Friday 28th of February 2020

रुपन्देहीमा डेंगुका कारण १ को ज्यान गयो, ८५ जनामा संक्रमण

बुटवल । रुपन्देहीमा डेंगुका कारण १ को ज्यान गएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत बुटवल–११ नहरपुर निवासी ६१ बर्षीया सावित्रा आचार्यको शनिबार साँझ ७ बजे निधन भएकोे हो । जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा अहिलेसम्म ८५ जनामा डेंगुको संक्रमण देखिएको छ ।

५ वर्षका बालबालिकादेखि ७५ वर्षका बृद्धबृद्धासम्मलाई डेंगु रोग लागेको पाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । यस क्षेत्रमा मनसुन बल्ल सक्रिय भएकाले लामखुट्टेको टोकाइबाट फैलिने डेंगुको प्रकोप कात्तिक, मंसिरसम्म रहन सक्ने र यो महामारीका रुपमा फैलन सक्ने कार्यालयले जनाएको छ ।

जिल्लामा पहिलो पटक साउन २८ गते एक जनामा डेंगु रोग देखिएको थियो । बुटवल हस्पिटल प्रा.लि.मा ती विरामीको चेकजाँच गर्दा डेंगु देखिएको हो । त्यसयता दैनिक २–३ जनाका दरले डेंगुका बिरामी थपिँदै आएका छन् । डेंगु रोग लागेकाहरुमा पुरुष भन्दा महिला धेरै छन् ।

डेंगु एडिस एजेप्टाई र एडिस अल्बोपिक्टस नामका पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्छ । रुपन्देहीमा २०६७/०६८ मा पहिलोपटक डेंगुका विरामी फेला परेका थिए । उक्त वर्ष रुपन्देहीमा मात्रै ४ जनाको मृत्यु भएको थियो । त्यस्तै २०७३/२०७४ र २०७४/२०७५ मा २/२ जना गरी ४ जनाको मृत्यु भएको थियो ।

२०७४/०७५ मा चितवन र रुपन्देहीमा महामारी नै फैलिएको थियो । ८ वर्षको अन्तरालमा रुपन्देहीमा करिब १५ सयमा डेंगु रोग लागिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्