Monday 27th of January 2020

उच्च माध्यमिक तहकाे ब्रिजवाटर विद्यालयस्तरीय फुटबल आइतबारदेखि…

भक्तपुर । उच्च माध्यमिक तहमा अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशिको ब्रिजवाटर कप फुटबल प्रतियोगिता आइतबारदेखि सुरु हुने आयाेजकले आज पत्रकार भेटघाटमा बताएका हुन ।

प्रतियोगिताको विजेता स्कुलले एक लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन्। यस्तै उपविजेताले ५० हजार रुपैयाँ हात पार्ने छ। व्यक्तिगततर्फ उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट खेलाडी, उत्कृष्ट प्रशिक्षक र अनुशासित टिमलाई समेत पुरस्कृत गरिनेछ। प्रत्येक खेलमा एकजनालाई म्यान अफ दी म्याचबाट पुरस्कृत गरिने आयाेजकले बताएका हुन ।

ब्रिजवाटर इन्टरनेसनल कलेजको आयोजनामा हुने उक्त प्रतियोगिता भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२, सानोठिमीको खेल मैदानमा हुनेछ। नकआउटका आधारमा हुने प्रतियोगिता पुस १२ सम्म चल्नेछ।

मध्यपुर युथ एसोसिएसनको मैदानमा हुने प्रतियोगिताबारे जानकारी दिन आयोजक कलेजले शुक्रबार पत्रकार सम्मेलनसमेत मार्फत साे कुरा सार्वजनिक गरेकाे हाे । पत्रकार सम्मेलनमा कलेजका प्राचार्य तेज श्रेष्ठले प्रतियोगितामा काठमाडौं उपत्यकाका ३२ विद्यालयको सहभागिता रहने जानकारी दिए।

प्रतियोगिताका संयोजक एवं अखिल नेपाल फुटबल संघका उपाध्यक्ष उपेन्द्रमान सिंहले यस वर्ष सुरु हुने उक्त प्रतियोगिता प्रत्येक वर्ष गरिने जानकारी दिए। उनले प्रतियोगिता नेपालका फुटबल क्लवहरूलाई उत्कृष्ट खेलाडीहरू छनोट गर्ने दरिलो आधार बन्ने विश्वास व्यक्त गरे।

कलेजका प्राचार्य श्रेष्ठले क्लब फुटबल सँगसँगै राष्ट्रिय फुटबलमा योगदान पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको बताए। ‘क्लब फुटबल सँगसँगै राष्ट्रिय फुटबलका लागि योगदान गर्न सक्ने खेलाडी उत्पादनमा सहयोग पुर्‍याउन प्रतियोगिता गर्न लागेका हौं’, प्रेस विज्ञप्तिमा उल्लेख गरिएकाे छ, ‘यसले विद्यार्थीबीच आपसी भाइचारा तथा मित्रता विकास हुनेछ भने कलेजहरूबीच एकापसमा संस्थागत सम्बन्ध विस्तार हुने विश्वास समेत व्यक्त्त गरिएकाे छ।’

प्रतिक्रिया दिनुहोस्