Sunday 22nd of September 2019

सुपथ मूल्यको पसलमा उपभोक्ताको दुखेसाे !

काठमाडौं । सिंहदरबारस्थित बग्गीखानामा सोमबार सुपथ मूल्य पसल सञ्चालनमा आएको सुनेर ठूलै झोला बोकेर पुगे बैजनाथ रौनियार । तर, सामानको मूल्य सुनेपछि भने उनले आफ्नो झोला भर्ने जाँगर गरिनन् ।

उपभोग्य सामानहरुमा आफूले सोचेजस्तो छुट नपाएको उनले बताए । साथै खोजेको सामान पनि नपाएको रौनियारको गुनासो थियो ।

‘मलाई ५ केजीको चामल लैजानु थियो, तर १० केजी घटीको चामलको प्याक नै भेटिनँ,’ उनी भन्दै थिए ।

रौनियार मात्रै हैन, सुपथ मूल्यको पसलमा पुगेका धेरै उपभोक्ता छुट भनेर राखिएका सामानको मूल्यमा सन्तुष्ट देखिएनन् । सरकारले हल्ला गरेअनुसार उपभोक्तालाई राहत नदिएको उनीहरुले गुनासो गरे । पसलमा राखिएका सामानको प्याकेजिङ विविधिकरण पनि नगरिएकाले आफ्नो आवश्यक्ताअनुसार सामान किन्न अप्ठेरो परेको पनि उनीहरुको भनइ थियो ।

‘गोरखनाथ ब्रान्डको चामलमा छुट नै रहेनछ,’ पसलमा भेटिएका डोरमणि आचार्यले भने, ‘डीडीसीको बुथमा किन्दा र यहाँ किन्दा एउटै मूल्य रहेछ । सुपथ भनेपछि त सबै सामानमा केही छुट गर्नुपर्ने हो ।’

खाद्य तथा ब्यापार कम्पनी लिमिटेडले आफ्नो बुथमा कर्णालीको सिमी १२०, कर्णालीको फापर ७०, जापानिज चामल ६१, अरुवा जिरो मसिनो ५० र अरुवा बासमति चामल ७३ रुपैयाँ किलोमा बेचिरहेको छ । यस्ता सामानमा ५ देखि १० रुपैयाँ प्रतिकेजी छुट दिइएको छ ।

कम्पनीले इन्डक्सन चुल्हो पनि विक्रीमा राखेको छ । यसको मूल्य ४ हजार रुपैयाँ राखिएको छ । साल्ट ट्रेडिङले राखेका समानमा पनि प्रतिकेजी २ देखि १० रुपैयाँसम्म छुट दिइएको छ । तर, उपभोक्ताहरुले भने यो मूल्यमा चित्त बुझाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्