Tuesday 25th of February 2020

नागरिता विधेयक चाडै पारित गर्न सांसदहरुको आग्रह

काठमाडौँ — एक वर्षदेखि अड्‌किएको नागरिता विधेयक चाडै पारित गर्न सांसदहरुले आग्रह गरेका छन् । प्रतिनिसभाको बिहीबारको बैठकमा सांसदहरुले नागरिकता सम्बन्धिको विधेयक सदनबाटै टु‌ंगिनुपर्ने बताएका हुन् । शून्य समयमा बोल्दै सांसद हृदयेश त्रिपाठीले नागरिकता सम्बन्धिको व्यवस्था संविधानमै उल्लेख भएपनि हालसम्म उक्त विधेयक पारित हुन नसकेकोमा आपत्ति जनाए ।

उनले राज्य व्यवस्था समितिले नागरिकता विधेयक अड्काएर राखेको बताए । उनले नागरिकता सम्बन्धिको विधेयक तत्काल अगाडि बढाउन माग राख्दै चाडै सदनबाट पारित हुनुपर्ने बताए।

यस्तै, राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले पनि नागरिकता सम्बन्धिको विधेयक तत्काल अगाडि बढाउन आग्रह गरे। उनले विशेष समयमा बोल्दै नागरिकताको विषय चाडै नै टुंग्याउनुपर्ने बताए।

संविधानमा व्यवस्था भएर पनि नागरिकता नपाइरहेको समस्या र विधेयकमा भइरहेको ढिलाइ देखेर गृह मन्त्रालयले चैत १९ गते सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी संविधानको प्रावधानअनुसार जन्मका आधारमा नागरिकता पाएका व्यक्तिका सन्तानलाई वंशजको नागरिकता दिन निर्देशन दिएको थियो । उक्त निर्देशन विवादमा तानियो । सर्वोच्च अदालतको आदेशबाट नागरिकता वितरण रोकियो । ३ सातामा १६ हजारले नागरिकता लिएका थिए ।

नागरिकता विधेयकको सबैजसो विषय टुंग्याइसकेको राज्य व्यवस्था तथा सुशासन समितिमा वैवाहिक अंगीकृत नागरिकता प्राप्तिको प्रावधानमा चर्को विवाद देखिएको छ । त्यसैका कारण विधेयक लामो समयसम्म ‘होल्ड’ भइरहेको हो । गृहले ल्याएको विधेयकमा वैवाहिक अंगीकृत नागरिकता प्राप्तिको अहिलेको प्रावधानमा संशोधन प्रस्ताव ल्याएपछि समय लम्बिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्