Tuesday 31st of March 2020

बोलिभियाका राष्ट्रपतिले लिए मेक्सिकोमा शरण, महिला सांसदले घोषणा गरिन् आफूलाई राष्ट्रपति

दक्षिण अमेरिकी मुलुक बोलिभिया पछिल्ला केही दिनयता अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको समाचार शीर्षक बनिरहेको छ। पेरू, ब्राजिल, चिली, अर्जेन्टिना र पाराग्वेले घेरिएको यो भूपरिवेष्ठित मुलुकमा पछिल्ला केही सातादेखि राजनीतिक उथलपुथल भइरहेको छ। गत अक्टोबर २० मा भएको राष्ट्रपतिको निर्वाचनमा धाँधली भएको भन्दै राजधानी ला पेजलगायत मुख्य सहरमा दिनहुँ प्रदर्शन र विरोध भइरहेका छन्।

यिनै प्रदर्शन र विरोधकाबीच राष्ट्रपति इभो मोरालेज राजीनामा दिएर हजारौं माइल टाढाको मेक्सिकोमा आइपुगेका छन्।

सन् २००६ देखि लगातार बोलिभियाका राष्ट्रपति रहेका मोरालेज आफूमाथि कू भएको भन्दै शरण खोज्न मेक्सिको आइपुगेका हुन्।

६० वर्षीय वामपन्थी नेता मोरालेजले मागेको शरण मेक्सिकोले स्वीकारेको छ। उनी मंगलबार मेक्सिकन जेटबाट राजधानी मेक्सिको सिटी‍ ओर्लिएका थिए। विमानस्थलमा संवाददाताहरूसँग कुरा गर्दै उनले आफ्नो ज्यान जोखिममा भएकाले आफू मेक्सिको आएको बताए।

‘म बाँचुञ्जेल राजनीतिमा हुनेछु र बाँचुञ्जेल यो लडाइँ जारी रहनेछ,’ मोरालेजले भने, ‘संसारका हरेक मानिसलाई भेदभाव र अपमानबाट मुक्त हुने अधिकार छ।’

मोरालेजलाई सैनिक हेलिकप्टरमा राखेर गोप्य स्थानमा लगिएको छ। सुरक्षाका कारण उनी कहाँ छन् भन्ने खुलाउन नमिल्ने मेक्सिकोले बताएको छ।

मेक्सिको आउनुअघि मोरालेज र उपराष्ट्रपति अल्भारो ग्रासियाले आइतबार राजीनामा दिएका थिए।

अपमानजनक तरिकाले बहिर्गमन भएका राष्ट्रपति मोरालेज कुनै बेला बोलिभियाका लोकप्रिय नेता थिए।

पश्चिम बोलिभियाको एक विकट गाउँमा जन्मिएका मोरालेज आयमारा आदिवासी हुन्। कोका फार्ममा काम गर्दा उनी ट्रेड युनियन नेता थिए। सन् १९९८ मा उनले मुभमेन्ट फर सोसियालिज्म नामको कम्युनिष्ट पार्टी गठन गरे।

पार्टी बनाएको आठ वर्षमै सन् २००५ मा उनको दलले संसदमा बहुमत ल्यायो। मोरालेज राष्ट्रपति चुनिए।

२००६ मा पहिलो पटक राष्ट्रपति हुँदा बोलिभियाको अर्थतन्त्र उकासेका थिए।

उनी त्यो बेलाका दक्षिण अमेरिकी नेताहरूमा भेनेजुयलाका ह्युगो चाभेजजस्तै लोकप्रिय थिए। कम्युनिष्ट भएकाले उनले भेनेजुयला, क्युबालगायत देशसँग राम्रो सम्बन्ध बनाएका थिए।

उनैको नेतृत्वको सन् २००९मा संविधान संशोधन गरेर दुई कार्यकालमात्र राष्ट्रपति हुन पाउने व्यवस्था गरिएको थियो। संविधान संशोधन गर्दा उनले आफ्ना हकमा भने पहिलो कार्यकाल गणना नहुने बनाएका थिए अर्थात् दुई कार्यकालको सीमा संविधान लागूभएपछि मात्र हुने भयो।

त्यही अनुसार उनी सन् २०१५ मा भएको राष्ट्रपतीय चुनावमा पनि उठे। त्यसलाई उनले संविधान लागू भएपछिको आफ्नो दोस्रो कार्यकालका रूपमा अर्थ्याए।

एक दशकसम्म शासन गरिसकेका मोरालेजलाई सन् २०१६ मा सत्ता नछोड्ने लोभ पलायो। उनले आफैंले बनाएको दुई कार्यकालको संवैधानिक व्यवस्था हटाउन जनमत संग्रह गरे। जनमत संग्रहमा दुई कार्यकालको व्यवस्था कायम हुनु पर्ने पक्षमा बहुमत आयो।

जनमत संग्रहमा हारेपछि मोरालेजले सर्वोच्च अदालतको ढोका ढक्ढक्याए। सन २०१७ को नोभेम्बरमा सर्वोच्चले उनको रिटमा फैसला दियो।

दुई कार्यकालसम्म शासन चलाउँदा मोरालेजले न्यायपालिकामा पनि आफ्नो प्रभाव विस्तार गरिसकेका थिए। सर्वोच्चले उनका पक्षमा फैसला गर्‍यो। अर्को कार्यकाल मोरालेजलाई उम्मेद्वार हुन नदिए उनको मानव अधिकारको हनन हुने जिकिर गर्‍यो। त्यतिमात्र होइन अमेरिकी साम्राज्यवाद र प्रभावमा जनमत संग्रहको नतिजा आएको भन्दै सबै सार्वजनिक पदको कार्यकालको सीमा पनि सर्वोच्चले हटाइदियो।

सर्वोच्चबाट आफूअनुकूल फैसला गराए मोरालेज गत महिना भएको चुनावमा फेरि उम्मेदवार बने।

बोलिभियाको संविधानअनुसार राष्ट्रपतीय चुनाव पहिलो चरणमा जित्न उम्मेदवारले कि ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ नभए दोस्रो स्थानमा रहेको प्रतिष्पर्धीभन्दा १० प्रतिशत बिन्दु बढी भोट ल्याउनुपर्छ।

गत अक्टोबरमा भएको चुनावमा मोरालेजले विपक्षी उम्मेदवार कार्लोस मेसाभन्दा मोरालेज झिनो मतले अघि हुँदा निर्वाचन आयोगले एकैचोटी मतगणना स्थगित गर्‍यो।

मतगणना रोकिएको एकदिनपछि एक्कासी मोरालेजलाई १० प्रतिशत बिन्दुभन्दा बढी अग्रता भएकाले विजयी घोषित गर्‍यो।

दोस्रो चरणको निर्वाचन भए प्रतिष्पर्धी एकीकृत भएर आफू हार्ने भएकाले मोरालेजले धाँधली गरेको आरोप विपक्षीले लगाए। त्यसपछि देशैभरि प्रदर्शन हुन थाल्यो।

संयुक्त राज्य अमेरिका, क्यानडा, ब्राजिललगायतका देश सदस्य रहेको अर्गनाइजेसन अफ अमेरिकन स्टेट्स (ओएएस)ले चुनावको छानबिन गर्‍यो। छानबिनमा मोरालेजले धाँधली गरेको देखियो।

ओएएसको मोरालेजले फेरि चुनाव गर्ने प्रस्ताव गरे। तर विपक्षी उनले फेरि पनि धाँधली गर्ने सम्भावना भएको भन्दै प्रस्ताव अस्वीकार गरे। प्रदर्शन जारी राखे।

विस्तारै प्रहरीले प्रदर्शनकारीविरूद्ध परिचालित हुन अस्वीकार गर्‍यो बरू उनीहरूकै पक्षमा उभियो। मोरालेजका उपराष्ट्रपति र सभामुखले राजीनामा दिए।

त्यसपछि आइतबार प्रधान सेनापतिले सार्वजनिक रूपमा मोरालेजले राजीनामा दिनु उपयुक्त हुने टिप्पणी गरे।

सबैतिरबाट आफू एक्लिएपछि मोरालेजले बाध्य भएर राजीनामा दिए। तर उनले यसलाई कूको संज्ञा दिए।

मोरालेज शरण माग्दै मेक्सिको पुगेपछि माथिल्लो सदनकी सांसद जिनाइन एनेजले आफूलाई राष्ट्रपति घोषणा गरेकी छन्।

सिनेटकी उपप्रमुख एनेजले राष्ट्रपति, उपराष्ट्रपति र सभामुख नहुँदा आफू संविधानअनुसार स्वत: अन्तरिम राष्ट्रपति हुने तर्क गरेकी छन्।

संसदमा उनले आफूलाई राष्ट्रपति घोषणा गर्दा मोरालेजको मुभमेन्ट फर सोसियालिज्म पार्टीका सांसदले बैठक बहिष्कार गरेका थिए।

प्रतिक्रिया दिनुहोस्