Wednesday 16th of October 2019

गाउँपालिका कार्यालय तोडफोडको अभियोगमा वडाध्यक्षसहित ३ जना पक्राउ

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ का वडाध्यक्षसहित ३ जना पक्राउ परेका छन् ।

वडा १ का अध्यक्ष वीरेन्द्र गुरुङ, वडा-३ का सदस्य गणेश आचार्य र तरुण दलका नेता विपुल क्षेत्री मंगलबार विहान ९ बजे पक्राउ परेका हुन् । माछापुच्छ्रे गाउँपालिकामा तोडफोड गरेको भन्ने किटानी जाहेरीको आधारमा वडा प्रहरी कार्यालय बगरले उनीहरुलाई पोखराको जिरो किलोमिटरबाट पक्राउ गरेको छ ।

कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्षका प्रत्यासी खुसीराम गुरुङ नेतृत्वको टोली भदौ १२ गते गाउँपालिकाको सूचना माग्न पुगेको थिए । २४ गते उनीहरुलाई सूचना उपलब्ध गराएको दाबी गाउँपालिले गरेको छ । त्यसको भोलिपल्ट भदौ २५ गते खोजेको सूचना नदिएको भन्दै कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्षका प्रत्यासी खुसीराम नेतृत्वको टोली गाउँपालिका पुगेको थियो । सोही क्रममा सूचना दिन आलटाल गरिएको भन्दै तोडफोड गरिएको उल्लेख गर्दै ४ जनाको किटानीसहित ४५ जनाविरुद्ध प्रहरीमा जाहेरी परेको थियो ।

किटानी जाहेरीमा खुसीरामसहित कांग्रेसका तर्फबाट वडानम्बर ८ का अध्यक्षका प्रत्यासी राम गुरुङ, वडा नम्बर २ का वीरेन्द्र गुरुङ, तरुण दलका क्षेत्रीय सहसचिव राजाराम गुरुङसहित ४५ जना थिए । तीमध्ये ३ जनालाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय बगरका प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिए ।

सूचना माग्न गएको टोलीलाई मागेको सूचना नदिएर बजेट किताब र वेबसाइड हेर्न भनेपछि कांग्रेसका अध्यक्षका प्रत्यासीसहित टोलीले थप सूचना माग्दा पनि बेवास्था गरेको उनीहरुको भनाइ छ ।

माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ ५० दिनका लागि चीन भ्रमणमा छन् । कार्यवाहक अध्यक्षको जिम्मेवारी कृष्णकुमारी दवाडीले सम्हालेकी छन् । कार्यावाहक अध्यक्ष दवाडी, प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटा र सूचना अधिकारी हरिलाल आचार्यसँगै छलफल चलिरहेका बेला कार्यालयमा तोडफोड भएको थियो ।

जनप्रतिनिधिलाई घेराउ गरिएको र तोडफोडसमेत गरिएको भन्दै किटानी जाहेरी दिइएको कार्यावाहक अध्यक्ष कृष्णकुमारीले जानकारी दिइन् । प्रहरीले किटानी गरिएको र अन्य संलग्नको पनि खोजि गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्