Wednesday 16th of October 2019

चावहिलको शव जलाउने घाटमा नाराबाजी

काठमाडौं । मानव सम्बन्धमा सबैभन्दा संवेदनशील क्षण हो- मृत्यु । कसैको मृत्युपछि अन्तिम संकारका लागि मसानघाटमा पुर्‍याउँदा आफन्तजन मात्र होइन, जीवनभर दुश्मनीमा रहेका मान्छे पनि भावुक हुन्छन् ।

तर, काठमाडौंको चावहिल क्षेत्रमा आइतबार लक्ष्मी डंगोलका आफन्तले भने अन्तिम संकारका बेला विरोधको सामना गर्नुपर्‍यो । ६० वर्षीया डंगोलको शव पिंग मसानघाटमा लगियो । नेवारी परम्परा अनुसार शवगद्तको तयारी भइरहेको थियो ।

शव जलाउन नपाउने भन्दै घाट छेउमा घर भएकाहरुले विरोध गरे । मलामी गएकाहरुले परम्परागत घाटमा अन्त्येष्टि गर्न पाउनुपर्ने भन्दै नाराबाजी गरे । अन्ततः प्रहरी नै आउनुपर्‍यो । प्रहरी सुरक्षामा डंगोलको दाहसंस्कार भयो । ‘शव खोसाखोस होलाजस्तो अवस्था आएपछि प्रहरी बेलाउनुपर्‍यो’, काठमाडौं ७ का वडाध्यक्ष शुद्ध डंगोलले भने ।

चावहिल क्षेत्रमा पछिल्लो समय यस्तो विवाद बढ्दो छ । गत मंसिरमा पनि भीममाया डंगोलको अन्त्येष्टि गर्ने क्रममा विरोध भएपछि प्रहरी नै पुग्नु परेको थियो ।

चाबहिलको पिंग र आसपासको क्षेत्रमा डंगोल र शाक्य समुदायका छुट्टाछुट्टै घाट छन् । पुस्तौंपुस्तादेखि प्रयोग गर्दै आएको घाटमा शव जलाउँदा विरोध गर्नुलाई चाःबही (चावहिल) का रैथाने नेवार समुदायले ‘घाटमाथि भएको अतिक्रमण’ मानेका छन् ।

नयाँ बासिन्दाहरु भने घरनजिकै शव जलाउँदा दुर्गन्ध फैलिने गुनासो गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्