Tuesday 18th of February 2020

तिब्बतीलाई नागरिकता दिएको प्रकरणमा ५ कर्मचारी फरार

कास्की — तिब्बतीलाई नेपाली नागरिकता दिएको प्रकरणका आरोपीमध्ये ५ कर्मचारी फरार भएका छन् । फरार हुनेमा कास्की जिल्ला प्रशासनका ४ र एकजना पोखरा–१८ वडा कार्यालयका कर्मचारी छन् ।

उनीहरूविरुद्ध प्रशासनले आन्तरिक छानबिनपछि विभागीय कारबाहीको सिफारिस गरेको थियो । कास्की जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि उनीहरू फरार भएका हुन् । बिदा मिलाएर मोबाइल ‘स्वीच अफ’ गरी बसेका उनीहरूको खोजी भइरहेको डीएसपी राजकुमार केसीले बताए ।

फरार हुनेमा जिल्ला प्रशासनका अधिकृत ऋषिराम आचार्य, नासु डाँसीराम लामिछाने, खरिदारद्वय परशुराम पौडेल, रामचन्द्र थापा र वडाका विष्णुप्रसाद पौडेल छन् ।

नागरिकता ऐन, ०६३ अनुसार कुनै विदेशीले झूटो विवरण दिएर नेपाली नागरिकता लिए १ देखि ५ वर्षसम्म कैद वा ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजायको व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्