Monday 24th of February 2020

अमेरिका आएको तीन बर्ष बाथरुममा बसेर एक्लै रुन्थे-रामप्रसाद खनाल


तिम्ले भन्थ्यौ नजाउ है विदेशमा

केही काम गरि बस न स्वदेशमा

छाता ओझेल पारिदेउ बर्खे झरिमा

भो भो मलाई चाहिदैन सम्पत्ति

तिम्रै माया ठुलो छ संसारभरिमा ।।

कुनै समय राम प्रसाद खनालले गायिका विमाकुमारी दुरासंग आफैले गाएको यो चर्चित गीतजस्तै भयो उनको जीवन पनि । आफैले गाएको गीत जस्तै आखिर लोक तथा दोहोरी गायक रामप्रसाद खनाल पनि बाध्यताले विदेशिए । याे गीत झै परदेशि हौला भनेर उनले कहिल्यै सोचेनन । आखिर उनलाई परदेशी बनाईछाड्यो । गीतमा जस्तै सम्पत्ति चाहिएर उनी अमेरिका भासिएका थिएनन । नत दलालको फन्दामा नै परेर आए ।

अमेरिका आइजाई त उनका लागी पानी पधेरो जस्तै थियो । १३ औं पटक त सागीतिक कार्यक्रम र पत्रकारिता सम्बन्धी कार्यक्रम का सिलसिलामा अमेरिका आइसकेका थिए खनाल । यतिका पटक अमेरिका आउदा पनि चर्चित लोक तथा दोहोरी गायक र पत्रकार रामप्रसाद खनाललाई अमेरिकामै बसौँ भन्ने फिटिक्कै लागेन । नेपालमै उनको नाम र दाम छँदै थियो । तर परिस्थिति सधै एकनास पनि नहुने रहेछ । २०६४ भदौ २२ गते उनी तत्कालिन माओवादी विद्रोहीको अपहरणमा परे । त्यो बेला शान्ती सम्झौता भएर काङ्रेस, एमाले, माओवादी सहित सबै को मिलिजुली सरकार थियो । भन्नका लागि माओवादी शान्ती सम्झौतामा आएका थिए तर सरकारमा बसेरै उनिहरुले चन्दा आतंक, अपहरण, धाक धम्की लगायतका काम गरिरहेकै थिए भन्ने कुराको पुस्टि खनालको अपहरण बाट थप पुस्टि हुन्छ ।

आफ्नो तराइ घर बुटवलबाट आफ्नी आमा र परिवारजन भेटेर काठमाण्डौ जानका लागी बुटबलबाट भैरहवा विमानस्थल जादै थिए उनी । विमानस्थल नपुग्दै माओवादी जत्थाले उनलाई बीचबाटो बाटै घेरा हाली अपरहण गरे । ‘घेरा हालेर आँखामा पट्टी र हात बाँधेर अपहरण गरे’ बिगतको कथा सुनाउदै उनले भने–‘ अपराधीहरुले मलाई मार्ने प्रयास गरेका थिए, तर म निर्दोश भएकाले मार्न भने सकेनन । मेरो अपहरण पछी पत्रकारिता, कलाकारिता, मानबाधिकार लगायतका सबै क्षेत्रबाट आवाज उठे पछि मलाई बिना शर्त रिहाइ गर्न वाध्य भएको थियो । मलाई अपहरण गरेर मार्न प्रचन्ड र बाबुराम भट्टराईकै निर्देशन छ भन्दै थिए मलाई अपहरण गर्ने ति अपराधी ग्याङ्ग वाइसियलका लठैतहरु’

तीन दिन तीन रात अपहरण गरेर उनलाई अनकन्टार ठाउँमा बेपत्ता पारी राखिएको थियो । आफु कहाँ थिए भन्ने समेत भेउ पाएनन् उनले । माओवादीको बिरोध गरेको, बोलेको, पत्रकारको रुपमा माओवादी बिरुद्ध लेखेको, राजाको पक्षमा वकालत गरेको भन्दै माओवादीले त्यतिबेला उनलाई अपहरण गरेका थिए । राजाले देश बर्बाद भयो, दिनदिनै मारकाट छ, भ्रस्टाचार र बेथितिले सिमा नाघ्यो, मैले दुई वर्ष भित्रै भ्रष्टाचारको अन्त्य, सुशासन कायम गरेर प्रजातन्त्र लाई सहि मार्ग मा ल्याउने निधो गरें तपाईंको सहयोग चहियो भन्दै प्रतिवद्धता व्यक्त गरेपछि खनालले राजाको उक्त कदमको समर्थन गरेका थिए ।

देशमा द्वन्दको चपेटाले सबै जनता आर्जित भएको अवस्था थियो । ‘ म राजनीति छाडेर स्वतन्त्र भएर बसेको थिएँ, त्यो बेला मैले मात्र होइन सबैले राजाको कदम ठीक छ भनेका थिए । नेताहरु राजा सँग आफु प्रधानमन्त्री मन्त्री बन्न, मनोनित हुन बिन्तिपत्र हालिरहेका थिए, बिन्ती पत्र हाल्ने माधव नेपालजी, राजाको प्रधानमन्त्री बन्ने शेर बहादुरजी लगायतका नेताहरु प्रजातन्त्रबादी तर म बबुरोलाई राजाबादीको ट्याग भिराउने मान्छे देख्दा ताजुब लाग्छ ’ उनले भने –‘मलाई राजाको सल्लाहकार सम्म भन्दै माओवादीले अपहरण गरे ।’ म कहाको सल्लाहकार हुनु । झण्डै ज्यान लिइसकेका उनिहरुले पछि केही गल्ती नदेखेपछि अपहरणमुक्त गरेका थिए ।

उनले माओवादीको ज्यादति विरुद्ध सधैं पत्रकारका रुपमा कलम समेत चलाएका थिए । आपहरण भए पछि जब मुक्त भए ६ महिना सम्म उनिहरुको गतिविधी नियाले नेपालमै बसेर उनले । मानसिक यातना, ज्यान मार्ने धम्की, चन्दा माग्ने लगायतका माओवादी ज्यादतिमा सुधार आएन । धेरै सोचे उनले । अनी १३ औ पटक अमेरिका आएका उनले २०६४ सालमा चौधौ पटकमा भने अमेरिका बस्ने निर्णय गरे । एक्स्ट्रा अर्डिनरी एबिलिटी अर्थात अमेरिकाले अन्तरराष्ट्रिय स्तरका प्रतिभावान मान्छेहरुलाई दिने क्याटेगोरी अन्तर्गत ग्रीनकार्डका लागि निबेदन फाइल गरे र त्यो उच्च प्रकारअको ग्रीनकार्ड लिएर बाध्यताबस अमेरिका बसे । नेपालमै रम्ने ज्यान यसरी बाध्यताले विदेशी भुमीमा रुमल्लिन पुग्यो उनको ।

यतिका वर्ष सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिका ओहोरदोहोर गरेका उनलाई अमेरिका बस्ने मोह फिटिक्कै पलाएको थिएन । तर जब उनी अपहरणमा परे र विद्रोहीको ज्यादति मुलुकमा बढदै गयो । मानसिक यातना पनि त्यतिकै खेपे उनले । अनि उनले मुटु माथि ढुंगा राखी विदेशीने निर्णय गरे । ‘यसरी परदेशिने कुनै योजना थिएन’ उनले भने– ‘परिस्थितिले नचाहँदा– नचाहदै पनि यसरी मुग्लानी बनाइयो छाड्यो ।’उनले धेरै गीतमा विदेशमा हैन स्वदेशमा रमाउनुपर्छ भनेर धेरै गीत गाए । तर परिस्थतिले उनलाई नै परदेशी बनाइदियो ।

हाल अमेरिकाको वाशिङ्टन डिसी नजिकै भर्जिनियामा बस्दै आएका खनाल गायक, कलाकार, पत्रकार , संगीतकार, साहित्यकार, टिभी कार्यक्रम प्रस्तोता, निर्देशक र निर्माता देखि धेरै प्रतिभा भएका बहुआयमिक व्यक्तित्वको रुपमा चिनिन्छन् । उनी फेसबुक, ट्विटर, युट्युबमा पनि लाखौंले पछ्याउने सेलिब्रेटी मध्ये पर्दछन । उनी विकीपेडिया देखी बिभिन्न सामाजिक सन्जालमा ब्याप्त छन । उनको निजी बेभसाइट www.RamPrasadKhanal.com मा वा गूगल मा खोज्नुभयो मात्र भने पनि उनको नालिबेली सब भेटिन्छ । सामाजिक सन्जालहरुमा खनाल लोकप्रिय नेपाली सेलिब्रेटी मध्ये अग्रपङ्तिमा पर्दछन ।

लोकगायन देखि पत्रकारिता जीवनसम्म

गुल्मीको धरम्पानी मैनडाँडा हो उनको थात थलो । सामान्य ग्रामीण परिवारमा उनी जन्मे हुर्के । सानै देखि गाउँको वनपाखामा सुसेली हाल्दै गीत गाउँए खनालको सानैदेखि नै गीत संगीतमा लगाव थियो । गुल्मीको माटोले उनलाई गीत संगीतमा हुत्तायो । एस एल सी पछि अध्ययनका लागी उनी गुल्मी छाडेर बुटवल झरे । बुटवल बहुमुखी क्याम्पस पढ्दै उनी पत्रकारिता पनि सुरु गरे । २०४२ सालमा उनले रेडियो नेपालबाट स्वरपरिक्षा पास गरे । घ श्रेणीमा स्वर परीक्षा पास गरेका उनी अहिले ग, ख, क श्रेणी हुँदै रेडियो नेपालका विशिष्ट श्रेणीका गायक हुन ।

रेडियो नेपालमा उनको पहिलो रेकर्डेट गीत थियो–‘तिमीलाई नै सम्झेर ।’ रेडियो नेपालमा रेकर्ड भएको यो गीत आधुनिक थियो । विशेष त उनलाई अन्य गीत भन्दा पनि लोकगीत र दोहोरी गीतले सबैभन्दा बेसी चिनायो ।

लोक तथा दोहोरी गायकको रुपमा उनको पहिचान बन्यो । छाता ओझेल पारिदेउ वर्खे झरीमा, देउरालीमा पिपल छायाले, गुल्मी झरेर, मेरै माया , बेशी झरेर लगायत का कयौँ गीत हरु उनका सुपरहिट गीतहरु छन । छाता ओझेल पारीदेउ यो गीत उनको सर्वाधिक चर्चित बन्यो । यही गीतले उनलाई लोकगायनको क्षेत्रमा पहिचान पनि दियो । विमाकुमारी दुरा संग उनले गाएको यो गीतले त्यतिबेला क्यासेट विक्रीमा पनि रकेर्ड तोडेको थियो । २०५४ सालतिर रेकर्ड भएको यो गीत लोकपारखीहरुको रोजाइ बन्यो । धेरै मेला महोत्सवहरुमा गुन्जियो । त्यस्तै उनको देउरालीमा पिपल छायाले बोलेको गीतले पनि धेरै क्यासेट विक्रीको रेकर्ड तोडेको थियो ।

उनले आधुनिक, राष्ट्रभक्ति, भजन, तीज, देउँसी भैलो लगायत सबै खाले गीत गाएका छन खनालले । तर पहिचान भने लोकगीत र दोहोरी गीतले दियो उनलाई । उनका सबै गरेर १२ सय भन्दा बढी गीत रेकर्ड र प्रसारित छन् भने ४८ वटा सिडी र भिसिडी एल्बम बजारमा आइसकेका छन् । १७ वटा बिभिन्न विधाका पुस्तक प्रकाशित छन् खनालका । त्यस्तै १५ सय भन्दा बढी गजल कविता विभिन्न पुस्तक पत्र पत्रिकामा प्रकाशित छन् ।

अमेरिका आएपछि पनि उनले आधा दर्जन भन्दा बढी गीतका एल्बम निकाले । तिनमा लोक तथा दोहोरी, भजन, देशभक्ति, तीज गीत तथा देउसीभैलो सबै छन् ।

लोकगायनमा उनलाई अझ बढी चिनायो नेपाल टेलिभिजनमा प्रसारित हुने लाइभ लोक दोहोरी कार्यक्रमले । यही कार्यक्रममा नेपालमा दोहोरी प्रतिस्पर्धा हुने क्रममलाई मलजल गर्‍यो । दोहोरी गीतको क्रेजलाई हवात्तै बढाउने काम गर्‍यो । टेलिभिजनमा दोहोरीको सुरुवात गर्ने श्रेय रामप्रसाद खनाललाई नै जान्छ । उनले चलाउनु भन्दा अघि टिभीमा कुनै दोहोरी कार्यक्रम भन्ने नै थिएन । झण्डै सात वर्ष नेपाल टेलिभिजनमा उनले दोहोरी लाइभ चलाए । पशुपती शर्मा, राजु परियार, शर्मिला गुरुङ्ग, शिला आले, बिमल छेत्री, चन्द्र शर्मा, कृष्ण कंडेल देखी अहिले राष्ट्रिय स्तरका भनेर चिनिएका लगभग सबै जसो लोक दोहोरी गायक गायिकाहरु राम प्रसाद खनालले नेपाल टेलिभिजनमा दिएको प्लेट फर्म बाटै उदाएका थिए । त्यस बाहेक मेला महोत्सब प्रदर्शनिहरुमा लोक दोहोरिलाई प्रबेश गराउने श्रेय पनि राम प्रसाद खनाल लाई नै जान्छ । त्यसैले खनाल लाई सबै जसो लोक दोहोरी गायक गायिकाले गुरु, पथ पर्दर्शक र गद फादर पनि भनेर अती आदर र सम्मान प्रकट गर्दछन ।

किशाेर अवस्थामा
नेपाल टेलिभिजनमा सर्वाधिक हेरिने लोकप्रिय कार्यक्रम पनि बन्यो त्यो बेला खनालको लोक दोहोरी । दर्शक सर्भेक्षणमा यो कार्यक्रममा सात वर्ष सम्म उत्कृष्ट कार्यक्रमको रुपमा गणना भइरह्यो । सत्ता परिवर्तन, माओवादी ज्यादति पछि अमेरिका आउने भएपछि २०६४ मै उनले राजीनामा दिए नेपाल टेलिभिजन बाट । यो कार्यक्रमको संचालक, निर्माता र निर्देशक सबै आफै थिए खनाल । व्यवस्थापन पनि आफैले हेरे । नेपाल टेलिभिजनमा दस वर्ष काम गर्ने क्रममा उनले दोहोरी कार्यक्रमका अलवा बिद्युत र राजनितिक घटना क्रमको समसामयिक कार्यक्रम नेपालको सेरोफेरो पनि चलाए । उनी नेपाल टेलिभिजनकै संचालक समितिको एक जना संचालक बनेर पनि काम गरे सरकारले नियुक्ती दिए पछि ।

लोक दोहोरी गायन र दोहोरी कार्यक्रम संगै उनले छापा पत्रकारितालाई पनि लामो समय अगाडी बढाए । बुटवलबाट जनसंघर्ष दैनिक, भैरहवा बाट सन्देशा दैनिक हुदै नेपाल वाणी, नेपालीपत्र, राष्ट्रबाणी, लोकपत्र, जनआवाज, नेपाल टाइम्स, गोरखा एक्सप्रेस, ललकार, सत्य, लगायतका कैयौं दैनिक, साप्ताहिकमा सम्बाददाता देखी सम्पादक सम्म बनेर पत्रकारिता गरेका खनालले झण्डै १७ बर्ष पहिला बुटवलबाट र पछि काठमाडौं बाट निष्पक्ष राष्ट्रिय साप्ताहिक आफ्नै सम्पादन र प्रकाशनमा चलाए । अमेरिका आए पछि पनि उनले उनकै संम्पादन र प्रकाशनमा नेपाल मदर डटकम डिजिटल पत्रिका संचालन गर्दै आएका छन । फ्रिलेन्सर / पत्रकारका रुपमा बिबिसीमा पनि काम गरेका खनाल रेडियो नेपालको पनि कार्यक्रम निर्माता, निर्देशक र संचालक भएर काम गरे ।

बुटबलमा बसेर पत्रकारिता र गीतंगीतलाई अगाडी बढाउने क्रममा अझै केही गर्ने अभिलाषा बोकेर उनी २०५१ सालमा राजधानीको भीडमा हराए । मोफसलमा बसेको ठिटोलाई काठमान्डौको त्यो भीडमा टिक्न सुरुमा सजिलो भएन । संघर्ष धेरै गर्नु पर्‍यो उनले । आफ्नै मेहनत र परीश्रमले पत्रकारिता संगै रेडियो नेपाल र नेपाल टेलिभिजनमा पनि चम्किएका थिए खनाल । लोक दोहोरी लाइभ कार्यक्रमले गाउँ देखी सहर सम्म सर्वसाधारणले उनलाई चिन्ने मौका पाए । रामप्रसाल खनालको पहिचान दोहोरी गीत र नेपाल टेलिभिजनमा आउने लाइभ दोहोरीले उचाईमा पुर्याइदिएको थियो । पत्रकारितामा पनि उनको पहिचान बन्यो ।

अमेरिका आएपछिको दिन

तत्कालिन माओवादीले अपहरण र यातना दिएपछि लामो समय उनी मानसिक तनावमा रहे । ज्यानको माया मारिसकेका उनी बल्लतल्ल विद्रोही माओवादीको पञ्जाबाट निर्दोस साबित भएर छुटे । देशमा राम्रै पहिचान हुँदाहुदै पनि उनी बाध्य भई २०६४ सालमा अमेरिकाको भर्जिनिया आए । नेपालमा हाइहाई भएर बसेका उनको अमेरिकाको सुरुवाती दिन निकै कष्टपुर्ण बन्यो । कहिल्यै काम नगरेका उनी सुरुमा ग्यास स्टेशन बाटै काम थाले । दिनरात नभनी घण्टा हान्नमा व्यस्त भए । जिन्दगी भनेकै उतार चढाबको फेहरिस्त हो भन्ने खनाल ग्यास स्टेशन हुँदै वाल मार्तको म्यानेजर बनेर पनि काम गरे । उनले वालमार्टमा दुई वर्ष ६ महिना काम गरे । काम गर्दाको अनुभवले उनलाई व्यवसायमा हात हाल्न सहज भयो । उनले काम सिकेर व्यवसायमा हात हाले र बिजनेशमेन बने ।

अहिले उनी तीन वटा सेवेन इलेभेन स्टोरको मालिक भइसकेका छन् । त्यस्तै रियलस्टेट व्यवसायमा पनि उनी लागेका छन् । अहिले उनको व्यवसायमा करिब ३५ जना कर्मचारी कार्यरत छन् । यहाँ सम्म आइपुग्न उनले धेरै पसिना बगाएका छन् र बल्ल बिजनेशमेन बनेका छन ।

नेपालमा हाइ– हाइ भएर बसेको मान्छे सुरुमा स्टोरमा घन्टा हान्नुपर्दाको पीडा अहिले उनले भुलेका छैनन । अमेरिका आएको तीन वर्ष सम्म त उनी पीडाले वाथरुम पसेर एक्लै रुन्थे । चिन्ता र पीडाले रनथनिए सुरुमा । फर्केर नेपाल नै जाउँ नभएको हैन उनलाई । तर उनले तत्कालिन विद्रोही माओवादीको ज्यादति बिर्सेका थिएनन । उनी भन्छन्– ‘पहिला जस्तो थियो अहिले पनि माओवादीको ज्यादति उस्तै छ । पहिला बाहिर देखिन्थ्यो अहिले भित्र लुकेर गरिरहेका छन् । त्यस्तो अवस्थामा नेपाल फर्केर के गर्नु भन्दै दिन हेर्दा हेर्दै गर्दा खनाल का १२ बर्ष बितिसकेका छन अमेरिकामा ।

अमेरिका आएर पनि गीत संगीत लाई उनले निरन्तरता दिइरहेका छन् । व्यवसायमा राम्रै सफलता पाएपछि बिगतको पीडा दर्द सबै बिर्सिए पनि माओवादी ज्यादति बिर्सेंका छैनन र भन्छन बिर्सिने पनि छैन । छोराछोरीलाई राम्रो पढाएका छन् । छोरा ज्ञानन इन्जिनियर भइसकेका छन् भने छोरी सुष्मा किल्निकल साइकोलोजी पढ्दै छिन् ।

अमेरिकाको व्यस्त जीवनशैलीमा पनि उनी अहिले गीत संगीत, कलाकारिता, पत्रकारिता तथा विभिन्न साहित्यिक र सामाजिक गतिविधीमा पनि उतिकै सक्रिय छन् । उनी कलाकारहरुको साझा संस्था अन्तराष्ट्रिय कलाकार मञ्चको संस्थापक र वर्तमान अध्यक्ष पनि हुन । त्यस्तै अन्तरराष्ट्रिय नेपाली साहित्य समाज वाशिङटन डिसी अमेरिका क्षेत्रको दुई कार्यकाल अध्यक्ष भएर काम गरे । त्यस्तै इन्टरनेशनल मिडिया तथा इन्टरटेनमेण्ट हाउस, नेशनल फेडरेसन अफ इन्डिपेन्डेन्ट बिजनेस, एनआरएन अमेरिका लगायत दर्जनौँ संघसंस्थामा आवद्ध छन् ।

अमेरिकाबाट म्यान अफ द इयर अन्तरराष्ट्रिय पुरस्कार, नेपाल बाट गोरखा दक्षिण बाहु, त्रिशक्ती पट्ट जस्ता राष्ट्रिय पुरस्कार पाइसकेका अग्रज कलाकार, पत्रकार, साहित्यकार खनालले हाल सम्म चार सय जती अन्य जिल्ला, क्षेत्र, अञ्चल हुंदै राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरका पुरस्कार, सम्मान, अभिनन्दन पाइसक्नुभएको छ ।

अझै पनि उनलाई विदेशमै बसीरहु जस्तो फिटिक्कै लागेको छैन । उनी यही भएर नेपाल र अमेरिका ओहोदोहोर गरिरहेका छन् । उनी तीन वर्ष देखि नेपालमा लगानी गर्ने वातावरण हेरिरहेका छन् । तर उनले लगानी गर्ने वातवारण अझै पाएका छैनन । तर अब लामो समय अमेरिका बस्ने सोचमा उनी छैनन । ‘नेपाल फर्किने आतुर मध्येको एक म पनि हुँ खनालले भने– ‘यसैकालागी नेपालमा लगानी गर्ने वातावरण पर्खेर बसेको छु ।’

प्रतिक्रिया दिनुहोस्