Sunday 19th of January 2020

वामदेवका लागि विधान फेरिँदै, कार्यदिशा ‘जनताको जनवाद’‘ “समाजवाद”

काठमाडौं । प्रचण्डको अध्यक्षतामा सोमबार बसेको सचिवालय बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको विधान संशोधन गर्ने निर्णय भएको सुनाए । अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा बसेको बैठकले विधानका कुन–कुन प्रावधान संशोधन गर्ने निर्णय गर्‍यो ?

विधान संशोधनसम्बन्धी निर्णयबारे सोमबार साँझ प्रवक्ता श्रेष्ठको व्याख्या यस्तो थियो– ‘बैठकले यसभन्दा अगाडि बसेको स्थायी कमिटीको निर्देशनलाई मान्दै पार्टी विधानमा केही संशोधनहरु गरेको छ । त्यो संशोधनका विषयमा स्थायी कमिटीको निर्देशनको अतिरिक्त यसअघि सचिवालय बैठकमा नै भएका कतिपय निर्णयहरुलाई पनि आधार बनाइ संशोधन प्रस्ताव तयार गरिनेछ । यो प्रस्ताव स्थायी कमिटी र आवश्यकताअनुसार केन्द्रीय कमिटीमा पेश गरेपछि कार्यान्वयनमा जानेछ ।’

केन्द्रीय कमिटीको प्रथम बैठकबाट ०७५ साल जेठ ३ गते पारित अन्तरिम विधान– २०७५ दुई वर्ष नपुग्दै किन संशोधन गर्नुपर्‍यो ? विधानको कुन–कुन प्रावधान संशोधन गर्ने निर्णय लियो ? अनलाइनखबरको प्रश्नमा नेकपाका एक शीर्ष नेताले तीनवटा कारणले विधान संशोधन गर्नुपरेको बताए ।

विधानमा सैद्धान्तिक र व्यवहारिक दुबैखाले संशोधन हुने ती नेताले बताए । ‘व्यवहारिकरुपमा हामीले पार्टी केन्द्रमा उपाध्यक्षको आवश्यकता महसुस गर्‍यौं’ उनले भने, ‘यही आवश्यकता पूरा गर्नका लागि विधान संशोधन गर्नुपरेको हो ।’

प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुर जानेबेलामा बसेको सचिवालय बैठकले वामदेव गौतमलाई उपाध्यक्ष बनाउने निर्णय लिएको थियो । तर, वामदेवलाई अहिलेसम्म नेकपाको विधानले चिनेको छैन ।

कार्यदिशामा समेत हेरफेर

सोमबार बसेको नेकपा सचिवालयको बैठकमा दुईघण्टा भन्दा बढी समय जनताको जनवाद र समाजवादबारे बहस भएको थियो । पूर्वमाओवादी नेताहरुले ‘जनताको जनवाद’ लाई न्यूनतम कार्यक्रम मान्ने गरी विधानको प्रस्तावनामा रहेको प्रावधानलाई संशोधन गर्नुपर्ने आवाज उठाएका थिए ।

पूर्वमाओवादी नेतालाई पूर्वमालेका झलनाथ खनाल र वामदेव गौतमले पनि साथ दिएपछि कार्यदिशाबारे विधानको प्रस्तावना संशोधन गर्ने निर्णयमा सचिवालय बैठक पुगेको हो ।

‘समाजवादी कार्यक्रमप्रति हाम्रो जुन बुझाइ छ, त्यो बुझाइको लय मिलाउनका लागि यो संशोधन गर्नुपरेको हो’ पूर्वएमाले खेमाका एक नेताले भने, समाजवाद हाम्रो रणनीतिक लक्ष्य हो, आम कार्यक्रम हो । जनताको जनवाद तात्कालिक कार्यक्रम हो भन्ने हिसाबले जनताको जनवाद र समाजको अन्तरसम्बन्धलाई अलि प्रष्ट पार्न खोजिएको हो ।’

बैठकमा सहभागी नेताका अनुसार अबको चरणको आधारभूत कार्यक्रम समाजवाद हुनेछ । जनताको जनवाद तत्कालिक कार्यक्रम मात्रै हो ।

विगतमा जनवादलाई न्यूनतम कार्यक्रम र समाजवादलाई अधिकतम कार्यक्रम भनिँदै आएकोमा अब जनवादी क्रान्तिको कार्यभार पूरा भइसकेकाले न्यूनतम कार्यक्रम सकिएको नेकपा नेताले बताए । उनले भने, ‘अबको कार्यभार समाजवादको आधार तयार पार्नु हो ।’

प्रतिक्रिया दिनुहोस्