Wednesday 16th of October 2019

चितवन मेडिकल कलेजकाे आन्दाेलनबारे बाेल्याे त्रिवि, बढी शुल्क फिर्ता गर्न निर्देशन

काठमाडाैँ । चितवन मेडिकल कलेज एन्ड साइन्सेज भरतपुरका विद्यार्थी आन्दाेलित भएकाे प्रति त्रिभुवन विश्वविद्यालयले ध्यानाकर्षण भएकाे जनाएकाे छ ।

शुक्रबार त्रिवि उपकुलपतिको कार्यालयले एक विज्ञप्ती जारी गर्दै एमबीबीएस अध्ययनरत विद्यार्थीबाट मनपरीरुपमा शुल्क लिएको गुनासाेसँगै आन्दाेलन चर्किएकाे जानकारी भएकाे भन्दै बढी असुल गरेको शुल्क फिर्ता दिन निर्देशन दिएको छ ।

विद्यार्थीहरुले तोकिएको भन्दा बढी शुल्क लिएको भन्दै निरन्तर आन्दोलन गर्दै आएपछि त्रिविले यस्तो निर्देशन दिएको हो । उसले आन्दाेलनले कसैलाई फाइदा नहुने भन्दै संवाद र आपसी छलफलबाट समस्या हल गर्न समेत आग्रह गरेकाे छ ।

मन्त्रिपरिषदकाे बैठकले तोकेको भन्दा बढी शुल्क लिन नपाइने कुरा स्मरण गराउँदै त्रिविले विद्यार्थीका मागको सम्बाेधन हुनेगरी चितवन मेडिकल कलेजका सञ्चालक र सम्बन्धित पक्षले वार्ता तथा संवादबाट शुल्कबारे समस्या हल गर्न भनेकाे छ ।

चिकित्सा शास्त्र अध्ययन संस्थान आइओएमले तोकेको शुल्क भन्दा कलेजले बढी शुल्क लिएका भन्दै चितवन मेडिकल कलेजका विद्यार्थीहरु तालाबन्दी लगायत कार्यक्रम सहित आन्दाेलित हुँदै आएका छन् । आन्दाेलनकाे नेतृत्व नेत्रविक्रम चन्द विप्लवका छाेरा प्रकाश चन्दले गर्दै आएका छन् ।

सरकारले एमबीबीएस पढ्न विद्यार्थीहरुलाई काठमाडौं बाहिर ४३ लाख ४५ हजार र काठमाडौं उपत्यकामा ३८ लाख ५० हजार शुल्क तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्