Sunday 8th of December 2019

सभामुख बनाउने भएमात्र राजीनामा दिन्छु : उपसभामुख शिवमाया

काठमाडौं । उपसभामुख डा. शिवमाया तुम्बाहम्फेले नयाँ सभामुख चयनका लागि निकास दिन आफू तयार रहेको बताएकी छन् । तर सभामुख पद आफूले पाउनुपर्ने उनको शर्त छ ।

संसद सचिवालयकै एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि सभामुख कृष्णवहादुर महराले राजीनामा दिएका थिए । अब संसद अधिवेशन आह्वान गर्ने समय हुन लाग्यो तर नयाँ सभामुख चयनको प्रक्रिया अगाडि बढ्न सकेको छैन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मंसिर १४ को उपचुनावलगत्तै सभामुख चयन प्रक्रिया अगाडि बढाउन चाहेको छ ।

तर नेकपाले संवैधािनक व्यवस्थाका कारण अब सभामुख र उपसभामुखमध्ये एउटा मात्र पद लिनसक्नेछ । उसले सभामुख पद लिन चाहेको छ । यसका लागि उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउनुपर्छ ।

‘सभामुख चलाउनका लागि मसँग कुनै योग्यताको कमी छ र ? मलाई बाहिर राखेर अरु सभामुख बनाउने कुरा सायद आउने छैन ।’
उपसभामुख तुम्बाहम्फेले पनि सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने संवैधानिक व्यवस्थाबारे आफू जानकार रहेको बताइन् । उनले भनिन्–म निकास दिन तयार छु र सभामुख पद नेकपाले छाड्नु हुँदैन भन्नेमा पनि प्रष्ट छु ।’

तर अहिलेसम्म राजीनामा दिनुपर्छ भनेर (पार्टीका नेताहरु) कसैले पनि नभनेको भन्दै उनले भनिन्, ‘निकास दिनुअघि उहाँहरुले सभामुखमा मलाई अघि सार्नुहोला, त्यसपछि राजीनामा दिइहाल्छु नि ।’

उनले आफूलाई सभामुखमा निर्णय गरेपछि मात्र निकास दिने सन्देश पार्टी नेतृत्वलाई समेत पठाइसकेकी छन् । उनले राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली लगायत शीर्ष नेतृत्वलाई आफू सभामुखको पहिलो हकदार भएकाले बचन नदिएसम्म निकास नदिने बताएएकी पछन् । उपसभामुख पद मन्त्री जस्तो हट् भन्दैमा हट्ने पद नभएको समेत उनले स्मरण गराएकी छन् ।

सत्तारुढ नेकपाले भने सभामुखमा कसलाई अघि सार्ने भन्ने निर्णय गरेको छैन । नेकपा महासचिव विष्णु पौडेलले पनि सभामुखबारे अहिलेसम्म पार्टीमा छलफल नै नभएको जानकारी दिए ।

सभामुखका लागि नेकपाबाट तुम्बाहम्फेसँगै देव गुरुङ, अग्नि सापकोटा, लेखराज भट्टलगायतका नेताले दाबी गरेका छन् । नेकपाभित्रको पूर्वमाओवादीहरुले महरा माओवादीकै कोटामा सभामुख बनेकाले अहिले पनि त्यो पद यो समूहबाटै हुनुपर्ने तर्क समेत अघि सारेका छन् ।

प्रतिक्रिया दिनुहोस्