Sunday 8th of December 2019

केसीलाई लिन डडेल्धुरा पुगेको हेलिकप्टर फिर्ता

काठमाडौं । डडेल्धुरामा अनसन बसेका डा. गोविन्द केसीले काठमाडौं आउन अस्वीकार गरेपछि उनलाई लिन गएको नेपाली सेनाको हेलिकप्टर फिर्ता भएको छ ।

प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले केसीलाई काठमाडौं पठाउन सोमबार विहान गृह मन्त्रालयसँग हेलिकप्टर माग गरेपछि नेपाली सेनाको हेलिकप्टर डडेल्धुरा पुगेको थियो ।

तर डा. केसीले काठमाडौं जान अस्वीकार गरेपछि फेरि मन्त्रालयलाई अनुरोध गरेर हेलिकप्टर फिर्ता गराएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

‘डा. केसीको स्वास्थ्य अवस्था नाजुग भएको र मेडिकल सुपरिटेण्डेन्टले पनि सुविधासम्पन्न अस्पतालमा लैजानुपर्ने भनिसकेपछि हेलिकप्टर मगाएको हो’ उनले भने ‘तर उहाँले काठमाडौं जान मान्नुभएन, सहयोगीहरुले पनि उहाँको इच्छाविपरीत केही गर्न नसक्ने बताएपछि किन कन्फ्रन्टेसन निम्त्याउने भनेर हेलिकप्टर फिर्ता पठाइएको छ ।’

केसीलाई लिन सेनाको हेलिकप्टर पुगेपछि सोमबार विहान डडेल्धुरामा डा. केसीका समर्थक र प्रहरीबीच तनाव अवस्था सिर्जना भएको थियो । लगत्तै प्रमुख जिल्ला अधिकारी पौडेलले डा. केसीका समर्थक तथा नागरिक समाजसँग सर्वपक्षीय बैठक राखेका थिए ।

बैठकमा डा. केसीका समर्थकले उनको सहमतिविपरीत कुनै निर्णय गर्न नसक्ने बताएका थिए । डाक्टर केसीले माग पूरा गर्नासाथ अनशन तोड्छु भन्दै अडान राखेपछि हेलिकप्टर फिर्ता भएको हो ।

‘विवाद सुरु भएपछि मैले तत्काल सर्वपक्षीय बैठक बोलाएर छलफल गरेँ’ प्रजिअ पौडेलले भने ‘बैठकबाट विवाद गरेर जबर्जस्ती लैजानु भन्दा सहमतिकै प्रयास गरौं भन्ने राय आयो, त्यसैले पठाउन सकिएन ।’ डा केसीलाई उपचार हुन सक्ने ठाउँ लैजानका लागि फेरि सर्वपक्षीय छलफल गर्ने पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्