Sunday 25th of August 2019

स्वर्गीय प्रचण्डपुत्रको नाममा विदेशमा पैसा राखेको बारेमा प्रचण्ड सचिवालयले निकाल्यो चुनौतीपूर्ण विज्ञप्ती

काठमाडौं । प्रचण्डको निजी सचिवालयले एक विज्ञप्ती जारी गरेको छ ।

स्वर्गीय प्रचण्डपुत्र प्रकाश दाहालको नाममा २१ अर्ब रुपैयाँ बिदेशी बै‌कमा रहेको भन्ने तथ्यहिन प्रचार भएको भन्दै प्रचण्डको निजी सचिवालयले विज्ञप्ती जारी गरेको हो ।

प्रचण्डका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘कमरेड प्रकाशको नाममा विदेशको कुनै पनि बैंकमा खाता र पैसा रहेको प्रमाणित गर्न हामी चुनौती दिन्छौं । परिवर्तन विरोधी प्रतिगामी, प्रतिक्रान्तिकारी तत्वहरुका यस खालका कपोल्कल्पित भ्रामक प्रचारबाट भ्रमित नहुन आम पार्टी पङ्क्ति एवम् जनसमुदायमा हार्दिक अपील गर्दछौं।’

गत साता अध्यक्ष प्रचण्डले परिवारको साथमा गरेको दुबई भ्रमण स्वर्गीय प्रकाश दाहालको नाममा रहेको रुपैयाँलाई व्यवस्थापन गर्न गएको भनेर केही सञ्चार माध्यममा समाचार बाहिरिएको थियो ।

प्रचण्डको सचिवालयले उक्त कुरालाई कुप्रचार भन्दै घोर भत्सर्ना र खण्डन गरेको छ।

सचिवालयले मंगलबार बिहान विज्ञप्ती जारी गर्दै गलत प्रचार गर्नेलाई कारबाही गर्न सरकारसँग माग समेत गरेको छ।