Wednesday 13th of November 2019

‘टुल्कुले मजस्तै धेरैलाई दासी बनाएको थियो’

गुम्बाको यातनाबाट बाहिर निस्किएको झन्डै २ वर्ष भइसक्दा उनले शोषणमा परेका ती वर्षहरु बिर्सिन सकेकी छैनन् । लामो समय टोलाउँछिन्, टोलाउँदा टोलाउँदै एक्कासि सपनाबाट ब्युँझेझैं झसङ्ग हुन्छिन् ।

काठमाडौँ । उनको संस्कारमा मामाचेली फुपूचेलाबीच बिहेवारी चल्छ । संस्कारले दिएको यही सुविधाले उनीहरूको प्रेम फुलाउन सहयोग गर्‍यो । बाल्यकालमै खेलेका कैयन् ‘दुलाहादुलही’ खेलले प्रेममा उकेरा हाल्यो । घरपरिवार, स्कुल र खेतखोल्सामा समेत सँगसँगै हुने यो जोडी २०६१ मा एसएलसी पास गरेपछि काभ्रेको एक दुर्गम गाउँबाट सँगै काठमाडौं ओर्लिएको हो । प्लस टुको अध्ययन सक्दासम्म उनीहरू सँगसँगै भए ।
किशोरवयले छाड्दै गयो, भविष्यको चिन्ताले सताउन थाल्यो । युवक पढाइसँगै कमाइ गर्ने जिम्मेवारीको भारी बोकेर विदेश हानिए, युवतीले यतै स्नातकमा भर्ना भएर पढाइलाई निरन्तरता दिइन् । उनीहरूबीच युवती पनि विदेशै जाने कि युवक यता आउने भन्नेबारे छलफल चल्दै थियो ।

२०६६ जेठतिर परिस्थिति बदलियो, युवती एकाएक हराइन् । समस्या उति ठूलो होइन, उनको घाँटीमा दाद आएको थियो । त्यसले अनुहारकै सौन्दर्य बिगारिदियो भन्ने चिन्ताले पिरोल्यो । वैशाख–जेठको गर्मीमा पनि बाहिरतिर निस्किँदा सलले घाँटी छोप्न थालिन् । साथमा माइली दिदी थिइन्, जो उनलाई थोरै पनि दुःखी देख्न चाहन्नथिन् । एक दिन माइली दिदीले उनलाई काठमाडौं सरस्वतीनगरस्थित ‘गुरु’ को घर लिएर गइन्, जहाँ केही बिरामी पहिलेदेखि नै उपचार गराइरहेका थिए । बिरामीको बयान, घरको भव्यता र गुरुको सानसौकतले युवती प्रभावित भइन् । गुरुले ‘ओखती’ सुरु गरे । माइली दिदीले त्यसअघि नै एकपटक गुरुबाट उपचार गराइसकेकी रहिछन् । त्यसैले आफ्नो सामान्य समस्या चाँडै हल हुन्छ भन्नेमा उनी आश्वस्त थिइन् । सबैभन्दा धेरै माया गर्ने दिदी सँगै भएपछि गुरुमाथि पनि उनको विश्वासको धरहरा चुलिन थाल्यो ।

एक दिन ‘गुरु’ रिम्पोछे छोल्टिम दोर्जे योन्तान योञ्जन टुल्कु लामाले अप्रत्याशित घोषणा गरे, उपचारका लागि उनी गुरुसँगै बस्नुपर्ने भयो । १५ वर्षअघिसम्म ट्रेकिङ व्यवसाय गरेका सिन्धुलीका ज्ञानबहादुर लामा एकाएक गुरु रिम्पोछेका ‘बाह्रौं अवतार’ हुँ भन्दै धन्दा चलाउँथे । युवती सरस्वतीनगरको त्यो घरबाट गुरुले फर्पिङमा बनाएको पेमा तासी छुलिङ घोम्बो कासुङ गुम्बामा सर्ने भइन् । जुन गुम्बा टुल्कुले भक्तजनलाई त्रासमा पारेर लिएको दान, भेटी र चन्दाको रकमबाट बनाएका थिए । २०६६ कै कुनै महिना जब उनी गुम्बामा पुगिन्, जिन्दगीको ‘कालरात्रि’ सुरु भयो र निरन्तर ९ वर्षसम्म चल्यो । ‘जब मेरो वरिपरि गुरु हुन्थ्यो, म अरू केही पनि देख्न सक्दिनथेँ, उसले जे चाह्यो, त्यही नै हुन्थ्यो,’ उनको अनुहारमा पीडा र आक्रोश सँगै पोखियो । युवतीका अनुसार गुरुले उनीबाट सबैभन्दा धेरै चाहने ‘यौन’ नै थियो । जब उसले चाहन्थ्यो, उही अँध्यारो कोठाभित्र छिराउँथ्यो, अन्धाधुन्ध के–के गर्थ्यो, गर्थ्यो । ‘म सम्झिनै चाहन्नँ,’ उनी भन्छिन् ।

गुम्बाको यातनाबाट बाहिर निस्किएको झन्डै २ वर्ष भइसक्दा उनले शोषणमा परेका ती वर्षहरू बिर्सिन सकेकी छैनन् । त्यसैले लामो समय टोलाउँछिन्, टोलाउँदा टोलाउँदै एक्कासि सपनाबाट ब्युँझेझैं झसङ्ग हुन्छिन् ।

उनले जिन्दगीको सबैभन्दा उर्वर हुनुपर्ने दशक बन्धक भएर बिताएकी थिइन् । त्यो बेला टुल्कुले उनलाई न गुम्बाबाट बाहिर निस्किन दियो, न त कसैसँग लामो कुरा गर्न नै । अरू पुरुषसँग बोल्न त झन् उनलाई शतप्रतिशत बन्देज थियो ।

के त्यो अवधिमा उनलाई परिवारको यादै आएन होला ? कि परिवारले पनि उनलाई सम्झिएन ? ‘अहँ, त्यसो हैन,’ उनले थपिन्, ‘गुम्बाभन्दा अलि तलको खोल्सो कटेर गए तेरा दिदी र विदेशमा भएको ब्वाइफ्रेन्ड पनि मर्छन् भनेको थियो ।’ उनले त्यही खोल्सानिर गएर कहिले कसो बाआमा र दिदी भाइलाई भेट्थिन्, सन्चो सुबिस्ताको कुरा गर्थिन् । वर्षौंदेखिको उकुसमुकुस छिनछिनको भेटले के मेटिन्थ्यो र । त्यसमाथि भेटभरि टुल्कु सँगै हुन्थ्यो । खोल्साको ‘जक्सन’ बाट वारिपारि हुनेबित्तिकै छोरीकै पिरलोले हुरुक्कै हुन्थे बाआमा । ‘हामीले धेरैपटक गुम्बाको गेटमै गएर छोरी भेट्न देऊ भन्दै रोइकराइ गर्‍यौं तर भित्र छिर्नै पाएनौं, आफ्नी छोरी कस्तो अवस्थामा छे भन्ने चिन्ता धेरै हुन्छ नि,’ कान्तिपुरसँग फोन सम्पर्कमा आएकी उनकी आमाले भनिन्, ‘अहिले पनि गाउँमा के–के भनेर सुनाइरहन्छन्, हामीलाई नराम्रो लाग्छ ।’ उनले गुम्बाको त्यो बन्धनबाट उम्किनै नखोजेकी भने होइनन् तर उनको प्रयत्नभन्दा धेरै टुल्कुको धम्कीले काम गर्थ्यो । यो विषयमा बाहिर बोलेपछि अनिष्ट हुने, घरका सबैको मृत्यु हुने टुल्कुको त्रासका कारण उनी विश्वास गर्नुपर्ने अवस्थामा पुगिसकेकी थिइन् । टुल्कुले त उनलाई आफ्नो पूर्वजन्मकी पत्नी भएको र यो जन्ममा पनि
अर्धाङ्गिनी नै हुनुपर्ने भन्दै आएको थियो । कतिपय मान्छेसँग टुल्कुले उनको परिचय यही हिसाबले गराइदिन्थ्यो । ‘मजस्ता उसका धेरै अर्धाङ्गिनी थिए, उसले मलाई जस्तै अरूलाई पनि भन्थ्यो,’ उनले सुनाइन् । शरीर त टुल्कुकै बन्धनमा परिसकेको थियो, उसले जे–जे भन्थ्यो, उनी त्यही नै गर्थिन् । दैनिक स्याहारसुसारदेखि उसलाई नुहाइदिने काम पनि उनैको जिम्मा थियो । ‘मलाई त त्यसले दासी नै बनाएको थियो,’ उनी बिथोलिइन् ।

उनका परिवारका सदस्यहरूले बताएअनुसार यी युवती सानैदेखि धर्मकर्ममा विश्वास गर्दिनथिन् । उनलाई भगवान् भरोसामा पटक्कै रुचि थिएन तर जब परिबन्दमा परिन्, त्यहाँबाट उम्किनै सकिनन् । उनको एक मात्रै संसार ‘टुल्कु’ नै बनिसकेको थियो । कहिलेकाहीँ संयोगहरूले पनि काम गर्दा रहेछन् । ‘एक रात टुल्कु गुम्बाबाहिर निस्किएको थियो । बिर्सिएरै होला, उसको एउटा मोबाइल उनलाई राखिएको कोठामै छुटेछ । मलाई जेठी दिदीको मोबाइल नम्बर याद रहेछ, फोन गरेँ र सबै कुरा भनेँ,’ उनले यति मात्रै बताउन सकिन् । त्यो मिति कहिले थियो, ठ्याक्कै सम्झिन भने सकिनन् । त्यही रात हो, जतिखेर उनले टुल्कुको कर्तुतबारे पहिलो पटक अरू कोहीसँग बताएकी थिइन् । भोलिपल्ट बिहान ५ बजे नै उनका दिदी, भाइ र अरू केही नातेदारसहित प्रहरी गुम्बामा पुग्यो । उनलाई उद्धार गरेर प्रहरीको महिला सेल कालीमाटी पुर्‍याइयो । प्रहरीले टुल्कुलाई पनि त्यहीँ लग्यो तर टुल्कुले लिएको त्यो लामा अवतार ‘फेक’ हो भन्नेमा उनी विश्वस्त थिइनन् । टुल्कुले पनि उनी आफ्नी श्रीमती भएको बताउँदै अहिलेसम्म कमाएको सबै सम्पत्ति उनका नाममा गरिदिने वाचा प्रहरीलाई नै साक्षी राखेर गरिदिए ।

परिवारका सदस्यहरूले इन्कार गरिरहेका थिए, छोरी आफूहरूसँगै घर गइदिए हुन्थ्यो भन्ने बाआमा चाहन्थे तर गुरु र परिवारका दुई थरी कुराले धरमर–धरमरमा परेकी उनले फेरि गुम्बामै फर्किने निधो गरिन् । त्यसपछि चयनको रात न उनले बिताइन् न परिवारले । उकुसमुकुसका चार महिनापछि उनको परिवारका सदस्य फेरि गुम्बामा पुगे, त्यहाँबाट उनलाई बाहिर निकालेर ल्याए । परिवारको अगुवाइमा प्रहरीमा उजुरी पर्‍यो, छानबिन सुरु गरियो तर उनले आफूमाथि भएको दुर्व्यवहारबारे पटक्कै मुख खोलिनन् । ‘झन्डै तीन महिना प्रहरी र मनोविज्ञहरूले लगातार काउन्सिलि गरेपछि उनी घटनाबारे बोल्न तयार भएकी हुन्,’ त्यतिखेर उक्त घटनाबारे अनुसन्धान गरेका प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्की सम्झिन्छन् । कार्कीका अनुसार पहिले बोल्छु भनेका गुम्बाका धेरै पीडितहरू पछि प्रहरीमा बयान दिनै आएनन् । उनी पनि भन्दै थिइन्, ‘टुल्कुको फन्दामा परेका धेरै अहिले पनि गुम्बामै छन् ।’

यता उनको दैनिकीमा बिस्तारै घाम झुल्किन थाल्यो । घरपरिवार र आफन्तको साथमा हुँदासमेत चौबिसै घण्टा उही टुल्कुलाई मात्रै सम्झिइरहने उनी बिस्तारै परिवर्तन हुन थालिन् । त्यो धङ्धङीबाट बाहिर निस्किएपछि बल्ल उनलाई लाग्यो, ‘९ वर्ष त मैले नारकीय जिन्दगी बिताएकी रहेछु ।’ त्यसपछि जिल्ला अदालत काठमाडौंमा उनको मुद्दा चल्यो । २०७५ भदौ १५ गते न्यायाधीश मुकेश उपाध्यायको फैसलाले उनलाई फेरि खङ्ग्रङग पार्‍यो । उक्त फैसलामा थियो, ‘टुल्कुउपरको जबर्जस्ती करणीतर्फको अभियोग दाबी नपुग्ने भएकाले निज प्रतिवादीले अभियोग मागदाबीबाट सफाइ पाउने ठहर्छ ।’ ‘मलाई अब जिन्दगी सकियो जस्तो लागेको थियो, गरिबलाई कसैले नि न्याय दिँदैन, बाआमालाई टुल्कुका गुन्डाहरूले झन् दुःख दिन्छन् भन्ठानेँ,’ उनले भनिन् । हुन पनि यता कानुनी लडाइँ चलिरहेको थियो, उता टुल्कुले खटाएका मान्छेले उनको गाउँमा वितण्डा मच्चाइसकेका थिए । गाउँमा उनीविरुद्ध नानाथरी हुइयाँ फैलिसकेको थियो । उनका भाइ सम्झिन्छन्, ‘सबैले दिदीलाई नै तथानाम भन्थे ।’

न्यायालयको अन्याय, गाउँलेको दुत्कार र बाबुआमाको निराशाका बीचमा उनी झन् झन् कमजोर बन्दै गइन् तर उनले हार खाइनन्, मुद्दा उच्च अदालत पाटनमा पुग्यो । काठमाडौं अदालतले टुल्कुलाई बलात्कार मुद्दामा निर्दोष साबित गरेको झन्डै एक वर्षपछि उच्च अदालत पाटनले फैसला सुनायो, ‘पीडक टुल्कु लामालाई ७ वर्ष कैद र ३० लाख रुपैयाँ जरिवाना गराउनू ।’ यो खबर सुनेपछि उनी एकाएक उज्यालिइन् । अहिले उनलाई लागेको छ, यो देशमा अझै न्याय मरेको छैन । उनी आफू जन्मेहुर्केको गाउँ नगएको ११ वर्ष पुगिसकेको छ । गुम्बाबाट बाहिर आएपछि पनि दुईवटा दसैं आए गए, अरू चाड पनि आउँछन् जान्छन्, सबैभन्दा ठूलो कुरा त उनलाई आफू हुर्किरहेको गाउँको याद आउँछ, तर मेटिँदैन । ‘गाउँलेले के के भन्लान्, बरु नगएकै जाती,’ उनी दुःखी हुन्छिन् तर निराश छैनन् ।

अहिले उनले जागिर सुरु गरेकी छन् । निकै नजिकका केही आफन्तसँग मात्रै खुलेर बोल्छिन् । उनलाई गुम्बामा बिताएका क्रूर नौ वर्ष मन र मस्तिष्कबाट छिट्टै मेटाउन मन छ । ‘सक्छु कि अब त मेरो साथी पनि फर्किंदै छ,’ उनले भनिन् । उनले संकेत गरेका साथी उनै हुन्, जो १२ वर्षअघि काठमाडौंमा छोडेर विदेश गएका थिए । उनै प्रेमी सम्भवतः यही हिउँदमा फर्किन्छन् । उनका अनुसार यो जोडीले बितेका वर्षको उबडखाबड सबै भुलेर वैवाहिक जीवन सुरु गर्नेछ ।याे समाचार अाजकाे कान्तिपुर दैनिकबाट साभार गरेका हाै ।

प्रतिक्रिया दिनुहोस्