Friday 17th of January 2020

सुटुक्क हटाइए सैनिक महाविद्यालयका प्रिन्सिपल

काठमाडौं । सैनिक अवासीय महाविद्यालय, सल्लाघारीका प्रिन्सिपल सुरेन्द्र पनेरु जिम्मेवारीबाट हटाइएका छन् । विद्यार्थीमाथि यौनदुर्व्यवहार गरेको आरोप लागेपछि पनेरुलाई एक साताअघि बर्खास्त गरिएको हो । तर, नेपाली सेनाले यो विषयलाई गुपचुप राखेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका सेनानी सुवास थापाले घटनाबारे सुनेको भए पनि बुझ्न नपाएको बताए । उनले भने, ‘अहिलेलाई हटाएको भन्ने सुन्नमा आयो, तर के हो बुझ्न पाएको छैन ।’

सैनिक स्रोतका अनुसार १३ मंसिरमा विद्यालयको मुखपत्र ‘सल्लाघारी’का लागि फोटो खिच्ने क्रममा पनेरुले कक्षा १२ मा पढ्न छात्रामाथि दुर्व्यवहार गरेको आरोप छ । त्यससम्बन्धमा विद्यालय व्यवस्थापन समितिले छानबिन गरिरहेको छ । पीडितले भने हालसम्म घटनाबारे प्रहरीमा लिखित वा मौखिक उजुरी दिएका छैनन् । घटनाबाहिर ल्याउन नदिन दबाब दिइएकाले उजुरी नपरेको स्रोतको दाबी छ ।

जिल्ला प्रहरी कार्यालय, भक्तपुरका प्रमुख एसपी सविन प्रधानले घटनाबारे कुनै जानकारी प्राप्त नभएको बताए ।

साढे दुई वर्षदेखि पि्रन्सिपलका रुपमा कार्यरत पनेरुले भने आफूलाई गलत आरोप लगाइएको बोर्डका सदस्यहरुसँग दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्