Sunday 23rd of February 2020

बच्चासहित दम्पतीले त्रिशूलीमा हाम फाले, श्रीमतीको मृत्यु

धादिङ । धादिङमा एक दम्पतीले दुई बच्चासहित झलुंगे पुलबाट त्रिशूलीमा हाम फालेका छन् । बेनीघाटको बाँदरेस्थित झलुंगे पुलबाट हाम फाल्दा श्रीमतीको मृत्यु भएको र दुई बच्चा बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए । श्रीमानको भने उद्धार गरिएको छ ।

प्रहरीका अनुसार चन्द्रागिरी नगरपालिका-५ थानकोट घरभइ गजुरीस्थित आदमघाट ससुराली आएका अन्दाजी ३५ वर्षीय विनय लामिछाने र उनकी श्रीमती जमुनाले त्रिशुलीमा हाम फालेका हुन्।

उनीहरुले आफ्ना २ वर्षीय र ६ महिने छोरासहित बिहीबार साँझ साढे ६ बजे धादिङ र गोरखाको घ्याल्चोक जोडने पुलबाट हाम्फालेको प्रहरीले बताएको छ।

त्रिशुलीको जलयात्रा गर्ने टोलीसँगको रेस्क्यु टोलीले तत्काल विनयको उद्धार गरेको उपरीक्षक रेग्मीले बताए। जमुनाको शव नजिकै फेला परेको र दुई बालकहरुको खोजी भइरहेको उनले बताए। ‘अँध्यारो भइसकेकाले खोजतलास गर्न कठिनाई भएको छ। भोलि बिहानै हामी फेरि खोजी टोली पठाउँछौं, ‘ रेग्मीले भने।

प्रतिक्रिया दिनुहोस्