Wednesday 16th of October 2019

मोरङका राजमार्ग सीसी क्यामेराको निगरानीमा

विराटनगर । मोरङमा पर्ने राजमार्गमा ५८ वटा सीसी क्यामेरा जडान गरिएको छ । प्रदेश १ सरकारको १ करोड १४ लाख रुपैयाँ बजेटमा ५८ वटा क्यामेरा जडान गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार सीसी क्यामेराकालागि मोरङमा ६० किलोमिटर फाइबर बिछ्याइएको छ । प्रहरीले विराटनगर महानगरपालिको सिमावर्ती क्षेत्र रानीदेखि–ढाटसम्म ३२ वटा, पूर्व पश्चिम राजमार्गको इटहरी पूर्व बुढीखोला चोकदेखि भाउन्ने चोकसम्म १३ वटा र पथरी बजारदेखि उर्लाबारी बजारसम्म १३ वटा सीसी क्यामेरा जडान गरेको छ ।

६० किलोमिटर क्षेत्रमा बिछ्याइएको ६ ‘कोर’ तार मध्ये सीसी क्यामेराका लागि २ कोर प्रयोग भएको छ । बाँकी चार कोरमा फेस डिटेक्सन क्यामेरा, राडर गन र ट्राफिक लाइट जडान गर्न सकिने छ । प्रहरीले प्रयोग गरेका क्यामेराको स्टोरेज जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय बेलबारी र इलाका प्रहरी कार्यालय पथरीमा राखिएको छ । अधिकारीका अनुसार विराटनगर महानगरपालिका भित्र र अन्य क्षेत्रमा गरी प्रहरीले १५४ सीसी क्यामेराबाट निगरानी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्