Friday 6th of December 2019

ओलीको गृहनगर दमकमा २५ तले ‘भ्यु–टावर’ निर्माण सुरु

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा २५ तले ‘भ्यु–टावर’ निर्माण सुरु भएको छ । संघीय सरकारअन्तर्गतको सघन सहरी विकास तथा भवन आयोजना कार्यालयले १ अर्ब ५४ करोड १४ लाख ३९ हजार १ सय ६४ रुपैयाँमा ठेक्का लगाएर दमक नगरपालिका–३ दापगाछीमा टावर निर्माण अघि बढाएको हो । ठेक्का चीनको जेटसीजीआईईसी र नेपालको आशिष, ओम साइराम जेभी ललितपुरले संयुक्त रूपमा पाएका छन् ।

०७६ असार २७ मा भएको ठेक्का सम्झौताअनुसार ०७८ पुस २७ मा निर्माण सक्नुपर्ने छ । सरकारले उच्च प्राथमिकतामा राखेको यस आयोजनामा संघीय सरकारको सहरी विकास मन्त्रालयको मात्र लगानी रहने आयोजनाकार्यालय झापाका निमित्त प्रमुख विनोद सिंहले बताए ।

भ्यु–टावरका लागि पाँच बिघा जमिन छुट्याइएको छ । स्थानीयले १० धुरदेखि एक बिघासम्म जग्गा दमक नगरपालिकालाई निःशुल्क उपलब्ध गराएका हुन् । टावरमा १८ तला (७२ मिटर) स्थायी संरचना र ७ तला (२८ मिटर) स्टिलको संरचना हुने साइट इन्जिनियर भूपेन्द्र यादवले जनाए । प्रत्येक तला ४ मिटर उचाइको हुनेछ । टावरमा अन्डरग्राउन्ड पार्किङ, व्यावसायिक पसल, सेमिनार हल, कमन हल, प्रदर्शनी हल, सिनेमा हल र कर्पोरेट कार्यालयहरू रहनेछन् । अन्डरग्राउन्ड पार्किङमा २ सय ४० सवारी साधन राख्न मिल्नेछ । १० कट्ठामा बन्ने टावर परिसरमा बगैंचा, पोखरी, फलैंचा, बालउद्यान र ४ सय मानिस अट्ने खुला स्टेजलगायत बनाइने इन्जिनियर यादवले बताए ।

ओली अघिल्लोपटक प्रधानमन्त्री हुँदा टावर निर्माणको निर्णय गरिएको थियो । निर्णयलगत्तै स्थानीयले निःशुल्क जमिन उपलब्ध गराएपछि प्रधानमन्त्रीले ०७३ जेठ २८ गते शिलान्यास गरेका थिए । ठेक्का संयुक्त भए पनि अहिले ओम साइराम जेभीले मात्र काम गरिरहेको छ । ‘अहिले जगको काम भइरहेको छ,’ आयोजनाका निमित्त प्रमुख सिंहले भने, ‘ठूलो संरचना भएकाले जग बलियो बनाउन ‘पाइल’ प्रणालीबाट काम गरिरहेका छौं ।’ हाल चार मेसिन र दैनिक करिब ३ सय श्रमिक निर्माणमा खटिइरहेको उनले जानकारी दिए । भ्यु–टावर निर्माण सुरु भए पनि अधिकांश नगरवासी टावरको सट्टा दमकमा अरू नै आयोजना आवश्यक रहेको बताउँछन् ।

समाजवादी पार्टी प्रदेश १ अध्यक्षसमेत रहेका स्थानीय प्रवीन चाम्लिङले दमकमा भ्यु–टावर आवश्यक नभएको तर्क गरे । भ्यु–टावर निर्माणबारे नगरवासीको फरक सुझाव सम्बन्धित निकायले नसुनेको उनको गुनासो छ । ‘पछिल्लो समय यसबारे हामीसँग औपचारिक छलफल भएको छैन । दुई वर्षअघि नगरपालिकाले गरेको छलफलमा मैले भ्यु–टावरको सट्टा अत्याधुनिक सरकारी अस्पताल बनाउन सुझाव दिएको थिएँ,’ उनले भने ।

चाम्लिङले दमकको समग्र विकासमा टावरभन्दा अरू नै विषय प्राथमिकतामा पर्नुपर्ने बताए । ‘यति ठूलो बजेट शिक्षा, स्वास्थ्य र कृषिमा लगानी गर्न सकेको भए दमकलाई विशेष बनाउन सकिन्थ्यो,’ उनले भने, ‘तर अनुत्पादक क्षेत्रमा लगानी गरिँदै छ ।’ दमकलाई हेर्न लायक बनाइसकेपछि मात्र भ्यु–टावर बनाउनुपर्ने धारणा राख्दै उनले प्रश्न गरे, ‘टावर चढेर पर्यटकले कहाँ हेर्ने ? के हेर्ने ?’

स्थानीय युवा पर्शुराम रिजालले पनि भ्यु–टावरको सट्टा दमकमा सुविधासम्पन्न अस्पतालकै आवश्यकता औंल्याए । ‘हामी बिरामी हुँदा धरान वा विराटनगर कुद्नुपर्छ,’ उनले भने, ‘यही बजेटले अत्याधुनिक अस्पताल बनाउन सकिन्थ्यो ।’ सरकारले दमकको प्राथमिकताभन्दा बाहिरको आयोजनामा ठूलो धनराशि खर्च गरिरहेको उनले टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्