Wednesday 13th of November 2019

विश्वभरिका पोषण अभियन्ता नेपालमा, काठमाडौं घोषणापत्र जारी

काठमाडौँ । पोषण सेवा विस्तार अभियानसम्बन्धी विश्व सम्मेलन बिहीबार काठमाडौँमा सम्पन्न भएको छ । संयुक्त राष्ट्रसंघको पोषण सेवा विस्तार अभियान (सन मुभमेन्ट) सचिवालय र राष्ट्रिय योजना आयोगको संयुक्त आयोजनामा चार दिन अगाडि सो कार्यक्रम सुरु भएको थियो ।

कार्यक्रम समापन गर्दै नेपाल सरकारका तर्फबाट उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले जापान सरकारका प्रतिनिधि, नेपालका लागि जापानी राजदूत मासामिचि साइगोलाई काठमाडौँ घोषणापत्र हस्तान्तरण गरे ।

अभियानसम्बन्धी आगामी विश्व सम्मेलन आगामी हिउँदमा टोकियोमा हुने भएकाले सो घोषणापत्र जापानलाई हस्तान्तरण गरिएको हो ।

समापन समारोहमा बोल्दै उपप्रधानमन्त्री यादवले नेपाल सरकार आफ्ना विभिन्न नीतिनियम तथा कार्यक्रमहरू मार्फत् नेपाली बालबालिकाको पोषण स्तर अभिवृद्धि गर्न प्रतिबद्ध रहेको बताए ।

संविधानले नै स्वास्थ्यलाई मौलिक हक मानेको उल्लेख गर्दै यादवले अन्य देशहरूमा पनि अझ बलियो बहुपक्षीय पोषण योजना हुनुपर्ने औल्याए ।

यसैगरी अर्थमन्त्री डा. युवराज खतिवडाले बालबालिकाको पोषण दिगो विकास लक्ष्यका सबै बुँदासँग प्रत्यक्ष गाँसिएको उल्लेख गर्दै अभियन्ताहरू प्राप्त उपलब्धि नगुमून् भन्ने कुरामा सचेत हुनुपर्ने बताए । उनले थपे, ‘आगामी पुस्ता अझ स्वस्थ र प्रतिभाशाली होस् भन्ने कुरा हामीले सुनिश्चित गर्नुपर्छ ।’

राष्ट्रसङ्घकी सहायक महासचिव तथा पोषण अभियान संयोजक गेर्डा भेनबर्गले सम्मेलनका सहभागीहरूलाई आआफ्ना देशमा फर्किएर अझ सक्रियताका साथ काम गर्न आग्रह गरिन् ।

सम्मेलनमा करिब ७० देशका सरकारी, गैरसरकारी, निजी क्षेत्र तथा नागरिक समाजका एक हजारभन्दा बढी प्रतिनिधि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्