Monday 24th of February 2020

नेकपा, दलहरू र संसदले उपयुक्त पात्रलाई सभामुख बनाउन् : सुवास नेम्वाङ [भिडियोसहित]

काठमाडौँ । प्रतिनिधिसभाको हिउँदे अधिवेशन आह्वान भइसकेको छ । कृष्णबहादुर महरा संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि बलात्कार प्रयासको आरोप लागेर सभामुखबाट पदमुक्त भएपछि उक्त पद रिक्त छ । पुस ४ गते बस्ने अधिवेशनको पहिलो बैठक लगत्तै सभामुख चयनको कार्यतालिका अगाडि बढ्ने निश्चित छ। यस्तो अवस्थामा नेपाल कम्युनिस्ट पार्टीले सभामुख पद आफूले लिने र त्यसमा पनि कुन नेतालाई त्यो जिम्मेवारी दिने भन्ने बहस गर्माएको छ।

सभामुखमा नेकपाबाट सुवासचन्द्र नेम्वाङ, अग्नी सापकोटा र डा. शिवमाया तुम्बाहाङ्फेको दाबी छ। पूर्वमाओवादीले उक्त पद आफूहरूले पाउनुपर्ने दाबी गरेर सापकोटालाई अगाडी सारेका छन् भने पूर्वएमालेबाट नेम्वाङ र तुम्बाहाङ्फेको नाम चर्चामा छ। यसै प्रसंगमा सभामुखका प्रमुख दाबेदार मध्येका एक पूर्वसभामुख तथा संविधानसभा अध्यक्ष रहिसकेका नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँगको कुराकानी :

सत्तारुढ नेकपाबाट सभामुखको उम्मेदवार को हुन्छ?
पुस ४ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान भइसकेको छ। स्वाभाविक रूपमा यो अधिवेशनको प्राथमिक एजेन्डा सभामुख निर्वाचन हुन्छ। यो सन्दर्भमा पार्टीले पनि ध्यान पुर्‍याइरहेको होला। औपचारिक रूपमा हामीबीचमा छलफल भने भएको छैन।

पार्टी एकता बेला राजकीय पदमध्ये सभामुख पूर्वमाओवादीलाई परेको थियो। अहिले पनि पूर्वमाओवादीले सभामुखमा दाबी गरिरहेको छ भने पूर्वएमालेको पनि दाबी कायमै छ। कत्तिको सजिलो छ उम्मेदवार छान्न?

हिजो पार्टी एकता नहुँदासम्मको अवस्थामा अथवा पार्टीको एकीकरण गरेर एमालेमा को को कामरेडहरू क्रियाशील हुनुहुन्थ्यो र माओवादीमा को को हुनुहुन्थ्यो भन्नु स्वाभाविक थियो। हामी सबैले त्यही गर्‍यौँ। हामी सबैले अब पार्टी एकता टुंगिइसकेको भनेर बारम्बार भनिरहेका छौँ। नेकपा एमाले र नेकपा माओवादी केन्द्र हिजोको गर्विलो इतिहास हो। नेकपा अहिलेको यथार्थ हो। त्यसैले अहिले कुनै पनि ठाउँमा कसैलाई पनि जिम्मेवारी दिएर पठाउँदा नेकपाले पठाउँछ र नेकपाकै सन्दर्भमा निर्णय हुन्छ।

नेकपाको भातृ संगठनमा पूर्वएमाले र पूर्वमाओवादीबीच प्रतिशतका आधारमा बाडफाँट भइरहेको छ भने मन्त्रिपरिषद पुनर्गठन गर्दा पनि त्यो फर्मुला कायम थियो, यसले तपाईंको तर्कलाई काट्दैन र?

पार्टी एकीकरण गरिरहँदा त्यो फर्मुला स्वाभाविक थियो। पार्टी एकीकरण गर्दाको आधार त्यहीँ नै हो। एकीकरण भइसकेपछि अब पनि नेकपाले एमाले यति र माओवादी यति भनिरहने हो भने त खोज्दै जाँदा धेरै तिरबाट मिसिएका माले मार्क्सवादी, पुष्पलाल मशाल के समूह भेटिएलान् नि ! त्यसै गर्ने हो भने हामीले एकीकृत पार्टी भयौँ भनेर गर्व गर्नुको अर्थ के रह्यो र? मसँग कसैको सहमती हुन पनि सक्छ नहुन पनि सक्छ तर मेरो बुझाइ यहीँ हो। पार्टीभित्र यसमा साह्रै धेरै विवाद पनि छैन।

सभामुख पूर्वमाओवादीबाट हुने सम्भावना कत्तिको छ?

धुमधाम सम्भावना छ। पूर्वमाओवादीबाट पनि पर्नसक्छ। पूर्वएमालेबाट पनि पर्नसक्छ। एमाले र माओवादी भनेर सभामुख छान्ने होइन। प्रतिनिधिसभाको सभामुखमा कसलाई पठाउँदा ठीक हुन्छ होला भनेर दलले सोच्ने हो, संसदले सोच्ने हो।

सभामुखका लागि नेकपाभित्रको दौड तीव्र भइरहेको छ, त्यसमा तपाईं पनि हुनुहुन्छ?

मैले संचारमाध्यम पढ्ने र सुन्ने गर्छु। त्यसमा मलाई पनि दौडमा राखेर एक नम्बरको बनाइरहँदा म पनि दंग पर्छु। साच्चिकै भन्ने हो भने सभामुखबारे मसँग कसैको पनि कुरा भएको छैन। सभामुख भन्ने पद एकजना व्यक्तिको दाबी, चाहना भन्दा पनि दलले चयन गर्ने हो र संसदले चयन गर्ने हो भन्ने मेरो के निष्कर्ष छ। सभामुख हुनका लागि को ठीक छ भनेर दलले चयन गर्छ। त्यसैले मेरो व्यक्तिगत टिप्पणी छैन भन्ने गरेको छु।

अब म पनि तयार छु भन्ने बेला भएन र?
दलले निर्णय गर्छ। दलले सभामुखको लागि फलानोलाई उठाउने निर्णय गर्‍यौँ भनेर निष्कर्ष निकाल्छ। त्यो बेलामा म आफ्नो टिप्पणी बताउँछु।

सभामुखका लागि दलले गर्ने निर्णयमा सुवास नेम्वाङको दबदबा छ भन्ने छ?

त्यसो भन्नेहरूलाई धन्यवाद छ। तर मसँग कसैको छलफल भएको छैन। दलले उपयुक्त निर्णय गरोस् र उपयुक्त निर्णय गर्नेछ भन्नेमा म विश्वस्त छु।

४ पटक तपाईं सभामुख भइसक्नु भयो। सभामुखको पर्याय सुवास नेम्वाङ भयो भन्ने विमतीका स्वर नेकपाभित्रै गुञ्जिन थालेका छन् त?

चारपटक होइन। पछिल्लो रुपान्तरिक व्यवस्थापिका संसदको सुरुको एकमहिना जोड्ने हो भने पाँचपटक हो। जहाँसम्म विमतीको कुरा छ त्यस्तो कहिँ पनि छैन। मैले सुनेको छैन। त्यहीँ नै आधार होलाजस्तो छैन। किनभने हाम्रो पार्टीमा प्रमुख भएको मान्छे फेरि पनि प्रमुख हुने चाहना गरिराख्नुभएको छ। प्रधानमन्त्री भएको मान्छे फेरि पनि प्रधानमन्त्री हुने चाहना गरिराख्नुभएको छ। त्यसैले त्यो ठाउँमा यो प्रश्न उठ्यो होला भन्ने मलाई लाग्दैन। प्रश्न के हो त भन्दा सभामुख पदमा उपयुक्त मान्छेलाई पार्टीले पठाउनुपर्छ, पठाउँछ, पठाओस् भन्ने मेरो कामना हो।

त्यो उपयुक्त मान्छे सुवास नेम्वाङ नै हो?
अहिले प्रतिनिधिसभामा रहेका जति पनि सांसद छन्, ती सबै उपयुक्त छन्।

तीमध्ये…
तीमध्येमा पार्टीले उपयुक्त चयन गर्छ भन्ने कुरामा मलाई विश्वास छ।

सभामुख पद खाली भएपछि म इच्छुक छैन भन्नुभएको थियो, अहिले त्यो दौडमा त हुनुहुन्छ?

मैले सुरुमा नै ‘म पाँचपटक भइसकेको छु, त्यसैले यो पदमा अरु साथीहरू पनि सक्षम हुनुहुन्छ’ भनेको थिएँ। मेरो त्यो टिप्पणीपश्चात् प्रतिटिप्पणी आए। पार्टीका नेताहरू, प्रतिपक्षी दलका नेताहरूसँग पनि छलफल भए। सबैले यो दलको र संसदको कुरा हो व्यक्तिगत टिप्पणी गर्नुभन्दा दललाई नै छोड्नु राम्रो होला भन्ने सुझाव दिनुभयो। उहाँहरूले भन्नुभएको कुरामा मेरो चित्त बुझ्यो। त्यसैले अहिले मैले व्यक्तिगत टिप्पणी छैन भन्ने गरेको छु।

उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले आफूलाई बाहिरबाट पनि समर्थन भएकाले सभामुख आफैँ हुनुपर्छ भन्नुभएको छ। साथै आफूले नगरेको गल्तीको सजाय स्वीकार नहुने उहाँको भनाइ छ। यो दाबीलाई पार्टीले कसरी लिएको छ?

पार्टीमा औपचारिक अनौपचारिक छलफल भएको छैन। सभामुख यस्तो पद हो कि जसमा रहेको व्यक्तिले पारदर्शिता र जवाफदेहितालाई स्थापित गर्ने जनताको थलोलाई त्यहिँअनुरुप संचालन गर्नुपर्छ। संसदमा रहेका सबै राजनीतिक दलहरूलाई एक ठाउँमा उभ्याएर अगाडी बढ्ने काम गर्छ।

सत्तापक्षका काम, बिजनेसबाट हाउस (संसद) चल्छ। सत्तापक्षलाई यसरी साथमा लिँदा सहजता प्रदान गर्छ भने प्रतिपक्षले निरन्तर आवाज उठाइरहन्छ र उठाइरहनुपर्छ। प्रतिपक्षलाई त्यस कार्यका लागि सभामुख सहजता प्रदान गर्छ। छोटकरीमा भन्नुपर्दा सभामुखले एउटा महत्वपूर्ण जिम्मेवारी पूरा गर्छ। राष्ट्रपतिसँग उसले सम्बन्ध राख्छ। प्रधानमन्त्री र प्रतिपक्षका नेतासँग ऊ सदासर्वदता सम्पर्कमा हुन्छ। यो कुरालाई ध्यानमा राखेर दलले, दलहरूले संसदले सभामुखको चयन गर्छ।

जहाँसम्म उपसभामुखको कुरा छ यसका लागि उहाँ सक्षम नै लाग्छ। अरु साथीहरूको पनि पत्रपत्रिकामा दाबी सुन्छु। यी सन्दर्भमा म सकारात्मक नै छु। उहाँहरू कोही पनि कम हुनुहुन्न। यसमध्येबाट पनि दलले चयन गर्ला, उपयुक्त कुरा गर्ला भन्ने विश्वास छ।

उपसभामुख तुम्बाहाङ्फेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सभामुख बनाउन भूमिका खेलिरहेको भन्ने सार्वजनिक भयो। यो विषयमा राष्ट्रपतिको सक्रियता कत्तिको उपयुक्त हो?

राष्ट्रपतिलाई बेलाबेलामा यसरी चर्चामा तान्ने जुन कुरा छ यो बेठिक छ। राष्ट्रपतिले अन्तर्वार्ता, वक्तव्य दिएर हिँड्नुहुन्न। राष्ट्रपतिलाई संविधानले जुन जिम्मेवारी दिएको छ। त्यो जिम्मेवारी राम्ररी गरिराखेको अवस्थामा यो ढंगले प्रश्न उठाइदिँदा विनम्रतापूर्वक र कडाइका साथ राष्ट्रपतिलाई लिएर गरिएको टिप्पणी ठीक होइन भन्छु। राष्ट्रपतिलाई यस्तो विवादमा तान्नु हुन्न। राष्ट्रपति प्रधानमन्त्रीको सल्लाहमा काम गर्नुहुन्छ। हाम्रो संविधानले कल्पना गरेको त्यै हो। अहिलेको राष्ट्रपतिले त्यै गरिरहनुभएको छ भन्ने मेरो बुझाइ छ।

राष्ट्रिपति भण्डारीले नेकपाको आन्तरिक राजनीतिदेखि सरकारी नियुक्ति हुँदै सभामुखमा पनि भाग खोज्नुभएको सार्वजनिक भएकोलाई हावा नचली पात हल्लेको बुझ्ने?
पार्टीको र राजनीतिक नियुक्तिको हकमा त्यो फिटिक्कै होइन। यो सन्दर्भमा राष्ट्रपतिले त्यस्तो भूमिका खोज्नुभएको छैन। यस्ता विवादबाट राष्ट्रपतिलाई हामी सबैले माथि राख्नुपर्छ।

सभामुख र उपसभामुख एउटै पार्टीको नहुने संवैधानिक व्यवस्था छ। यस्तो अवस्थामा सभामुख नेकपाको हुने पक्का छ भने उपसभामुख नेपाली कांग्रेसलाई दिनुहुन्छ?

संविधानको व्यवस्थाअनुसार एउटा महिला र फरक पार्टीका व्यक्ति सभामुख र उपसभामुख हुनुपर्छ। हामी दृढतापूर्वक यसलाई व्यवहारमा उतार्न प्रतिबद्ध छौँ। उपसभामुखले राजीनामा नदिएको अवस्थामा सभामुखमा नेकपाले सभामुखमा दाबी गर्न सक्दैन। नेकपाले सभामुखमा दाबी गर्नका लागि उपसभामुख पद खाली गर्नुपर्ने हुन्छ। यस्तो अवस्थामा उपसभामुख आफैँ दाबी गरिराख्नुभएको छ। पार्टीले उहाँलाई नै बनाउन उपयुक्त ठान्यो भने उहाँले सभामुखमा जानका लागि पनि राजीनामा त त्यसै पनि गर्नुपर्छ। यसैले उपसभामुख पदबाट राजीनामा गर्ने अहिलेको आवश्यकता हो। उहाँको राजीनामा पछि पद खाली हुन्छ र ज्येष्ठ सदस्यले प्रतिनिधिसभाको अध्यक्षता गर्छ। उपसभामुखको राजीनामाको घोषणा गर्छ। दुवै पद खाली भएपछि संविधानको व्यवस्था बमोजिम महिला पुरुष दुईटा फरक दल मिल्लेगरी निर्वाचन हुन्छ।अब उपसभामुख कसलाई बनाउने भन्नेबारे दलहरूको बीचमा सल्लाह गर्न बाँकी छ। त्यसतर्फ दलहरू चाँडै अगाडी बढुन् भन्ने आग्रह छ।

तपाईं ‘म उम्मेदवार होइन’ पनि भन्नुहुन्छ र पहिलो नम्बरको उम्मेदवार पनि हुनुहुन्छ। तपाईं त ‘साइलेन्ट किलर’को रुपमा देखा पर्नुभएको छ?
मेरो स्वभाव नै यस्तै हो। यो स्वभाव जति आलोचना गरे पनि बदलिँदैन। पार्टीमा पनि यसबारे एकपटक छलफल भएको थियो। मैले भनेँ कि ‘यो त मेरो स्वभाव हो’। अहिले यो स्वभाव बदलेँ भने ‘यसलाई के भएछ?’ भन्ने प्रश्न उठ्न सक्छ।एउटा कुरा मेरो मनभित्रकै विश्वास पनि हो कि सभामुख पद भनेको अरुतिरको जस्तो पद होइन। यसको एकदमै फरक विशेषता छ। त्योअनुसार यो पदमा दलले, दलका नेताहरूले र सिंगो संसदले राम्रोसँग विचार गर्नुपर्छ।
कतिपय देशमा सभामुख पदमा काम गरेको र सभामुख पद राम्रोसँग जिम्मेवारी निर्वाह गर्‍यो भने त्यो सभामुखले फेरि निर्वाचन लड्दा अरु राजनीतिक दलहरूले ऊविरुद्ध उम्मेदवार नै उठाउँदैनन्। त्यो त्यति महत्वपूर्ण पद हो। त्यसैले यसमा दलहरूले विचार गरुन्। मैले वा अरु कसैले व्यक्तिगत रूपमा मेरो यो दाबी हो भनेर धेरै भनुन् भन्दा दलहरूले ध्यान पुर्‍याउन् है भन्ने आग्रह हो।

‘पाँचपटक सभामुख भइसकेँ अब पार्टी राजनीति वा योभन्दा ठूलो पदमा मात्रै जान्छु’ भन्ने घोषणा गर्दै ‘मलाई अब सिफारिस नगर्नुस्’ भन्न सक्नुहुन्न?
अहिले यो कुनै पनि कुरा मैले भनेको छैन। जहाँसम्म यतिसम्मको जिम्मेवारी पाएँ भने पूरा गर्न सक्छु भन्ने छ त्यो मानिसहरूले आफ्नो भनाइ राख्ने चलन पनि छ। म त्यो पनि भनिरहेको छैन। अहिले सभामुख पदमा उपयुक्त व्यक्तिलाई पठाउने जिम्मेवारी दलको, दलहरूको र संसदको हो। त्यसैतिर केन्द्रित रहेर हामी काम गरौँ भन्ने मेरो आग्रह हो।

मैले बारम्बार भन्ने गरेको छु यो व्यक्तिगत टिप्पणीको विषय होइन। यसलाई व्यक्तिगत टिप्पणीको विषय बनाउनु हुन्न। दलहरूले जिम्मेवारीपूर्वक एउटा निष्कर्षमा पुग्नुपर्छ। सकेदेखि त सबै दलका नेताहरू बसेर यो विषय (सभामुख चयन) मा अनौपचारिक छलफल गर्दा राम्रो हुन्छ। हामी संक्रमणकै अवस्थामा छौँ। संविधान बनाएका छौँ। यसलाई कार्यान्वयन गर्ने सिलसिलाको महत्वपूर्ण चरणमा उभिएका छौँ। त्यसैले यसतर्फ गम्भीरतापूर्वक सोच्नुपर्छ।समसामयिक लागेर इकान्तिपुरबाट साभार गरेको हौ

प्रतिक्रिया दिनुहोस्