Monday 20th of January 2020

२२ स्थानका मुख्य सडकका सवारी आवागमन प्रभावित हुँदै

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) लाई मध्यनजर गर्दै २२ स्थानका मुख्य सडकमा शनिबार सवारीसाधन नचलाउन अनुरोध गरेको छ । शनिबार आज बिहान ७ बजे देखि ११ सम्म हुने म्याराथन दौडका लागि अत्यावश्यक बाहेकका सवारी नचलाउन र वैकल्पिक सडक प्रयोग गर्न महाशाखाले अनुरोध गरेको हो ।

म्याराथन दौड शनिबार आज बिहान ७ बजे दशरथ रङ्गशालाबाट शुरु भई टेकु, कालिमाटी, कलङ्की, बल्खु, सातदोबाटो, कोटेश्वर गठ्ठाघर, सल्लाघारी, सूर्यविनायक हुँदै पुनःफर्किएर सल्लाघारीबाट कोटेश्वर हुँदै नयाँबानेश्वर, माइतीघर, सिंहदरबार भद्रकाली वीरअस्पताल, जमल, लैनचौर, दरबारमार्ग, उत्तरढोका, नागपोखरी, दक्षिणढोका, घण्टाघर, भद्रकाली हुँदै दशरथ रङ्गशालामा पुगेर समापन हुनेछ ।

यस्तै महाशाखाले शनिबार आज बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म कलङ्कीबाट कोटेश्वर हुँदै सूर्यविनायक जाने सडकखण्डमा साइकल दौड आयोजना हुने भएकाले कलङ्की कोटेश्वरमा सर्भिस लेन प्रयोग गर्न र कोटेश्वर सूर्यविनायक खण्डको वैकल्पिक मार्ग प्रयोग गर्न सडक प्रयोगकर्तालाई अनुरोध गरेको छ ।

कलङ्कीदेखि कोटेश्वरसम्मको सडकमा सर्भिस लेन प्रयोग गर्न र कोटेश्वरबाट गठ्ठाघर, सल्लाघारी हुँदै जगातीतर्फ जाने सडक प्रयोगकर्ताले जडीबुटी, पुरानोथिमि, व्यासी, कमलविनायक, च्यामासिंह हुँदै जगातीको सडक प्रयोग गर्न सुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्