Saturday 21st of September 2019

गण्डकीका कर्मचारीलाई प्रदेश घुम्न ९० लाख बजेट

पोखरा । गण्डकी प्रदेशका कर्मचारीलाई सरकारले घुम्न पठाउने भएको छ, त्यो पनि सरकारी खर्चमा । गण्डकी प्रदेश सरकारले आफ्ना कर्मचारीलाई गाउँठाउँ घुमाउन यस्तो योजना ल्याएको हो । बिदा पर्यटनको नीति लिएको गण्डकी प्रदेशले कर्मचारीलाई घुमाउन ९० लाख बजेट पनि बिनियोजन गरेको छ ।

गण्डकी प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक भ्रमण वर्षको रुपमा मनाइरहेको छ । त्यसैलाई सघाउ पुर्‍याउन र कर्मचारीलाई देश घुम्ने बानी बसाल्न बिदा पर्यटनको नीति लिइएको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।

बिदा पर्यटनको कार्यविधि पनि पारित भइसकेको छ । कार्यविधिअनुसार कर्मचारी घुम्न जाँदा तलब काटिँदैन । उल्टै पैसा पाउँछन् । कर्मचारीको तहअनुसार सुरुको नियुक्ति लिँदाको तलवमान बराबरको पैसा पाउने कार्यविधिमा छ ।

घुम्न जाने कर्मचारीले आफूले चाहेको प्रदेशभित्रको गन्तव्य छनोट गर्नुपर्ने उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले जानकारी दिए । मन्त्री लम्सालले भने, ‘बिदा पर्यटनमा जाँदा कार्यालयमा असर नपर्ने गरी स्विकृत गराएर व्यक्तिगत वा सामूहिक रुपमा पनि कर्मचारीहरु जान सक्ने छन् ।’

कर्मचारीलाई बिदा पर्यटनमा पठाउनुअघि कार्यालयहरुले वार्षिक कार्ययोजना पठाउनुपर्ने छ । कार्ययोजना अनुसार बिदा पर्यटन सुरु भएपछि घुम्न जाने कर्मचारीले एक जना परिवारका सदस्य पनि साथमा लैजानुपर्ने प्रावधान राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्