Wednesday 16th of October 2019

दसैंको टीकाः बुवा लगाइदिने, दाइहरू बहिष्कार गर्ने

वर्षाको पानी निख्रिएर आकाश खुल्न थालेपछि मानिसहरू यसरी नै दसैंको मौसमको कुरा गर्न थाल्छन्। नेपालीले मनाउने धेरै चाडमध्ये दसैंलाई अलि विशेष बनाइएको छ। जनमानसमा छाप बसेको सफा मौसम, बालबालिकाले नयाँ लुगा किन्ने अवसर, भान्जाभान्जीले पैसा जम्मा गर्ने अवसर, सरकारी तथा गैरसरकारी कर्मचारीले लामो बिदा पाइने वा रमाइलो गर्ने अवसर आदि।

आदिवासी जनजाति समुदायभित्र भने दसैंसँग अर्को विशेष कुरा पनि जोडिएर आएको छ आजकाल।दसैं मनाउने परम्परा र उनीहरूको पुस्तान्तरणमा एकखाले परिवर्तन देखिइरहको छ। यसले आदिवासी जनजातिभित्रका केही समुदायमा अन्यौल पनि सृजना गराएको छ।

म अझै सम्झिन्छु, हिजोको दिनमा दसैं भन्नेबित्तिकै खुब रमाइलो लाग्थ्यो। दाइले नयाँ लुगा पठाइदिनु हुन्छ, दिदीले पनि नयाँ लुगा र जुत्ता अनि बुवाले टिका र जमरासँगै नयाँ टलक्क टल्किने नोट दिनुहुन्छ भन्ने आशाले मन गदगद हुन्थ्यो।

अष्टमीको दिन गरिने रात्री पूजाको लागि राखिएको भाले समातेर छेउमा उभिनुको मजै बेग्लै थियो। पूजाको लागि पोलेको नैवेदको स्वाद, पूजारी बस्नु हुने बुवा वा दाइको लागि तयार पारिएको दही, चिउरा र केराको सानो अंश खाँदाको आनन्द।

नवमीका दिन धनकुटा चुङमाङ, लिसिम्बुको ठाडा गाउँ र पूर्वछाने गाउभरि सुँगुरको मार हानेको हेर्ने लहर। अनि दसैंमा मार्घा डाँडा माथिल्लो टोलको जेठामामाको घरबाट टीका लगाउँदै लगाउँदै कान्छामामा हुँदै कैजलेमुनि हेमदल दाइको घरमा पुग्दा नयाँ तथा पुराना पैसाको नोटले गोजी टमक्क भरिइसकेको हुन्थ्यो।

कान्छो दाइ र मबीच कसको धेरै पैसा भयो भनेर प्रतिस्पर्धै चल्थ्यो। म सानी र कान्छी भएकीले सकेसम्म आमाबाट पनि फाइदा लुट्न खोज्थेँ। आमाको हातमा आएका ठूला साना नोटमध्ये सानासाना चाहिँ म राख्छु नि भन्दै दाइले थाहा नपाई आफ्नो खल्तीमा जम्मा गर्थे।

ओहो! त्यो बाल्यकाल, त्यो सम्झना साँच्चिकै रोमान्चक थियो।

कुनै पनि कुरा स्थायी हुन्न, चाहे समय होस् वा परम्परा र चालचलन। हाम्रो समाजमा दसैं मनाउने परम्परामा पनि समय अनुकुल परिवर्तन भइरहेको छ।

बाल्यकाल सकिँदै गएपछि मभित्रको दसैंसँग जोडिएको त्यो रमाइलोपन पनि सकिँदै गएको छ। व्यवहारले थिचिँदो छ। उ बेलाको दाइ र म हिँड्ने ठाउँमा भदाभदैनीहरूले हामीलाई विस्थापित गरेका छन्।

आमा वा भाउजूको स्थानमा घरमा आएका पाहुनालाई खाना बनाउने, खुवाउने अर्थात घर सम्हाल्ने जिम्मेवारी अब मैले सम्हाल्नुपरेको छ। यी त भए सामाजिक तथा घरायसी जिम्मेवारीका कुरा। राजनैतिक र सामाजिक हिसाबले पनि धेरै कुरा परिवर्तन भइरहेको छ। जुन कुरा मैले बाल्यकालमा देखेँ, मेरा हजुरबा, हजुरआमाले उहाँहरूको बाल्यकालमा पक्कै पनि देख्नुभएन होला। यही कुरा अब मेरा नातिनातिनाले पनि देख्न पाउने छैनन्।

मेरो बाल्यकालमा मनाउने गरेको दसैंभन्दा अहिलेको दसैं फरक भइसकेको छ। राज्यमा पहिचानका कुरासँगै धेरै सामाजिक, सांस्कृतिक तथा परम्परागत कुरा परिमार्जित भएर आएको छ। सामाजिक तथा सांस्कृतिक रुपान्तरणका कारणले हाम्रा चाडपर्वदेखि चालचलनलाई नयाँ मोड दिइरहेको छ।

२०४६ को राजनीतिक परिवर्तनपछि नेपालका आदिवासीहरू को हुन्? उनीहरूको धर्म, संस्कार र संस्कृति के हुन्? भन्ने बारे देशव्यापी रूपमै व्यापक छलफल भयो। बहस तथा अन्तकृयात्मक कार्यक्रम चले। यही पृष्ठभूमिमा मगरलगायत अन्य आदिवासी जनजातिले दसैं परित्याग गर्न थाले, तर सबैले होइन।

यही विषयलाई लिई धेरै विचार-विमर्श भए, वैचारिक आन्दोलन उठे। घरघरमा यथार्थ के हो त भन्ने एकखाले अन्यौलता छायो।

नेपाल मगर संघले आयोजना गरेका विभिन्न आदिवासी जनजाति मुद्दाबारे चेतनामूलक कार्यक्रम, छलफल र गोष्ठीमा दाइहरूले सहभागिता जनाउन थालेपछि हाम्रो घरमा पनि मार हान्ने नहान्ने विषयमा कुरा उठ्यो।

घटस्थापनाको दिन बुबा जमरा राख्ने तयारी गर्दै हुनुहुन्थ्यो। दाइले ‘जमरा नराखौं, सबैले नराख्ने निर्णय गरेका छन् योपटक’ भन्नुभो। तर बुवाले मान्नु भएन। रातोमाटोले बिट चिटिक्क काटेर मिलाइएको ठाउँमा हरियो गोबरले चोखो पारेको कुनामा अन्य थर वा जातका मानिसहरूलाई प्रवेश निषेध गरिएको पूजाकोठामा लहरै पाँच वटा टपरामा जमरा छर्नुभो।

अनि भन्नुभो, ‘तिमेरू जेसुकै गर, मैले मान्दै आएको रीतिरिवाजलाई म यत्तिकै छोड्न सक्दिनँ।’

हरेक वर्ष दसैंको फूलपाती ल्याउने दाइहरूले दसैं परित्यागको घोषणा गरेपश्चात् बुवा आफैं पूजारी हुन बाध्य हुनुभयो। पूजा सामग्री सबै एउटै भए, रात्री भाले काटियो। भोलिपल्ट मार हान्ने दिनमा भने सुँगुरको सट्टा कुभिण्डो पो काटियो। हुन त योभन्दा पहिलादेखि नै सुँगुरसँगै अरु थुप्रै पशुहरूको प्रतीकात्मक रुपमा बलि दिइन्थ्यो। जस्तै, राँगोको सट्टा काक्रो, बोकाको रुपमा केरा आदिलाई लहरै राखी मार हानिन्थ्यो।

दशमीको दिन टीका लगाउने बेला भयो। बुवा आफ्नो जिद्दीमा अडिग हुनुहुन्थ्यो। मेरा दुई जना दाहरूले पनि टीका बहिष्कार गर्ने आफ्नो अडान छोड्नुभएन।

बाँकी रह्यौं भाउजू र म।

‘अब दुइटा त जान्ने बुझ्ने भएछन्, बाको हातको टीका आशीर्वाद नथाप्ने भए। तिमीहरू पनि त पढ्या लेख्या छौ, मेरो हातको टीका नलगाउने त होलाऊ?’ बुवाले कड्केर भन्नुभयो।

भाउजू र मैले निःशब्द एकअर्काको आँखामा हेराहेर गर्‍यौं। आमाले इशाराले नै बोल्नुभयो, ‘बाको पारो थप बढ्न नपाउँदै टीका थापिहाल।’

भाउजू र म आज्ञाकारी बालकझैं थपक्क बुवाको हातबाट टीका थाप्न बस्यौं। घरभित्र चलेको पुस्तागत द्वन्द्वबारे र गाउभरिको दसैं टीका नलगाउने कुरा आफन्तले पनि सुइँको पाएरै होला, २०५१ सालको त्यो दसैंमा अन्य चेलीबेटीहरू पनि खासै टीका थाप्न आएनन्। त्यसपछि दोस्रो, तेस्रो गर्दै हरेक वर्ष लगभग उस्तै कहानी दोहोरिइरह्यो।

फरक यति थियो कि, बुवा छोराहरूले टीका थाप्दैनन् भन्नेमा ढुक्क हुनुभो। दाइहरू पनि कुनै हालतमा बुवाले परम्परागत टीका परित्याग गर्न नसक्ने कुरामा स्पष्ट हुनुभयो।

यो मेरो घरभित्रको कथा हो। यद्यपि प्रायः आदिवासी घरहरूको कथा योभन्दा फरक छैन भन्ने कुरा मेरो भोगाइ, साथीसंगत र अध्ययन अनुसन्धानका आधारमा पनि भन्न सक्छु। यो कथा पुस्तागत अन्तर र सांस्कृतिक द्वन्द्वबाट गुज्रेको समाजभित्रको एउटा प्रतिनिधि कथा पनि हो जस्तो लाग्छ।

आदिवासी जनजातिको सामाजिक, सांस्कृतिक तथा पहिचानको मुद्दाबारे वैचारिक आन्दोलन उठ्नुअघिसम्म जुठो पर्दा वा नराम्रो घटना भएका बेलामा मात्र दसैंमा टीका लगाइन्थेन। यस्तो बेला मार हान्ने काम पनि रोकिन्थ्यो। दसैंको लाली भनेर घर लिपपोत गरिन्नथ्यो।

एक्कासि आएको दसैं परित्यागको कुराले ठूलो खैलाबैला मच्चियो। गाउँ नै दुई धारमा विभाजित भयो। धेरैले सजिलै अबदेखि दसैं नमनाउने सहमति गरे। आफना आफन्त चेलीबेटीलाई पनि यो पटक हामी टीका लगाउँदैनौ भनी अग्रिम खबर पठाइयो।

कतिपयलाई लाग्यो चलिआएको चलन एक्कासि कसरी छोड्ने? कतिलाई खर्च नै जोगिने राम्रै उपाय पनि लाग्यो। कतिपयलाई त राम्रोसँग दसैं किन परित्याग गर्ने भन्नेसमेत थाहा थिएन। छिमेकीको घरमा मात्र जमरा उमारिन्छ, खसी काटिन्छ र टीका लगाइन्छ तर उनीहरूको घरमा ती क्रियाकलाप किन हुँदैनन् भन्ने कति बालबालिकालाई त अझै थाहा छैन।

यद्यपि, मिश्रित जातीय समुदाय भएको ठाउँमा अझै पनि आदिवासी जनजातिभित्रकै मगर, तामाङ, राई, लिम्बूले पनि धार्मिक तथा सांस्कृतिक सद्भाव र सहिस्णुता कायम राख्न दसैं मनाउँछन्। मेरो ठम्याइमा पहिलापहिला आदिवासी जनजाति जो मिश्रित समाजमा बसे, धेरैले दसैं मनाउने गरेका थिए। पछि जातीय, सामाजिक र सांस्कृतिक पहिचानका कुराहरूले आधाजस्तोले दसैं बहिस्कार वा परित्याग गरे।

पछिल्ला दिनमा पहिला टीका लगाउन छोडेका घरपरिवारमा पुनः टीका लगाउने चलन बढेको सामाजिक सञ्जालहरूमा छ्यापछ्याप्ती देख्न पाइन्छ। परम्परागत हिसाबमा उपवास बस्ने, पशुबली दिने चलन भने जीवित भएको छैन। यसर्थ, अझै पनि केही आदिवासी जनजातिमा दसैं के हो? दसैं किन, कसले कसरी मनाउने भन्ने विषयमा अन्यौलता कायमै छ जस्तो लाग्छ।

प्राध्यापक डा. डम्बर चेम्जोङले भन्नुभएको छ, ‘दसैं एउटा चाड हो र यसलाई कसको हो वा होइन भन्दा पनि कसले कसरी दाबी गर्छन्, त्यो दाबी गराइभित्रको पृष्ठभूमिलाई कसरी हेर्ने र समाजलाई बुझ्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ।’

परिवारभित्र र समाजभित्र पनि दसैंसम्बन्धी अन्यौलतामा घरीघरी रुमल्लिइरहने मलाई पनि उहाँकै कुरामा सही थाप्न मन लाग्छ। सेताेपाटीबाट साभार गरेका हाैं

प्रतिक्रिया दिनुहोस्