Friday 17th of January 2020

उपचारकाे खर्च धान्न नसक्दा सुत्केरी महिला अस्पतालमै बन्दी !

विराटनगर । सप्तरीको तिलाठी कोइलाडी गाँउपालिका तोपाकी ललितादेवी मण्डलले उपचार रकम तिर्न नसक्दा विराटनगरस्थित विराटनगर अस्पतालमा बन्दक बनेकी छिन् ।

एक महिना अघि विराटनगरस्थित जनरल हस्पिटल एन्ड ट्रमा केयर सेन्टरमा जुम्ल्याहा छोरी जन्माएपछि ललितालाई विराटनगर अस्पताल पु–याइएको थियो।

उनका परिवारले ट्रमा सेन्टरमा सुत्केरी गराउनेदेखि छोरीको उपचार खर्चसमेत गरेर १ लाख ७४ हजार रुपैयाँ बुझाएपनि अस्पतालले अझै ३ लाख ५० हजार रुपैयाँ बाँकी रकम तिरेपछि मात्रै डिस्चार्ज गरिदिने भन्दै रोकेको छ ।

घरको आर्थिक अवस्था कमजोर भएकी ललितादेवीलाई अहिले अस्पतालबाट डिस्चार्ज गर्ने खर्च जोहो गर्न उनका श्रीमान गोपी मण्डल गाँउमा भिख माग्न बाध्य बनेका छन् ।

यस अघि दुई लाख भन्दा बढी ऋण खोजेर अस्पतालमा बुझाएपनि बाँकी रकम जोहो गर्न नसकेको उनी बताउँछन् ।

यता विराटनगर अस्पतालका बरिष्ठ लेखा अधिकृत सुवास पोखरेलले भने बिरामीका आफन्तले अस्पतालमा अहिलेसम्म ५ हजार रुपैयाँ धरौटी मात्रै बुझाएको बताएका छन् । अहिले अस्पतालले उपचार बाहेक पनि केही सहयोग गर्नसक्ने तर, उपचार खर्च पूरै मिनाहा गर्न नसकिने बताएको छ ।

अस्पतालले जटिल अवस्थामा आएका बिरामीलाई अहिले सामान्य अवस्थासम्म ल्याइपु-याउँदा पैसाको कारण उपचार नरोकेको तर, खर्च नतिरी डिस्चार्ज गर्न नमिल्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्