Sunday 8th of December 2019

‘भारतले सुगौली सन्धि र कुमाउ–गढवालमध्ये एउटा रोजोस्’

टनकपुर र महाकालीको सन्धिको विषयमा विवाद उब्जिएपछि २०५५ सालमा पद्मरत्न तुलाधरको संयोजकत्वमा समिति गठन भएको थियो । त्यो समितिमा म पनि थिएँ ।

समितिमा बस्नुभन्दा अगाडिदेखि नै नेपालको सिमानाको विषयलाई नजिकबाट अध्ययन गरेको हुँ । म नेकपा (माले) मा हुँदा मार्च लिएर पश्चिमी सिमाना गयौं । हालका पर्यटनमन्त्री योगेश भट्टराईको टीम हामीभन्दा चार दिनपछि पुगेका हुन् । ‘महाकाली साझा हो, पानी आधा–आधा हो’ भन्ने नारा खुब लगाइयो ।

जन्मस्थल महाकाली नै भएकाले पनि मलाई त्यस विषयमा अलि बढी जानकारी छ ।

नेपालको पानी निःशुल्क प्रयोग गर्ने नियत र तिब्बतसम्म पुग्ने सबैभन्दा छोटो र सजिलो बाटो भएकाले भारतले आँखा गाडेको हुनसक्छ । भारतमात्रै होइन, रणनीतिक हिसाबले चीनका लागि पनि सजिलो बाटो हो । भारतलाई मानसरोवर जाने बाटो पनि त्यहीँ पर्छ । उसले पर्यटकीय फाइदा पनि हेरेको होला ।

सन् १९६१ मा तिब्बत जान सजिलो हुन्छ भनेर चीनले कालापानीमा अस्थायी फौज राख्यो । यो कुरा त्यतिखेर परराष्ट्रमन्त्री ऋषिकेश शाह र पश्चिम कमाण्ड क्षेत्रका जर्नेलले पनि राजा महेन्द्रलाई खबर गरेका रहेछन् ।

तर राजाले ‘अस्थायी रुपमा बसे बसून् न त’ भनेका रहेछन् । भन्न त राजा महेन्द्रलाई राष्ट्रवादी भन्छन् । तर, राजाले पनि वास्ता नगरेकाले भारतीयहरूले त्यहाँ बस्ने ठाउँ पाएका हुन् । गल्ती त्यहीँबाट शुरु भएको हो ।

पछि नेताहरूले पनि भारतसँग कति झगडा गरिराख्ने भनेर छोडिदिए । मनमोहन अधिकारीले प्रधानमन्त्रीको रुपमा भारत भ्रमणका बेलामा कालापानीको कुरा उठाएका थिए । सुशील कोइरालाले चाहिँ नेपालभित्र यो कुरा उठाए ।

म जिल्ला विकास समिति सभापति भएका बेला योगी नरहरिनाथसँग यो कुरा सोधेको थिएँ । योगी नरहरिको जवाफ थियो, ‘मैले त छाताको वजन थाम्न सक्नेले मात्रै छाता ओढ्नुपर्छ भनेर राजालाई भनेको थिएँ ।

प्रतिक्रिया दिनुहोस्