Sunday 22nd of September 2019

नेताको असक्षमताले गणतन्त्रमाथि बाधा उत्पन्न हुन सक्छ : रवीन्द्र मिश्र

रुपन्देही । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले गणतन्त्रमाथि खतरा आयो भन्ने दलका नेताको अभिव्यक्ति आफ्नै कमिकमजोरी ढाकछोप गर्ने प्रयास भएको बताएका छन् ।

आइतबार बिहान बुटवलमा पत्रकारहरुसँग कुराकानी गर्दै संयोजक मिश्रले गणतन्त्रमाथि अरु कसैबाट खतरा नभएर दलका नेताहरुको असक्षमताका कारण खतरा उत्पन्न हुनसक्ने बताएका थिए ।

‘राजा र राजतन्त्रवादीहरुको गलत क्रियाकलापका कारण राजतन्त्र अन्त्य भएको थियो,’ उनले भने, ‘वर्तमान सरकार र केही गणतन्त्रवादी नेताहरुका कमिकमजोरीका कारण गणतन्त्र खतरामा पर्नसक्ने संकेत देखिएको छ ।’

पुराना राजनीतिक दलहरुले जनतालाई राजनीतिक मायाजालमा पारेर राखेको भन्दै मिश्रले जनता पुराना दलको राजनीतिक माया जालबाट बाहिर ननिस्किएसम्म मुलुकको समृद्धि सम्भव नभएको दाबी गरे । दुई तिहाई बहुमतको सरकार बनेपछि जनता मुलुक स्थायित्व र समृद्धिको बाटोमा अगाडि बढ्छ भन्ने बिश्वासमा रहे पनि मुलुक स्थायित्व र समृद्धितर्फ एक कदम पनि अगाडी बढ्न नसकेको भन्दै उनले अब जनताले आफ्नो मन र मत बदल्नुपर्ने बेला आएको बताए ।

पुराना दलहरुबबाट मुलुकको समृद्धि सम्भव नभएको भन्दै उनले साझा पार्टीसँग मुलुकको समृद्धिको स्पष्ट रहेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्