदिएको भए, उनको जीवनको सुर, ताल र भाकाहरु सबै फरक सुरमा बगिरहेका हुन्थे । ‘नेपालमा नै माइती भएको यादव जातको पहिलो महिला चिकित्सक पनि हुँ,’ उनले सुनाइन् ।

उनका बुवा काशीप्रसाद पढेलेखेका थिए । उनी सडक विभागका इन्जिनियर । त्यसैले जनकपुरमा जन्मेपनि डा। नमिताको बाल्यकाल बुवासँगै हेटौडा, दाङ, धनगढी, दाङलगायतका ठाउँमा बित्यो । ‘बुवा सरकारी जागिरे, उहाँको जताजता सरुवा हुन्थ्यो, म त्यही–त्यही पुग्थे,’ हालैको एक साक्षात्कारमा उनले सुनाइन्, ‘त्यसैले मैले त्यतिबेलै सम्पूर्ण देश हेर्ने अवसर पाएँ ।’

काशीप्रसादमा भरिएको शिक्षाको ज्योतीले छोरीको जीवनलाई पनि झलमल्ल बनाइदियो । त्यसैले उनले छोरीलाई पढाउनै बढी जोड दिए । छोराको पढाइमा समेत जोड नदिने त्यो बेलाको समयमा पनि नमिताले बोर्डिङ पढ्न पाइन् । डा. नमिता अहिले पनि आफ्ना पिताजीले आफूलाई बोर्डिङमा पढाउन घरभित्रै गरेको संघर्ष सम्झँदा पनि भावुक हुन्छिन् ।

त्यो बेला जनकपुरमा मधेशी समुदायसँगै पहाडी समुदायको समेत बोलवाला थियो । तर, बोर्डिङ पढ्दा उनी क्लासकी एक्लो केटी सदस्य थिइन्, अरु सबै केटा । ‘छोराहरुलाई मात्रै बोर्डिङ स्कुलमा पढाइन्थ्यो । छोरीले त स्कुल समेत देख्दैन्थे,’ उनले आफूलाई शिक्षा दिने क्रममा बुवाले गरेको संघर्ष सम्झिइन्, ‘उहाँले फ्यामिलीभित्रै संघर्ष गर्नुप¥यो ।

संयुक्त परिवारमा छोरीलाई पढाउन थाल्यो भनेर कुरा काट्न थाले ।’ तर, छोरीलाई पढाएर ठूलो मान्छे बनाउने सपनाबाट उनका बुवा कहिल्यै पछि हटेनन् । ‘हुने विरुवाको चिल्लो पात’ भनेझैं डा। नमिताले बुवाको सपना साकार पार्ने बाटोको पहिलो खुड्किला पार गरिन्–वि.सं. २०५० सालमा । उनले जनकपुरको जानकी बोर्डिड स्कुलबाट ७६ प्रतिशत अंक ल्याएर एसएलसी उत्तीर्ण गरिन् ।

२०५० सालमा एसएलसीमा यति राम्रो रिजल्ट थोरैले मात्रै हात पार्थे । डा। नमिता त्यतिखेर महिलातर्फबाट जनकपुर जिल्ला फष्ट भएकी थिइन । उनको जिल्ला टपरले ७८ प्रतिशत अंक ल्याएका थिए । छोरीलाई स्कुल पढाउन हुँदैन भन्ने रुढीवादी धारणा बोकेको समाजबाट डा। नमितासम्मको यात्रा निकै प्रेरणादायी छ । डा. नमिता दाङमा रहँदा बेला–बेलामा बिरामी भैरहन्थिन् ।

उनको उपचारका लागि कहिले उनका बुवाआमा नेपालगन्ज पुग्थे, कहिले लखनउसम्म पनि । बिरामी पर्दा उपचारका लागि त्यति टाढा जानुपरेको दृश्यले नमितामा भविष्यमा डाक्टर बन्छु भन्ने सपनाको बिउ रोपेको थियो । यो बाध्यताबाट बाल मस्तिष्कमा रोपिएको सुनौलो सपना थियो ।

‘दाङमा बस्दा विरामी भैरहन्थे, उपचारका लागि कहिले लखनउ पुग्नुपथ्र्यो, कहिले नेपालगन्ज,’ उनले आफ्नो चिकित्सक सपनाको विउ रोपिएको प्रसंग उप्काइन्, ‘त्यति बेला म सानै थिएँ, तर त्यो बाध्यता देखेपछि मलाई भविष्यमा जसरी पनि डाक्टर बन्छुजस्तो लाग्थ्यो ।’

तर आज डाक्टरसँगै देशको सिंहदरबारको वागडोरसमेत सम्हाल्ने सौभाग्य पाउँने छोरीका भाग्यमानी बाबु आमालाई सलामा । हेल्थ आवाजबाट केही अंश

प्रतिक्रिया दिनुहोस्