Monday 20th of January 2020

मिसाइल आक्रमणलाई अमेरिकाको गालामा थप्पड: इरान

काठमाडौँ । बुधबार इराकमा रहेका अमेरिकी सेनाका अखडामा गरिएको दर्जनभन्दा बढी मिसाइल आक्रमणलाई इरानले अमेरिकाको मुखमा हानेकाे थप्पड भनेको छ । इरानका सर्वोच्च नेता आयातोल्लाह अल खामेनेइले टेलिभिजन संवोधनमा यो मिसाइल आक्रमणलाई अमेरिकाको गालामा थप्पड लगाएको भनेका छन् ।

उनले मध्यपूर्वमा अमेरिकाको उपस्थिति अनिच्छित र अवान्छित भन्दै अमेरिकालाई लखेट्ने बताएका छन्। उनले बुधाबारका जस्ता सैन्य हमलामात्रै यसका लागि पर्याप्त नहुने पनि बताए। इरानी सेनाका जनरल कासिम सुलेमानीलाई इराकको बगदाद विमानस्थलमा अमेरिकाले ड्रोन आक्रमणमा हत्या गरेपछि यस क्षेत्रमा दुई देशबीच तनाव बढेको हो।

यसैबीच, युरोपियन युनियनले वार्ताद्वारा समस्याको समाधान खोज्न अमेरिका र इरानलाई आग्रह गरेको छ। युरोपियन कमिसनकी अध्यक्ष उर्सुला वोन देर लेइनले बुधबार बेल्जियमको ब्रसेल्सलमा भनिन्, ‘वार्ताबाट समाधान खोज्नका लागि हतियारको प्रयोग तुरुन्त रोक्नु आवश्यक छ।’

प्रतिक्रिया दिनुहोस्