Sunday 19th of January 2020

घूसकाण्डमा मुछिएका डिभिजन सिँचाई दोलखाका प्रमुख किर्ते अभियोगमा पुनः पक्राउ

दोलखा । घूस काण्डको मुद्दामा धरौटीमा छुटेका जलस्रोत तथा सिँचाई विकास डिभिजन दोलखाका प्रमुख प्रकाश अधिकारी सरकारी छाप र लेटरप्याड किर्ते गरेको अभियोगमा पुनः पक्राउ परेका छन् ।

१४ लाख नगदसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरी घूस अभियोग लगाउँदै मुद्दा दर्ता गरेकोमा उनलाई विशेष अदालतले धरौटीमा छाडेको थियो । त्यसपछि फरार उनी पुनः पक्राउ परेको प्रहरी नायव उपरीक्षक मानबहादुर राईले बताए ।

चितवन रत्ननगर नगरपालिका ४ घर भई किर्तिपुर नगरपालिका २ बस्दै आएका उनलाई प्रहरी टोलीले काठमाडौंमा पक्राउ गरेको हो । उनलाई शनिबार दोलखा ल्याइएको छ ।

आर्थिक वर्षको अन्त्यमा १४ लाख बोकेर सरकारी गाडीबाट काठमाडौं जाँदै गर्दा उनी बाटैमा पक्राउ परेका थिए । पक्राउपछि आख्तियारको टोलीले छापा मार्दा उनको कार्यकक्षबाट नक्कली छाप र लेटरप्याड तयार गरी किर्ते गरेको कागज फेला परेको थियो ।

अख्तियारले विधि विज्ञान प्रयोगशालामा उक्त छाप र लेटरप्याडहरु पठाएर किर्ते ठहर भएपछि दोलखा प्रहरीलाई प्रतिवेदनसहित पठाएको थियो । त्यसैको आधारमा फरार अधिकारीलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको प्रहरी नायव उपरीक्षक राईले बताए । अधिकारीलाई प्रहरी कार्यालय दोलखाको हिरासतमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्