Thursday 23rd of January 2020

भारतसँग युद्ध गर्न तयार छाै : प्रधानमन्त्री इमरान खान

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तान भारतसँग युद्ध गर्न तयार रहेको बताएका छन् । अगस्त १४ का दिन पाकिस्तानको स्वतन्त्रता दिवसको दिन कश्मीरसँग एकता दिवसको रूपमा मनाउन भन्दै पाकिस्तान-प्रशासित कश्मीरको राजधानी मुजफ्फराबाद पुगेका प्रधानमन्त्री इमरान खानले ‘यदि युद्ध भए पनि पाकिस्तान पुर्ण रूपमा तयार’ रहेको बताएका हुन् ।

उनले मुजफ्फराबाद सदनको विशेष सत्रमा सम्बोधन गर्दै भारतको संविधानको धारा ३७० खारेज गरेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘आखिरी कार्ड’ खेलेको एवं यो निर्णय हिटलरको नाजीका निम्ति ‘फाइनल सोल्युशन’ जस्तै भएको बताएको समेत छन् ।

प्रधानमन्त्री खानले अब भारत प्रशासित कश्मीरमा पाकिस्तानले केही गर्ने बताएका छन् । भारतीय प्रधानमन्त्री मोदीतर्फ संकेत गर्दै ‘ईटको जवाफ पत्थरले दिने’ भन्दै उनले सो क्षेत्रमा आफुले केही गर्ने बताएका हुन् ।

त्यस्तै प्रधानमन्त्री खानले विवादित कश्मीरका कारण भारत र पाकिस्तानको युद्ध भए त्यसका लागि विश्व शक्ति राष्ट्रहरू जिम्मेवार हुने समेत बताएका छन्। उनले कश्मीरको हैसियतसम्बन्धी विगतका संयुक्त राष्ट्रसङ्घका प्रस्ताव कार्यान्वयन गराउन विश्व शक्ति राष्ट्रहरू विफल भएको भन्दै उनले यसो भनेका हुन् ।

दोस्रो विश्वयुद्धपश्चात् अब युद्ध नहोस् भनेर राष्ट्रसङ्घजस्तो संस्था स्थापना भएको थियो । खानले कश्मीरका जनतालाई दिइएको आत्मनिर्णयको अधिकारलाई मोदीले फ्यालिदिएको भन्दै आफुहरु कश्मीर मुद्दालाई लिएर अन्तर्राष्ट्रिय मञ्चहरूमा जाने बताएका छन् ।
एजेन्सी

प्रतिक्रिया दिनुहोस्