Monday 20th of January 2020

ब्रिजवाटर कपको उपाधि सैनिकको पोल्टामा

भक्तपुर । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले देशभरका प्रत्येक स्थानीय तहमा एकएक वटा खेलग्राम निर्माण गर्ने बताउनु भएको छ । ब्रिजवाटर इन्टरनेसनल कलेजले मध्यपुर थिमि नगरपालिका २ सानोठिमीस्थित मध्यपुर युथ एसोसियसनको खेल मैदानमा गत २८ गतेदेखि आयोजना गरेको उपत्यकाव्यापी प्लस टु ब्रिजवाटर कप फुटबल प्रतियोगिताको आज फाइनल खेल पछि विजेता उपविजेतालाई पुरस्कार तथा प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

उहाँले भन्नुभयो,‘सरकबार तल्लो तहबाटै खेलकुद तथा खेलाडीहरुको विकास गर्नुपर्छ भनेर लागिरहेको छ, देशका ७५३ वटै तहमा अब एकएक खेलग्राम निर्माण गर्ने अवधारणाअनुसार मन्त्रालयले काम थालेको छ,’मन्त्री विश्वकर्माले भन्नुभयो,‘देशका सातै प्रदेशमा एकएक वटा सुविधा सम्पन्न रंगशालासमेत निर्माण गर्दैछौ, भक्तपुरमा पनि सुविधासम्पन्न रंगशाला निर्माणको प्रक्रिया अगाडि बढाएका छौ ।’

सरकारले खेलकुदलाई उच्च प्राथमिकतामा राखेर काम गर्दै आएको बताउदै उहाँले अब खेलाडीले खेलकुदमा लागेर निराश हुनुपर्ने अवस्था नआउने दाबी गर्नुभयो । १३ औ सागले खेलकुदमार्फत देशको गौरव बढाउन सकिन्छ भन्ने भनाई पुष्टि भएको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले १४ औं दक्षिण एसियाली खेलकुद (साग) मा ७५ वटा स्वर्ण पदक जित्ने लक्ष्यसहित अहिलेदेखि नै काम भइरहेको बताउनुभयो ।

उच्च माध्यमिक विद्यालय संगठन (हिसान) का अध्यक्षसमेत रहनु भएका सिलवालले भन्नुभयो–“योजनाबद्ध तयारी, कडा प्रशिक्षण र खेलाडीको मेहनतको परिणाम १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा ५१ वटा स्वर्ण जित्न सफिल भयौ, अब २०२० मा बंगलादेशमा हुने १४ औं सागमा ७५ वटा स्वर्ण पदक जित्ने लक्ष्यसहित काम सुरु गरेका छौ ।”

एसईई परीक्षा दिएर बसेका १८ वर्षमुनिका खेलाडीको देशभरबाट छनौट गरि १६८ जना खेलाडीलाई लिग गर्ने बताउदै उहाँले उनीहरुलाई देशका १५ कलेजमा पूर्ण छात्रवृत्तिको व्यवस्था गरि शुक्रबार र शनिबार प्रशिक्षणको व्यवस्था गर्दै लिग प्रतियोगिता गरिने बताउनुभयो ।
कार्यक्रममा एन्फाका अध्यक्ष कर्मा्छिरिङ शेर्पाले हिसानसँग मिलेर कलेज पढ्ने खेलाडीको लिग गर्न एन्फा तयार रहेको बताउनुभयो ।

त्यसअवसरमा मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, मध्यपुर युथ एशोसियनका अध्यक्ष एवं एन्फा उपाध्यक्ष उपेन्द्रमान सिंहले मध्यपुरथिमिले पनि राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्नेगरि कार्यक्रम अगाडि बढाएको बताउनुभयो ।

उपाधी चुम्ने सैनिकलाई एकलाख नगद सहितको पुरस्कार प्रदान

कार्यक्रममा एक लाख रुपैयाँ नगद पुरस्कार सहित उपत्यकाव्यापी प्लस टु ब्रिजवाटर कप फुटबल प्रतियोगिताको उपाधि भक्तपुरको सैनिक आवासीय महाविद्यालयले हात पारेको छ । आज भएको फाइनल खेलमा साइपाल एकेडेमीलाई ३–० गोलले हराउँदै सैनिकले उपाधि हात पारेको हो ।

काठमाडौं उपत्यकाका ३२ वटा स्कुल तथा कलेजहरुको सहभागिता रहेको प्रतियोगितामा ५० हजार रुपैयाँ नगद पुरस्कार सहित साइपाल एकेडेमी उपविजेता भएको छ । फाइनल खेलमा च्याम्पियन बनेको सैनिकको जीतको लागि बिश्रान्त बस्नेतले दुई गोल गरेका थिए भने कप्तान पुकार भण्डारीले अर्को गोल गरेका थिए ।

प्रतियोगिताको फाइनल खेलको ’म्यान अफ दी म्याच’ घोषित विश्रान्त समग्र उत्कृष्ट डिफेन्डरको समेत उपाधी हात पारे भने प्रतियोगिताभरी एउटा पनि गोल नखाएको सैनिककै गोलरक्षक आशिष बस्नेतले उत्कृष्ट गोलकिपरको उपाधि हात पारे । सैनिककै कमल गुरुङ उत्कृष्ट मिड फिल्डर र बाबुकाजी धौबञ्जार उत्कृष्ट कोचको उपाधी पाए ।

प्रतियोगिताको उपविजेता साइपालका सञ्जीव लामा सर्वोत्कृष्ट खेलाडी घोषि भएभने आयोजक ब्रिजवाटरका प्रजन राई उत्कृष्ट स्ट्राइकर घोषित भए । त्यस्तै कौशल्टारको आदर्श जनप्रेमी स्कुलले अनुशासित टीमको पुरस्कार हात पार्यो ।

प्रतियोगिताका विजेता तथा उपविजेता टीमसँगै उत्कृष्ट खेलाडीलाई आज युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवाल, अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले नगद पुरस्कार सहित शिल्ड, प्रमाणपत्र प्रदान गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्