Monday 16th of December 2019

पहिरीले सडक भत्किँदा रसुवा खण्डमा यातायात अवरुद्ध

रसुवा — पहिरीले सडक भत्किँदा पासाङ ल्हामुमार्गको रसुवा खण्डमा यातायात अवरुद्ध भएको छ । पासाङ ल्हामुमार्गको राम्चे र ग्राङकोबीच भागमा बुधबार साँझ करिब ५ बजे सडक भाँसिएको हो ।

कालिका गाँउपालिका–१ नाकुरदुङ भन्ने ठाउँमा सडक भासिँएको वडा अध्यक्ष मालफुर्पा तामाङले बताए । ‘सडक कुनासम्मै भासिएको छ,’ उनले भने, ‘पैदल आवत–जावत गर्न सक्ने अवस्था समेत छैन । सडक मूनि ठूलो पहिरो गएकाले उक्त स्थानमा तत्काल तार जाली लगाउन सक्ने अवस्था छैन । नयाँ ट्रयाक खोल्न पर्ने अवस्था छ ।’

भासिएको स्थानमा मर्मतका लागि सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी सपना कुमारी भटराइले बताइन् ।

उक्त स्थानमा ठूलो पहिरो भएकाले ब्लाष्टिङ गर्नुपर्ने हुन्छ । चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी जोड्ने पासाङल्हामु मार्गमा यातायात अवरुद्ध हुँदा सामान बोकेका कन्टेनरहरु बाटोमै अलपत्र परेका छन् ।

प्रतिक्रिया दिनुहोस्