Sunday 22nd of September 2019

राजधानीमा डेंगुको आतंक, बिरामीको संख्या उच्च

काठमाडौं । राजधानीमा डेंगु रोगको त्रास फैलिएको छ । ६ वर्ष यताकै सबैभन्दा बढी डेंगु रोगका बिरामी भेटिएपछि राजधानीमा डेंगु रोगको त्रास फैलिएको हो । राजधानी बाहिरकेही महिना अघिदेखि नै डेंगुको संक्रमण फैलँदा पनि सरकारले रोकथाम गर्न सकिरहेको छैन ।

आइतबार एकैदिन राजधानीमा ३६३ जनाको डेंगु परीक्षण गराइएकोमा १९४ जनामा डेंगु रोग फेला परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुका सूचना अधिकृत रुपनारायण खतिवडाले बताए ।

त्यस्तै, शनिबार २९६ जनाको परीक्षण गराएकोमा १४४ जनामा डेंगु रोगको संक्रमण फेला परेको थियो ।

दैनिक ४ सयजना भन्दा बढी बिरामी डेंगु रोगको परीक्षण गराउन आएकामा भदौ १५ यता आधा बिरामीमा डेंगुको संक्रमण फेला परेको उपचारमा संलग्न टेकु अस्पतालका डा. शेरबहादुर पुनले बताए ।

बैशाखदेखि साउनसम्म ५२८ जना बिरामीमा डेंगुको परीक्षण गरिएकोमा ८५ जनामा डेंगु फेला परेको खतिवडाले बताए । भदौयता राजधानीमा डेंगुको चाप ह्वात्तै बढेको उनले बताए ।

भदौ १ गतेदेखि २२ गतेसम्म २ हजार ६८० जनामा डेंगु परीक्षण गरिएकोमा ४६ प्रतिशत बिरामी अर्थात १२ सय भन्दा बढीमा डेंगुको संक्रमण फेला परेको खतिवडा बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्