Sunday 23rd of February 2020

नौ जना भारतीय प्रहरी बर्दीमै नेपाल छिरेपछि…

काठमाडौं । बुधबार कैलालीको चिसापानीमा प्रहरीले केही भारतीय प्रहरीहरूलाई नेपाल प्रहरीले नियन्त्रणमा लियो। चालकसहित नौ जना भारतीय प्रहरी बर्दीमै चुरेको फेदीमा रहेको चिसापानी बजार पुगेको थाहा पाएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीसँग उनीहरूले आफूहरू भारतको बहराइच जिल्लामा मन्त्री सहभागी हुने कार्यक्रमका खटिएको बताएका थिए।

मन्त्री सवारी हुन पर्ने कार्यक्रम रद्द भएपछि उनीहरू घुम्ने भन्दै नेपाल प्रवेश गरेका थिए।

युपी ३२ डिजेट ४३५४ नम्बरको भारतीय गाडीमा रुपडिया नाका हुँदै नेपाल छिरेका उनीहरू कर्णाली पुल हेर्ने भन्दै बाँके, बर्दिया पार गरेर कैलाली पुगेका थिए।

भारतीय प्रहरी बर्दीमै आएको थाहा पाएपछि चिसापानी इलाका प्रहरी कार्यालयको टोलीले खटेको थियो।

केही सर्वसाधारणले पनि बर्दीमै आएका भारतीय प्रहरी किन आए भनेर हेरिरहेका थिए।

तीमध्ये चिरञ्जिवी छेडलले भारतीय प्रहरीका गतिविधि फेसबुकमा लाइभ गरेका थिए। अहिले उक्त भिडिओ चर्चित छ।

‘रुपैडिया नाका हुँदै दर्जनौं प्रहरी बाँके, बर्दिया हुँदै कैलाली पुग्दा बर्दिया निकुन्जमा ४ ठाउँमा चेक पोष्ट राखेर नेपाली सेना के गरिरहेको थियो,’ छेडलले उक्त भिडिओमा लेखेका छन्।

‘उनीहरूलाई भिजिट नेपाल २०२०को बारे थाहा थियो क्यारे। अनि कर्णाली पुलनजिकै होला भनेर छिरेका रहेछन्,’ जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी दक्षकुमार बस्नेतले भने,‘सोधपुछ गरेर हिजो नै फिर्ता पठाइसकिएको छ।’

कर्णाली पुल नेपालगन्जबाट करिब ९६ किलोमिटर टाढा छ। त्यहाँ पुग्न बर्दिया राष्ट्रिय निकुञ्जमा ४ ठाउँमा नेपाली सेनाले टाइम कार्ड दिन्छ।

डिएसपी बस्नेतका अनुसार उनीहरूले आफ्ना हतियारहरु नाकामा छाडेर आएको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्