Wednesday 13th of November 2019

लाप्राक वस्ती अलपत्र छाडेर बाहिरियो एनआरएनए

गोरखा । लाप्राकको एकीकृत वस्ती निर्माणको जिम्मा लिएको गैर आवासीय नेपाली संघ (एनआरएनए) जिम्मेवारीबाट पन्छिएको छ । समयमै वस्ती निर्माणको काम नसकिएपछि बाँकी काम गाउँपालिकालाई टाँसो अलगाएर एनआरएनए बाहिरिएको हो ।

एनआरएनएका निवर्तमान अध्यक्ष भवन भट्टको कार्यकालको अन्तिम दिन असोज २७ गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, एनआरएनए र धार्चे गाउँपालिकाबीच भएको सम्झौताअनुसार अब लाप्राकको वस्ती पुनर्निर्माणको काममा एनआरएनए सहभागी हुने छैन ।

एकीकृत वस्तीमा बाँकी रहेको काममध्ये शौचालय र तलामा काठ छाप्ने कामका लागि रकम रकम एनआरएनएले गाउँपालिकाको खातामा हालिदिने समझदारी भएको छ । त्यसबाहेक खानेपानी वितरण, ढल निर्माण, आन्तरिक सडक बनाउने काम भने कसले गर्ने टुंगो छैन । गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले यी कामका लागि पुनर्निर्माण प्राधिकरण, एनआरएनए र गाउँपालिकाले स्रोत खोज्ने समझदारी भएको बताए ।

दुई बर्षमा वस्ती निर्माणको काम सक्ने भन्दै २०७२ सालको अन्तिमबाट एनआरएनएले काम शुरु गरेको थियो । काममा भएको लापरवाही र ढिलासुस्तीका कारण वस्ती निर्माणले अहिलेसम्म पूर्णता पाएको छैन । संघका पूर्वअध्यक्ष शेष घलेको पाला देखि शुरु भएको वस्ती निर्माणको काम भुवन भट्ट हुदै कुमार पन्तको कार्यकालसम्म आइपुग्दासमेत काम सकिएको छैन ।

‘वस्तीमा निर्माण गर्न बाँकी रहेका कार्यहरु जस्तै शौचालय तथा तला थपमा गर्नुपर्ने काठ सम्बन्धी कार्यहरुमा लाग्ने रकम एकमुष्ट गाउँपालिकाको खातामा एनआरएनएले जम्मा गरी गाउँपालिकाले व्यवस्थापन गर्ने,’ निर्णय नम्बर २ मा उल्लेख छ ।

निर्णय भएसँगै गत असोज २९ गते एनआरएनएका निवर्तमान अध्यक्ष भुवन भट्ट लाप्राकको नमूना वस्ती पुगेर गाउँपालिकाका अध्यक्षलाई वस्ती निर्माणको सम्पूृर्ण व्यवस्थापन पक्ष हस्तान्तरण गरेका थिए । प्रक्रियाको सुरुवातको संकेत स्वरुप स्थानीय उम्नी गुरुङलाई वस्तीमा निर्माण सम्पन्न भएको एउटा घरको चावीसमेत हस्तान्तरण गरिएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए ।

उनले वस्ती निर्माणको जिम्मा गाउँपालिकाले लिनुपर्ने बाध्यता भएको बताए । ‘एनआरएनएले पनि दुई कार्यकाल सकिसक्यो, अब पनि गाउँपालिकाले पहल नगर्ने हो भने वस्ती पूरा हुने देखिएन’ उनले भने ‘पहिले पुनर्निर्माण प्राधिकरण र एनआरएनएले गाउँपालिकालाई वास्ता नगर्दा वस्ती समयमा पूरा हुन नसकेको हो ।’

गाउँपालिकालाई बेवास्ता गर्दा लाप्राकका ४९ परिवारले एकीकृत वस्तीमा घर नपाएका र कतिपयलाई दोहोरो पर्न गएकोसमेत पाइएको गुरुङको भनाइ छ ।

एनआरएनएको अधिवेशनपछि नयाँ कार्यसमिति चयन भएकाले पुरानो अध्यक्षले गरेको सहमति मान्ने वा नमान्ने समितिमा पनि भर पर्ने अध्यक्ष गुरुङले बताए ।

गुप्सीपाखा स्थित करिब १८.३७ हेक्टर वनको क्षेत्रफलमा लाप्राकीका लागी ५ सय ७३ घर बन्दैछन् । घरको संरचना तयार भइसकेको र शौचालय निर्माणको काम भइरहेको छ । एनआरएनएको सहयोगमा भइरहेको वस्ती निर्माणको काममा ढिलाइ भएको भन्दै सरोकारवालाले चिन्ता समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्