Wednesday 16th of October 2019

रक्तचन्दनको तेलसहित तीन जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले बहुमूल्य वनस्पति रक्तचन्दनको तेलसहित तीन जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त लैनचौरको टोलीले काठमाडौं महानगरपालिका–१६, नयाँबजारबाट रक्तचन्दनको तेलसहित धादिङका ५३ वर्षीय अच्युत केसी, सिन्धुपाल्चोकका ४३ वर्षीय जीत लामा र नुवाकोटका २६ वर्षीय सुजन पौडेललाई मंगलबार साँझ पक्राउ गरेको हो ।

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोषसिंह राठौरले लामा बस्ने कोठामा प्लाष्टिकको बोराले छोपेर राखेको अवस्थामा सिल्भरको गाग्रोमा ४५ लिटर रक्तचन्दन फेला पारेको जानकारी दिए । ‘पक्राउ परेकाले नयाँबजारको सोसल खेलमैदानमा रक्तचन्दनको कारोवार गर्ने गरेको अनुसन्धानबाट खुलेको छ’, उनले भने ।

रक्तचन्दनको तेल लामाको कोठाबाट बरामद गरे पनि उक्त कारोवारमा केसी र पौडेलसमेत संलग्न रहेको राठौरले बताए । पक्राउ परेका तीनै जनासँग आवश्यक अनुसन्धान भइरहेको वृत्तले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्